अमेरिकी स्टक बजारमा गिरावट, विश्व आर्थिक महामन्दीको प्रारम्भिक संकेत

अमेरिकी स्टक बजारमा गिरावट, विश्व आर्थिक महामन्दीको प्रारम्भिक संकेत

काठमाडौं । अमेरिकी स्टक बजारमा विहीवार र शुक्रवार दुई दिन तीब्र गिरावट आएपछि अमेरिकी अर्थतन्त्र ओह्रालो लाग्ने संकेत देखा पर्न थालेको बताइएको छ । यसलाई लिएर अर्थविदहरुले निकै ठूलो चिन्ता जाहेर गरिरहेका छन् भने पुँजीवादी विश्लेषकहरु स्वयम्ले अब अर्को ठूलो आर्थिक महामन्दीको सुरुआत हुनसक्ने भनी गम्भीर टिप्पणी पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसो हुनुको दोष अमेरिकी केन्द्रीय वैंकमाथि लगाएका छन् । व्यापार साझेदार युरोपीय युनियन तथा अन्यसँग बिग्रदै गएको सम्बन्ध र राष्ट्रपति ट्रम्पले अबलम्बन गरेको संरक्षणवादी अर्थनीतिलाई अमरिकी केन्द्रीय वैंकले नजरअन्दाज गरेको भन्दै यस्तो आलोचना गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको संरक्षणवादी अर्थनीति र हालसम्म चलिरहेको देख्दा खुला तर अन्तर्यमा एकाधिकारवादी वा सिण्डिकेटपूर्ण अर्थव्यवस्था अनुरुप निर्मित अमेरिकी आर्थिक नीति र केन्द्रीय वैंकका कार्यक्रमहरु एकआपसमा असंगतिपूर्ण अवस्थामा देखा परेका छन् । यो विरोधाभासपूर्ण अवस्थाले अमेरिकाको आगामी आर्थिक गतिविधिमा अझ ठूलो र गहिरो नकारात्मक प्रभाव पार्ने अमेरिकी अर्थशास्त्रीहरुको चिन्ता रहेको छ ।

अमेरिकी अर्थशास्त्रीहरु तथा अर्थ विश्लेषकहरुका अनुसार या त अमेरिकाले आफ्नो चलिरहेको पूर्ववत् सिण्डिकेटधारी एकाधिकारवादी अर्थनीति सर्लक्क स्वीकार गरेर अमेरिकीहरु अघि बढ्नुपर्छ या त राष्ट्रपति ट्रम्पको संरक्षणवादी अर्थनीति अनुसार पूरै अमेरिकी अर्थतन्त्रको पुनर्संरचना गरिनु पर्छ । पहिलो विकल्प अनुसार अमेरिकाले युरोपीयन युनियनसँग व्यापार साझेदारकै रुपमा रहेको सम्बन्ध नवीकरण गर्नुपर्छ । दोस्रो विकल्प अनुसार अमेरिकाले थप वैदेशिक ऋण लिएर भएपनि संरक्षणवादी अर्थनीति अनुसार निर्मम भएर अमेरिकी अर्थतन्त्रको पुनर्संरचनामा जानु पर्छ ।

तर राष्ट्रपति ट्रम्प भने दोस्रो विकल्पका लागि तयार छन् तर कुनै पनि हालतमा पहिलो विकल्पका लागि तयार छैनन् । यसले अमेरिकी स्टक बजार झनै तिव्रगतिमा ओरालो लाग्ने देखिएको छ ।