छुट्टाछट्टै दुर्घटनामा ३ को मृत्यु, ११ घाइते

छुट्टाछट्टै दुर्घटनामा ३ को मृत्यु, ११ घाइते

काठमाडौं । छुट्टाछट्टै भएको दुर्घटनामा परी आज ३ जनाको ज्यान गएको छ भने ११ जना गम्भीर घाइते भएका छन् । प्राप्त जानकारी अनुसार नुवाकोट र सिन्धुलीमा भएको बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा एक वृद्ध र एक महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । स्थानीय यात्रु बोकेर समुन्द्रटारबाट त्रिशुलीतर्फ आउँदै गरेको बसमा ५० भन्दा बढी यात्रु रहेका थिए । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरीले बताएको छ ।बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएको र कन्डिसनमा नरहेको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

यसैगरी सिन्धुलीको मरिनबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु ६ जना गम्भीर घाइते भएका छन् । ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेर टुक्राटुक्रा भएको छ । बसमा जम्मा ८ जनामात्रै सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।