
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आफूहरु आन्दोलनमा उत्रिइसकेको बताएका छन् । देशको राष्ट्रिय स्वाभिमान, जनताका जनजीविका तथा जनपक्षीय शासन व्यवस्थाका कुराहरुसहित संघर्षको भिन्न स्वरुप लिएर जनताका माझमा पुगिरहेको बताएका छन् । उक्त कुरा अध्यक्ष गजुरेलले आइतवार डिल्लीबजारस्थित भोजन गृहमा आयोजित ‘नागरिकता विधेयक र राष्ट्रियताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
उनले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पार्टीको भौतिक शक्ति निकै कमजोर अजवस्थामा रहे पनि विचार तथा यसले उठाएका एजेण्डाका हिसाबले यो अन्य कुनै पनि राजनीतिक पार्टीभन्दा कमजोर नरहेको बताएका छन् । उनका अनुसार देजमोले सडकबाट उठाएका एजेण्डाहरु जस्तो सीमा सुरक्षादेखि बिम्स्टेक संयुक्त सैन्य अभ्यास र सरकारले प्रयोग गर्दै आएका नक्कली नक्साहरु तथा निशान छापका कुराहरुले संसदमा महत्वपूर्ण स्थान पाएको बताएका छन् ।
उनले आफूहरु सिंगो राज्यसत्ताको वैकल्पिक शक्ति भएकाले पनि जनताको साथ रहेको र मोर्चाले उठाएका मुद्दाहरुमा देश, जनता र जनपक्षीय शासन व्यवस्थाका कुराहरु आएको बताउँदै आमूल परिवर्तनका पक्षधरहरुदेखि देशभक्त शक्तिहरुलाई यी एजेण्डाहरुमा साथसाथै लिएर अघि बढ्ने कुरामा जोड दिएका थिए । देश र जनताका पक्षमा आयोजना गरिएका यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा लैजाने पनि उनले बताए ।
नेता परि थापाले राज्यले नागरिकता दिन पनि र खोस्न पनि सक्छ भन्दै यसका लागि एउटा छानबिन समिति बनाउनु पर्ने कुरामा जोड दिए । उनले स्वीटजरल्याण्डमा ८१ प्रतिशत जर्मन छन् तर उनीहरुले स्वीटजरल्याण्डलाई जर्मन बनाउँछौं भनेका पनि छैनन् भन्ने कुरामा जोड दिंदै नेपालमा भारतीय विस्तारवादी हस्तक्षेप र स्वदेशका दलाल शासकहरुका कारण नागरिकताको मुद्दा पेचिलो हुन गएको कुरामा जोड दिए ।
परराष्ट्रविद हिरण्यालाल श्रेष्ठले नागरिकताको बहस तराइमा पुर्याउन जरुरी भएको भन्दै उनले मधेशको एकजना नेपालीले नागरिकताबाट बञ्चित हुन नपरोस तर विदेशीले नगारिकता नपाओस भन्ने कुरामा जोड दिए । उनले खुला सिमाना पनि अनुगमन गरिनु पर्ने कुरामा जोड दिंदै चीन र भारत जस्ता विश्वकै निकै ठूला जनसंख्या भएका देशहरुका बीचमा रहेको सानो मुलुकले विदेशीको चाप थेग्न र बेहोर्न सक्दैन भने ।
अन्तरक्रिया कार्यक्रममा पूर्व महानिर्देशक तथा सिमाविद वुद्धिनारायण श्रेष्ठले नागरिकताको प्रमाणपत्र भनेको पर्चा वितरण जस्तो होइन भन्दै यो त्यही देशमा बसेका नागरिकहरुको ‘म यो देशको नागरिक हुँ’ भन्ने परिचय पत्र हो भने । उनले नागरिकता वितरण टोली बनाएर नागरिकता पर्चा विरण जस्तो गरी वितरण गरिनु आफैमा खेदजनक रहेको बताए । नेपालको नक्शामा क्षेत्रफल निकै कम गरिएको, निशान छाप नक्कली रहेको, ३७२ वर्ग किलोमिटर भूभाग अतिक्रमण भएको, ३१० वर्ग किलोमिटर भूभाग म हुँदै गएको थियो भनी बताए ।
नेपालको संविधानमा नेपालको नक्शा छैन भन्दै देशको नक्सा मात्र होइन, प्रदेशको र स्थानीय सरकारहरुको पनि नक्सा छैन । १० हजार वर्ग किमि भूभाग अतिक्रमण भएको कुरा उल्ल्ेख गर्दै उनले संविधानको धारा ४ (२) ‘क’ मा भूभाग कत्ति पनि कम हुँदैन भनिएको तर त्यही संविधानको अनुसूची मा नेपालको भूभाग घटेको देखाएको उनले बताए ।
प्रा.डा. सुरेन्द्र कसीले नेपालीहरु नागरिकताको विषयमा मिस्लिड भएको बताउँदै नेपालीहरुमा संस्थागत बोली र बचन नभएको भने । उनले जो बोले पनि व्यक्ति बोलेको जस्तो हुनजाने भएको कुरा बताए । तथ्यांक खोज्न जाँदा २२ लाखले नागरिकता पाएका छन्, तर भनिन्छ ४० लाखले पाएका छन् भन्दै केसीले नेपालको नागरिकता विरणमुखी भएको बताए । उनले केपी ओली स्वयम् नागरिकताको प्रश्न उठाएर नै सत्तामा गएका हुन् तर उनैले नागरिकतासम्बन्धी यस्ता विधेयक ल्याए भनेर आश्चर्य प्रकट गरे ।
त्यसै गरी प्रा.डा. कृष्ण बेलबासेले पहिले भएका कुराहरुलाई केही मान्यता दिने र भएका खराबीहरुलाई हटाउने केही सकारात्मक कुरा अहिलेको नागरिकता विधेयकमा व्यवस्था भएको भन्दै नागरिकता मात्र भारतीय हस्तक्षेपको मूल कारण नभएको बताए । उनले जुन देशले नागरिकता वितरण गर्ने हो, त्यसले त्यो देशको राष्ट्रिय स्वार्थलाई हेरेर वा ख्याल गरेर दिने भन्दै नागरिकता लिएका वा बनेका नागरिकहरुले नागरिकता लिएको राज्यको नीति निर्देशन र कर्तव्यहरु त पालना गर्नुपर्छ भन्ने कुरामा जोड दिए । यो अनिवार्य र विश्वव्यापी शर्त भएको बताउँदै उनले सानो मुलुक, खुला सिमाना, खुला व्यापार तथा सहज सामाजिक सम्बन्धका कारणले हामीहरुलाई नागरिकताको कुराले झस्काउने गरेको बताए ।
उनका अनुसार योे भन्दा बढी खतरनाक कुरा त योजनबद्ध रुपमा नागरिकता वितरणको नै हो भन्दै नेपालले पौने तीन करोड जनसंख्या पाल्न सक्ने सामथ्र्य गुमाएकाले थप विदेशी नागरिकलाई नागरिकता दिन सक्दैन । अझ समस्या त नेपाली नागरिकता लिएका तीन जनाले सिफरिश गरेमा नयाँलाई नागरिकता दिनसक्ने भन्ने प्रावधान भएकोमा नै रहेको उनले जनाउ दिए ।
कार्यक्रममा रतन भण्डारी, अब्दुल सलाम खानलगायतका वक्ताहरुले आआफ्ना विचार राखेका थिए ।
































