नेकपाको बिर्ताबाट राजपा फिर्ता

प्रकाशित मिति : २०७५ आश्विन २४

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली महन्थ ठाकुरकहाँ गएर रोएको दिन मंगलवार साँझपख राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसले दिनानुदिन खस्कदै र सिद्धिदै गएको नेकपाको ओली सरकारको साख झनै खोइल्याएको छ । आफ्ना मागहरु पूरा नभएको भनेर बाहिरिनु र निहुँ खोज्नु उपयुक्त समय भएको राजपाले ठानेको देखिएको छ । अर्कोतिर पुष्पकमल दाहाल दिल्ली पुगेर मन्त्रणा लिएको कुराले पनि परिपक्वता हासिल गर्दै छ ।

ठीक यसैबेला मामाको धनले फूपूको श्राद्ध गर्न पनि सजिलो हुने र गरे नि त भन्ने पनि हुने काम देखाउन राजपा लागि परेको छ । यसबाट तराइका अरु दलहरुसँग राजपाको सम्बन्ध पनि जोगिने र प्रदेश नम्बर २ को सरकार पनि टिकिरहने देखिएको छ । खेल त्रिकोणात्मक छ । अर्कोतिर प्रम ओलीले सरकारको समर्थन फिर्ता नलिन जीहजुरी पनि गरिरहने र केन्द्र सरकारलाई घुर्क्याउनका लागि ठाउँ पनि रहिरहने यो निकै काइदा र फाइदाको कुरा पनि भएको छ ।

फिर्ता भनेर महन्थजीलगायत अध्यक्षमण्डलका लागि घुर्की, धम्की र बार्गेनिङ गर्नु परेको छ भने ओलीजीलाई बिर्ता जोगाउनु छ । उनको घुनपुत्लो नलगाएर पाँच वर्ष चलाउनु पर्ने बिर्तामा छमहिनामा नै भूईंचालो गएको छ ।

राजपाले निहुँ झिकेको छ– संविधान संशोधन भएन, मुद्दा फिर्ता भएनन्, थरुहट र मधेशलाई प्रदेश दिइएन, रेशम कुमार चौधरीलाई सपथ खुवाइएन आदिआदि । यसलाई यथासमयमा पूरा गरिने ओलीले आश्वासन दिइरहेका छन् ।