काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आफूहरु गायब पारिएको सीमा क्षेत्रको खोजी र ती क्षेत्र नराखिएका नक्कली नक्साहरु हटाऊको संघर्षमा उत्रिइसकेको बताएका छन् । मंगलवार काठमाडौंको शान्तिबाटिकामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौं र क्रान्तिकारी युवा लिग काठमाडौंको संयुक्त आयोजनामा आयोजित शान्तिबाटिका–बागबजार–पुतली सडक–शहीदगेट–न्युरोड–ईन्द्रचोक–भोटाहिटीहुँदै पुनः शान्तिबाटिकामा पुगेको कालो मार्च पास पश्चात् परिणत भएको विरोध सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनका अनुसार देशका जनता अब धेरै सचेत भइसकेका छन् र राष्ट्रिय स्वाभिमान बचाउका लागि एक जुट भएर उठ्ने तयारीमा लागिरहेका छन् ।

यसअघि पनि राष्ट्रिय स्वाभिमानका साथै जनताका जनजीविका तथा जनपक्षीय शासन व्यवस्थाका कुराहरुसहित संघर्षको भिन्न स्वरुप लिएर जनताका माझमा पुगिरहेको बताएका गजुरेलले ओली–दाहालको चुनावी गठबन्धन बन्दाको समय र अहिलेका ओली–दाहाल पार्टी नेकपाको बहुमतको सरकार बनेको समयमा आकाश–पाताल फरक आएको बताउँदै नेता गजुरेलले देशको सुधार र प्रगतिका लागि बहुमतको जनादेश दिएका जनताले आफूहरु भ्रममा परेको खुल्लमखुल्ला स्वीकार गरेको बताएका छन् । उक्त गल्ती अब सरकारले गरेका देशको स्वाभिमान विरोधी राष्ट्रघाती, जनघाती तथा जनविरोधी कामहरुका विरुद्धमा संघर्षमा उत्रिएर सच्याउने जनताले प्रतिवद्धता जाहेर गरिरहेका भन्दै गजुरेलले अहिलेको सरकार मफियाको चंगुलमा पूरै फसेको र तस्कर, ठेकेदार तथा बलात्कारीहरुले यसलाई नटेरिरहेको अवस्थामा अब संघर्षको विकल्प नरहेको कुरामा जोड दिएका छन् ।

वर्तमान प्रम ओलीको स्थानमा अन्य कोही मुख मिठाएर बस्नुपर्ने अवस्था पनि नरहेको भन्दै गजुरेलले अबको संघर्षले क्रमशः राष्ट्रव्यापी स्वरुप लिएर अघि बढी तस्कर, ठेकेदार र माफियाको वर्तमान ओली सरकारलाई फ्याँकेर छाड्ने बताएका छन् । ओलीले यो सरकार फ्याँक्ने भनेर संविधानमा पनि नलेखेको कुरा गर्लान् भन्दै गजुरेलले भने हिंजोका दिनमा राजा फल्ने कुरा पनि संविधानमा लेखेको थिएन तर राजा आन्दोलनबाट फालिए । नेपालको दुर्भाग्यपूर्ण विरासत उप्काउँदै नेता गजुरेलले भने गणतन्त्र स्थापनाको आन्दोलनलाई खिसिटिउरी गर्दै बयलगाडा चढेर अमेरिका पुग्ने सपना देखेको भन्ने तिनी ओली गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री बनाइनु आफैमा विडम्वनापूर्ण रहेको छ ।

नेता गजुरेलले देश बाहिरबाट देखिएको भन्दा कैयौं गम्भीर खतरामा रहेको बताउँदै अरु पार्टीहरुमा रहेका इमान्दार नेता तथा कार्यकर्ताहरुलाई यो खतराबाट देश बचाउन सडक संघर्षमा उत्रन र यो संघर्षलाई विद्रोहमा परिणत गर्न आह्वान समेत गरे । अहिलेको अवस्थालाई देखेर विद्वान, वुद्धिजीवी तथा युवाहरु सडकमा उत्रन तयार रहेको आफ्नो मोर्चालाई सन्देश पठाइरहेको बताउँदै गजुरेलले जनताको मनोभावनामा आएको विद्रोहात्मक परिवर्तनलाई देशको स्वाभिमान बचाउने आन्दोलनतर्फ नेतृत्व गर्नु आजको आवश्यकता रहेको कुरामा जोड दिए ।

विरोध सभामा बोल्दै अर्का वक्ता तथा नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशका इञ्चार्ज रामसिंह श्रीसले वर्तमान सरकार कम्युनिस्टको सरकार पनि नभएको र सत्ताधारी दल नेकपा पनि कम्युनिष्ट नै नरहेको बताउँदै यसले निर्माण गरिने भनेको समाजवाद सामाजिक जनवादी स्तरको पनि नभएको बताएका छन् ।

उनले वर्तमान सत्ताधारी नेकपाले गरेको जनता झुक्याउने भ्रमको खेती छसात महिनामै असफल भएको, देशका सीमाहरु अतिक्रमित मात्र होइन, भारतमा पारिएको, नक्कली नक्साहरु सरकारी कार्यालयहरुमा झुण्ड्याइएको, असमान सन्धिसंझौता आँखा चिम्लेर र्काान्वयनमा ल्याइएको, महंगी चरमचुलीमा पुर्याइएको, भ्रष्ट, तस्कर तथा माफियाहरुको संरक्षक र अभिभावकका रुपमा सरकारलाई स्थापित गरिएको भन्दै श्रीसले यसका विरुद्धमा संघर्ष नै एकमात्र उत्तम विकल्प रहेको बताए ।

साम्राज्यवाद, विस्तारवाद, माफिया, तस्कर तथा भ्रष्टाचारीहरुलाई खुल्ला आकाश तर जनतालाई आवाजविहीन बनाउन निषेधित इलाकाहरु घोषणा गरिए पनि ती सबै जनताका बलले निस्काम र फुस्सा साबित भएको बताउँदै श्रीसले सरकारका कुकृत्यहरुको भण्डाफोर गर्दै सडक संघर्षलाई उत्कर्षमा पुर्याउनु पर्ने कुरामा जोड दिए ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माआवादी) काठमाडौं जिल्ला इञ्चार्ज सुरेश श्रेष्ठले देशलाई बदल्न हिंडेकाहरु आस्था र विचार बेचेर पतित भएपछि देश पनि बेच्ने हदसम्म पुगेको वर्तमान अवस्थालाई उल्लेख गर्दै सुंगुरको खोर सफा गर्न पसेकाहरु नै सुंगुरमा रुपान्तरण भएको बताएका छन् । देशमा रोजगारीको व्यवस्था नगरेर युवाहरु विदेश पठाई रेमिटेन्स लिएर मोजमस्ती गर्ने सरकारले समृद्धिको कुरा गर्नु आफैमा लाजमर्दो भएको उल्लेख गर्दै श्रेष्ठले युवाका मागहरुलाई लिएर हस्ताक्षर संकलन तथा संघर्षका कार्यक्रमहरु निरन्तर अघि बढाइरहेको कुरा बताए ।

नेता श्रेष्ठले देशमा समृद्धिका नाममा सीमानाहरु बेचिने, नदीहरु बेचिने, युवाहरु बेचिने, वनजंगल फँडानी गरिने, सार्वजनिक स्थलहरु वर्षौका लागि लिजमा दिने, तस्कर, गुण्डा, काला बजारिया र माफियाहरु मौलाउने यो सरकारको नीति र विधिका विरुद्ध अब विद्रोहको आगमन जरुरी भएको बताए । अब गायब पारिएका सीमा क्षेत्रहरुको खोजी र दिल्लीले ओली सरकारलाई पठाएको र सरकारी कार्यालयहरुमा झुण्ड्याइएका नक्कली नक्साहरुको खोजी तथा नस्ट गर्ने कार्य आफूहरुको अबका कार्यक्रमहरुमा रहेका भन्दै श्रेष्ठले कसैले पनि यी नक्कली नक्साहरुको प्रयोग, बिक्रिवितरण तथा स्टोर नगर्न अग्रिम चेतावनीसमेत दिए ।

त्यसै गरी क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन ‘आकाश’ले वाम भनिएको बहुमतको सरकार रहेका बेला देशका युवाहरुले राजधानी सहरमा कालो मार्चपास गर्न बाध्य हुनु आफैमा निकै पीडादायी कुरा रहेको बताए । उनले देश बनाउने कुरा त निकै टाढाको हुन गयो, तर सामान्य दैनिक जनजीविकाका कुराहरु पनि निकै कष्टसाध्य हुँदै गएकाले अब सडकमा जनता उत्रनुको विकल्प नरहेको बताए । वाम भन्नेको बहुमतको सरकार रहेका बेला दिन पनि रात जस्तै काला भएका छन् भन्दै महर्जनले दिनदाहाडै छोरी चेलीहरु बलात्कृत भई मारिनु, एसिड छर्केर हत्या गरिइनु, महंगीले ढाड सेकाउनु, तस्करी संस्थागत हुनु, सरकारले दैनिक उपभोगका सामानहरुमा कमिसन खाएर मूल्य बढाउनु यी सबै जनविरोधी हर्कत भएकाले अब जनताका लागि सडकमा उत्रनु बाहेक अन्य सबै विकल्प सरकारले नै बन्द गरेको बताए । एकातिर देश रोइरहेको, सीमा मिचिइरहेको, जनता आक्रोशित भइरहेका, सचेत मानिसहरुले अगुवाइ गरिरहेका र अर्कोतिर तस्कर, ठेकेदार, भ्रष्टाचारी तथा माफियाहरु सल्बलाइरहेको द्वन्द्वपूर्ण अवस्थामा आफूहरु देश र जनताका पक्षमा संघर्षका कार्यक्रमहरु लिएर अघि बढिरहेको बताए ।

विरोधसभाका अध्यक्ष तथा देजमो काठमाडौंका अध्यक्ष खगेन्द्र छन्त्यालले अब विदेशी दलाल सरकारको विरुद्धमा सडकमा उत्रनुपर्ने कुरामा जोड दिंदै त्यसका लागि आफूहरु नेतृत्व गर्न तम्तयार रहेको बताएका थिए । क्रान्तिकारी युवा लिग काठमाडौं जिल्ला सहसंयोजक दर्शन शर्माको स्वागत भाषणद्वारा स्वागत गरिएको उक्त विरोधसभाको सञ्चालन असल तामाङले गरेका थिए ।

कालापानीविना नक्साको प्रयोग, कर वृद्धि, बलात्कार, हत्या, काला बजारी, बढ्दो महंगी, गैर न्यायिक सडक विस्तार र राष्ट्रघाती नागरिकता विधेयकका विरुद्धमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौं र क्रान्तिकारी युवा लिग काठमाडौंको संयुक्त आयोजनामा आयोजित विरोध र्यालीमा कालापानी नरहेको नक्सा खारेज गर, राष्ट्रघाती सन्धिसंझौता खारेज गर, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारवाही गर, महिलाहिंसा अन्त्य गर, जनविरोधी ऐनकानुन खारेज गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, क्रान्तिकारी युवा लिग– जिन्दावाद, देजमो नेपाल– जिन्दावाद, क्रान्तिकारी माओवादी– जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं आदि गगनभेदी नाराहरु लगाइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर