सिजरियन जन्मको प्रक्रिया आवश्यक भन्दा बढी प्रयोगमा

काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा गरिएको पछिल्लो अनुसन्धानअनुसार बच्चा जन्माउनका लागि लोकप्रियता हासिल गर्दै गइरहेको सिजरियन सेक्सन चाहिने भन्दा बढी प्रयोग हुँदै गइरहेका तथ्य खुल्न आएको छ । विज्ञान र प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भित्रिएको सिजरियन सेक्सनलाई आमा र बच्चा दुवैको स्वास्थ्य सुविधाको रुपमा लिन थालिएको छ ।

चिकित्सकहरुका अनुसार यो विधिको बढ्दो प्रयोग त्यति उचित नभएको तर्फ सचेत गराउन थालिएको पनि छ । उनीहरुका अनुसार कतै अति आवश्यक हुँदा पनि उक्त सेवा नपुगिरहेको र कतै भने सामान्य अवस्थामा पनि उक्त विधिको व्यापक प्रयोग भइरहेको छ ।

बच्चाको प्राकृतिक रुपमा जन्म हुँदा आमाले झेल्नु पर्ने प्रश्रब पीडाबाट छिटै आत्तिने मनोदशाले पनि यसलाई बढावा दिएको छ । अर्काेतिर च्याउझैँ गल्लिगल्लिहरुमा खोलिएका नर्सिङ होम, प्रसुति गृह, मेडिकल कलेज, मेडिकल हाउस, स्वास्थ्य केन्द्रहरुले आफ्नो व्यापारका लागि आमाहरुलाई सिजरियन सेक्सनका लागि प्रोत्साहित गरिरहेको पाइएको छ । मानिसलाई मानवीय व्यवहार भन्दा पनि वस्तुका रुपमा लिने र मातृत्व वरणगर्ने समयलाई पैसा कमाउने अवसरका रुपमा लिने गर्नाले पनि यसलाई बढावा दिन पुगेको हो ।

हालैको पछिल्लो तथ्यांकमा सिजरियन सेक्सन विश्वमा १२ बाट २१ प्रतिशतसम्म पुगेको छ । युरोप, एशिया र अफ्रिकामा बढी नै प्रयोगमा आएको छ । यसले हाल आधा विश्व ढाकेको तथ्यांकले देखाएको छ । अनुसन्धानअनुसार सिजरियन सेक्सन माहामारी झैं फैलिएको छ । विज्ञ चिकित्सकका अनुसार विश्वमा १२ देखि १५ प्रतिशतमात्रलाई यो सेवा जरुरी भएको बताएका छन् । बाँकी फेशन नै बनेर आएको कुरामा चिन्ता प्रकट गरिएको छ ।