माओ भन्ने मान्छेले ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ किन चलायो होला ?

माओ भन्ने मान्छेले ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ किन चलायो होला ?

काठमाडौं । आज कोजाग्रत पूर्णिमा । दसैंको अन्तिम दिन । दसैं सकियो, चर्चा चुलिंदो छ । महामहिम राष्ट्रपतिको हातबाट टीका ग्रहण गरिएको असामान्य दृष्यले नेपाली जनताको ध्यान निकै आकर्षित गरेको छ ।

राजा ज्ञानेन्द्रका ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारी । पहिले महाराजाधिराज, अहिले महामहिम ! उपसर्गका रुपमा रहेको ‘महा’ शायद साझा परेर पनि हुनसक्छ, धेरैले घोप्टिएरै टीका थापे । घुँडा टेकेरै आशिष मागे । यसले नेपोलियन बोनापार्टको ताजा स्मरण गराएको छ । राजतन्त्र विरुद्धको लडाइँमा जीवन अर्पेका बोनापार्ट आफैले पछि आफूलाई सम्राट घोषणा गरेका थिए । आफूले आफैलाई राजा बनाएका थिए ।

एउटा कथा पनि छ नेपाली समाजमा । स्थानीय भूरेटाकुरे राजाका विरुद्धमा एकजना जनताको छोरोले सारा गाउँ उठाएर विद्रोह गरेर राजालाई काटेछ । तर काटिएको राजा भूइँमा छटपटाउँदै गर्दा त्यो विद्रोही ‘नायक’ श्रीपेच लगाई काटिएको राजाको सिंहासनमा बसेर ‘ए साथीहरु हेर, मलाई कत्तिको सुहाएको छ, म कस्तो देखिएको छु ?’ भनी प्रश्न गर्दा एकजनाले जवाफ दिएछ– ‘अघिको राजाभन्दा पनि राम्रो । अघिको बूढो थियो अहिलेको त भर्खरको तन्नेरी !’

कुरा यही हो । नेपालमा सबैलाई राजा हुने रहर छ । दुईतिहाइ प्राप्त राजा ! संघीय राजा ! प्रदेशका राजा ! गाउँपालिकाका राजा ! नगरपालिकाका राजा ! उठायो कर खायो खाजा !

राजाले गद्दीमा बसेर टीका लगाइदिने र टीका छर्किदिने गर्दछन् । त्यो भन्दा बढी उनले घुँडा टेकाएर टाउकोमाथि हात राखेर आशिर्वाद दिन्छन् । अहिले पनि भयो यस्तै किनकि यो संस्कारको कुरा हो । प्रम केपी ओली दिल्ली गएर सन् १९५० लगायतका सबै असमान सन्धिसंझौता कार्यान्वयन गर्छु भनी घुँडा टेकेर आशिर्वाद थापी आउँछन् । यो परम्परादेखि चलि आएको कुरा हो । हाम्रो गौरवपूर्ण संस्कार हो । राष्ट्रपति वा प्रधानमन्त्री हुनु भनेको गणतन्त्रको राजा त हो । राजाकै ठाउँमा बसेका छन् । मानिसको सोंच, चिन्तन, आचार, व्यवहार सित्तिमा बदलिने कुरा पनि त होइनन् नि त ?

मान्छेले खिल्ली उडाउँछन् । माओले चीनमा किन चलाएको होला यो ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ भन्ने जात ? सांस्कृतिक रुपान्तरण वा क्रान्तिको के त्यति सार्हो महत्व रहेछ र हो ? ओलीदाहालको राज्यमा जस्तो महामहिम राष्ट्रपतिले घुँडा टेकाएर शरण र चरण दुबैमा पारेर, गाथगादी बचाएर समाजवाद निर्माणको दिशामा टीका लगाई हाँके त भइ हाल्यो ।

अर्को कुरो, यो संस्कार संस्कृति त राजा रामचन्द्रले चलाएका हुन् । राजाले चलाएको संस्कृति राजा फालेर गणतन्त्र ल्याउने र ल्याएकाहरुले किन मान्नु पर्यो ? जनताको संस्कृति माने हुन्न र ? गणतन्त्र भनेको जनताको राज भनिन्छ त । कि यो नाटक हो ?
तेस्रो कुरा, रावणलाई मारेर श्रीलंकामा दलाल विभीषणको राज्य खडा गरिदिएका रामले चलाएको संस्कारै किन आर्शिकरण गर्नु पिर्यो त ? गणतन्त्रलाई आदर्शीकरण गर्ने कि सामन्तवाद र राजतन्त्रलाई ? गणतान्त्रिक संस्कार निर्माण र आदर्शीकरण गर्ने कि राजतन्त्रात्मक सामन्ती संस्कार ?

दश वर्ष जनयुद्ध लडेका पुस्पकमल दाहाल त ‘हाम्रो सामाजीकरण नै भएन’ भन्दै दाहिने देब्रे दुबै हातले टीका मुछेर निधारैभरि घसिंरहेका थिए । यति भए अब उनको ‘सोसलाइजेशन’ पहाडको टुप्पोमा पुग्यो कि ?