कञ्चनपुरमा हात्तीको आतंक

कञ्चनपुरमा हात्तीको आतंक

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ र १२ बन्साहमा पाँच दिनदेखि आतंक मच्चाएको छ । गएराति पनि हात्तीको बथानले कञ्चनपुरको शुक्लफाँटा नगरपालिकाको ग्रामीण भेगतिर धानबाली नष्ट गर्नुका साथै पाँच किसानका घरटहरा भत्काईदिएको छ ।

भारतीय दुधुवा नेशनल पार्कदेखि लालझाडी, शुक्लाफाँटा पसेको हात्तीको बथानले आतंक मच्चाइरहेको छ । किसानको खेतबारी देखि घरटहरासम्म भत्काईदिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा तीन र १२ कालागौडीमा दुई बाढीपीडितका घर टहरा भत्काईदिएको छ । बस्ने घर भत्काएपछि उनीहरुको बिचल्ली भएको छ । नगरपालिका–१ बन्साहकी पार्वती सार्कीको घर पुरै भत्काईदिएको छ । राति करिब १० बजे एक्कासी घरनिरै पुगेका हात्तीले घर भत्काउन थालेपछि छोरासहित भागेर आफु बाँचेको उनले बताईन् ।

पार्वतीको जस्तै बन्साहकै मोहन विक र धनबिर सार्कीको घर समेत भत्काएको छ । तीनै जनाको घर भत्काएर घरभित्र रहेको अन्नबाली समेत खाईदिएको उनीहरुले बताएका छन् । दसैंका बेला घरै भत्काईदिएपछि आफुहरुको बिचल्ली भएको पीडितले बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका सन्तराम राना र सन्तु रानाको घरको पर्खाल भत्काएको हो । यस्तै हात्तीले शुक्लाफाँटा नगरपालिका–१ बन्साहको सिद्धबैजनाथ माध्यामिक विद्यालयको पर्खाल समेत भत्काएको छ ।गएराति शुक्लाफाँटा नगरपालिका–१, २ र १२ का विभिन्न स्थानीयको धानखेती समेत नष्ट गरिदिएको छ । वार्ड नम्वर १ का अध्यक्ष हरिश विष्ट ले पनि नगर पालिका र जिल्ला प्रशासन कार्यलय लगायत सबै सरोकार निकाय संग आवश्क वहल गरेको बताउनुभयो ।

शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले हात्तीबाट पीडित किसानको राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारका तर्फबाट पहल गरिने बताएउनुभयो । उनले स्थानीय प्रशासनलाई समेत हात्ती धपाउन आवश्यक पहल गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारीलाई अनुरोध गरेका छन् ।