काठमाडौंको उपनिर्वाचन : वामदेवका लागि कोठियाघाट भन्दा आर्यघाट नजिक 

प्रकाशित मिति : २०७५ आश्विन २४

काठमाडौँ । नेकपाका नेता वामदेव गौतमलाई उपनिर्वाचन मार्फत् संसदमा ल्याउने निर्णय नेकपाको सचिवालय वैठकले गरेपछि यसबारेमा निकै मतमतान्तरहरु नेपाली राजनीतिक वृत्तमा आएका देखिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि आफू पछि हट्ने र सांसदको स्थान खाली गर्ने भएपछि सचिवालयलाई यस्तो निर्णय लिन सहज भएको बताइएको छ ।

रामवीर मानन्धरको राजीनामा आएलगत्तै मख्खपर्दै गौतमले कुरा सचिवालय बैठकमा उठेको बताउँदै छलफल चलिरहेको र केही कुरा त अझै मिल्न बाँकी रहेको बताएका छन् । नेकपाभित्र यो मिश्रित प्रतिक्रियाका रुपमा रहे पनि जनतामाझमा भने निकै आलोचनाको विषय बनेको छ । देश डुबिरहेको छ, सीमाना हराइरहेका छन्, महंगी चुलिएकोछ, चेली बलात्कृत भइरहेकी छन्, मारिइरहेकी छन्, कमिसनमा देश भाँडिएको छ तर बर्दियाली जनताले लोप्पा ख्वाएका वामदेवलाई संसद र मन्त्री बन्ने रहर जागेको छ ।

ओलीको बोली बिक्न छाडेपछि पुष्पकमल दाहालले चाकमा हात लगाइदिएर बुरुक्क बुरुक्क भएका वामदेवका लागि भने उपचुनाव मर्ने बेलाको रहरको हरियो काँक्रो बन्न पुगे पनि यो उनको जीवनमा अन्तिम तर निर्णायक आत्मघाती कदम हुने निश्चित छ । राजनीतिक वातावरण निकै धमिलिएको छ । नेकपा भन्ने पार्टी र यसको सरकार निकै बदनाम र निकम्मा भइसकेको छ । पत्तुर भएर जनताका बीचमा गन्हाइरहेको छ । यस्तो अवस्थामा एक त जनतामा चुनावका कुराप्रति नै वितृष्णा पलाएको छ, अर्को कुरा झन् त्यो नेकपा भन्ने पार्टी र त्यसका नेताहरु भनेपछि जनता वाक्कदिक्क भएका छन् ।

यस अतिरिक्त पूर्व एमाले विभाजित छ । वामदेवलाई ओलीले हराएका थिए । फेरि ओलीले जिताउलान् ? माधव नेपालका लागि वामदेवलाई संसदमा ल्याइनु सौता भित्र्याएसरह हो । दाहालले वामदेवलाई च्याँखे थाप्न र आफ्नो बार्गेनिङ पावर बढाउन मात्र प्रयोगमा ल्याउन थालेका हुन् । रामबहादुर थापा यी सबै कामहरुलाई आफ्ना विरुद्ध केन्द्रित गरिरहेको देख्न थालेका छन् । उता नारायण काजीले आफूलाई केही कुरै नगरी सुठाको भाउमा व्यवहार गरिरहेको महसुस गर्न थालेका छन् ।

भूतले खाजा खान थालेको यस्तो अवस्थामा वामदेव गौतमले राजनीतिक जीवनको सपना देख्नु, त्यो पनि काठमाडौं जस्तो अति तरल राजनीतिक तरंग मात्र पनि निर्णायक हुने ठाउँमा, भनेको त बर्दियाको कोठियाघाट भन्दा आर्यघाट नजिक देख्नु मात्र हो ।