रोल्पा, असोज २४ । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिकामाथि आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलासा भएको छ । बालिकाले बताए अनुसार उनी गत भदौ २७ देखि लगातार तीन पटक बलात्कारमा परेको खुलाएकी छिन् ।
आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।
बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ’, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने । पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताए ।
हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भने ।