
विगत लामो समयदेखि हामीले आवश्यकतानुसार विरोधको अभिव्यक्ति स्वरूप कालो ब्यानर र कालो झण्डा प्रदर्शनको कार्यक्रम गर्दै आएका छौं ! यसबीच विभिन्न सरकार आए र गए । वर्तमान के.पी. (पी.के. सरकारकै समयमा पनि हामीले पटक पटक यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएका छौं । सधंै जस्तो के.पी.(पी.के. सरकारको समयमा पनि हामीले केही सम्झनायोग्य अनुभूतिहरु बटुलेका छौं । मोदी भ्रमणको विरुद्धमा हामीले आयोजना गरेको कालो झण्डा सहितको शान्तिपूर्ण र्यालीमाथि रत्नपार्कमा प्रहरी हस्तक्षेप भयो । घम्साघम्सी भयो । हामीलाई जबर्जस्त प्रहरी भ्यानमा कोचेर प्रहरी परिषद टेकु पुर्याइयो । मोदी फर्केर उनी चढेको जहाज भारतमा अवतरण भएपश्चात मात्र हामीलाई छोडियो ।
अस्वाभाविक कर बृद्धिको विरोधमा हामीले फेरि कालो झण्डा सहितको विरोध र्याली आयोजना गर्यौं । गृह मन्त्रालयको हवाला दिंदै प्रहरीले हामीलाई कालो झण्डा नदेखाउन भन्दै वार्तामा आयो । हामीले हाम्रो निर्धारित कार्यक्रम संशोधन नगर्ने अडान लियौ । प्रहरीले गृहको आदेश पालना गर्ने अडान लियो । वार्ताभंग भयो । निर्धारित समय र स्थानमै हामीले कार्यक्रम सुरु गर्यौं । कार्यक्रम सुरु हुनासाथ रत्नपार्क मा हाम्रो शान्तिपूर्ण विरोध र्यालीमाथि गृह मन्त्रालयको ठाडो निर्देशनमा प्रहरी दमन भयो । घम्साघम्सी र झण्डा खोसाखोस अनि तानातान भयो । हाम्रो केही झण्डा प्रहरीले खोस्यो । आधाभन्दा बढी झण्डा लिएर प्रहरी घेरा तोड्दै हामी हाम्रो गन्तव्यतिर लाग्यौ ।

हामीले हाम्रो कार्यक्रम सम्पन्न गर्यौ । पुन हामीले यही असोज २३ गते ‘कालो मार्चपास ’ को आयोजना गरेका छौं ! रातो मार्चपास त हामीले नै कैयौं पटक गरेका छौं । तर कालो मार्च पास नेपालमा न राजनैतिक गैरराजनैतिक कुनै पनि क्षेत्रमा सायद कसैले आजसम्म गरेको छैन । त्यसकारण नेपालको इतिहासमै पहिलो कालो मार्चपास हो यो । र हामीले ‘कालो मार्चपास’ को सुरु र अन्त्य त्यही ठाउँमा गर्दैछौं जहाँ गृह मन्त्रालयको ठाडो आदेशमा हामीमाथि पटक पटक प्रहरी दमन हुने गरेको छ । जहाँ पटक पटक हाम्रा लोकतान्त्रिक अधिकारमाथि प्रहार गरिएको छ अर्थात् शान्तिबाटिका रत्नपार्कमा ।
भनिन्छ राम्रो कुरा बिग्रियो भने ज्यादै नराम्रो बन्छ । कम्युनिस्ट आन्दोलन, दर्शन, सिदान्त र बिचार, समाज, देश र जनताको निम्ति ज्यादै राम्रो कुरा हो । यो कसैको मनोगत दाबी पनि होइन । यो त इतिहासले प्रमाणित गरेको तथ्य हो । कम्युनिस्ट दर्शन, सिदान्त र विचार अंगाल्दै उक्त आन्दोलनको यात्री बनेको ब्यक्ति नै कम्युनिस्ट व्यक्ति हो । कम्युनिस्ट दर्शनले असल नैतिकताको कुरा सिकाउछ । असल चरित्रको कुरा सिकाउँछ । न्याय, स्वतन्त्रता र समानताको कुरा सिकाउँछ । त्यसका निम्ति लगातार संघर्ष गर्न सिकाउँछ । तसर्थ, कम्युनिस्ट नैतिकवान हुन्छ । चरित्रवान हुन्छ र कम्युनिस्ट न्याय, स्वतन्त्रता र समानताको पक्षपाती हुन्छ ।
तर त्यही कम्युनिस्ट जब कम्युनिस्ट दर्शन, सिद्धान्त र विचारबाट च्युत हुन्छ, जब कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट नैतिकताबाट चिप्लेर पछारिन्छ, तब ऊ खुंखार पाखण्डी बन्छ । र उसले कम्युनिस्टको बदनाम मात्र होइन, अपमान र अवरोध पनि गर्दछ । उसले राष्ट्र र जनताको जीवनमाथि खेलवाड गर्दछ । उसले आफनै वर्तमान र भविष्यबारे मात्रै सोच्छ, आफ्नै स्वार्थमा मात्रै समय, बुद्धि र विवेक खर्च गर्दछ ।
के.पी.ओली र उनका सारथी पी.के.दाहाल कुनै जमानामा कम्युनिस्ट थिए । कम्युनिस्ट आन्दोलन, दर्शन, सिद्धान्त र विचारका बारेमा हामीलाई उनीहरुले निकै सिकाउँथे । कम्युनिस्टका बारेमा उनीहरुले लेखेका ठुल्ठुला पुस्तकहरु अझै बजारमा छ्यापछ्याप्ती भेटिन्छन । ती पुस्तकहरु उनीहरुकै निम्ति आज मुखमा हालेको तातो आलु झैँ निल्नु न ओकल्नु बनेका छन । आफूले लेखेका दर्शन, सिद्धान्त र विचार एकातिर व्यवहार अर्कातिर भएका छन । सारमा उनीहरु कम्युनिस्ट जीवन र दर्शनदेखि धेरै टाढा भागिसकेका छन । यद्यपि उनीहरुले आफ्नो पार्टीको नाम कम्युनिस्ट पार्टी नै राखेका छन र आफूलाई कम्युनिस्ट नै भनेर दाबी पनि गरिरहेका छन । तर यो ढाँट कुरा हो । पित्तललाई सुन भनेर कारोबार गर्ने जाली व्यापारीको जालझेल जस्तै हो, यो ।
आज मुलुकमा के.पी. र पी.के.को सरकार छ । के.पी. र पी.के.ले आफ्नो सरकारलाई कम्युनिस्ट सरकार भनेर प्रचार गरिरहेका छन । दुनियाँभरका नयाँ तथा पुराना प्रतिक्रयावादीहरुले जानीबुझी यसलाई कम्युनिस्ट सरकार भनेर चिच्याइरहेका छन । नाङ्गो रुपमा प्रतिक्रियावादमा पतन भै सकेका केपी र पीके र उनीहरुको सरकारलाई कम्युनिस्ट भन्नुको मुख्य कारण हो कम्युनिस्ट क्रान्तिकारीहरुको बद्नाम गर्नु । केपी र पीके सरकारले देश घात र जनघात गर्दै जाने त्यही बहानामा कम्युनिस्ट क्रान्तिकारीहरुको बदनाम गरिरहने र अन्तत कम्युनिस्ट आन्दोलनलाई निस्काम बनाउने दुनियाँभरका प्रतिक्रियावादीहरुको चाल हो यो । यसलाई देश र दुनियाँका कम्युनिस्ट क्रान्तिकारीहरुले बुझ्न र भण्डाफोर गर्न आवश्यक छ !
देशमा आज छोरी चेलीहरु निर्धक्कसंग घरबाट बाहिर निक्लने स्थिति छैन । बाहिर निक्लेका छोरीचेली सकुशल घरमा फर्कन पाउँछन् कि पाउँदिन भनेर घर परिवारले दिनभर चिन्ता गर्दै छोरीको बाटो हेरेर बस्ने स्थिति छ । महिला हिंसा, बलात्कार र हत्याले सीमा नाघेको छ । तथ्यांक बोल्छ केपी र पीकेको राज्यभित्र ५ महिनामा १४ सय बलात्कारका घटना घटेका छन । दुई महिना बितिसक्दा पनि निर्मला पन्तको बलात्कार पश्चात हत्या गर्ने अपराधीलाई राज्यले कठघारामा ल्याउन सकेको छैन । उल्टो प्रधानमन्त्री र गृहमन्त्रीले हल्का तथा गैर जिम्मेवार अभिव्यक्ति दिएर हत्याराको मनोबल बढाउने र पीडित पक्षलाई हतोत्साहित गर्ने काम भैरहेको छ । चर्चामा नआएका तर निर्मला पन्तकै जस्तो अरु कैयौ घटनामा राज्य लाचार बनेको छ । अपराधीहरु खुलेआम हिँडिरहेका छन ।
स्वयम्भुको जंगलमा विभत्स ढंगले भएको संगीन जी.सी.को हत्याको घटनालाई हत्यारा पत्ता लगाउन र कारवाही गर्नतिर भन्दापनि आत्महत्या साबित गर्न राज्य लागेको आभाष हुने गरी गृहमन्त्रीको अभिव्यक्ति आएको छ । हत्या, हिंसाबारे सरकारले गरेका र देखाएका यस्ता कैयौ नालायकीपनका लामो फेहरिस्त जनतासंग सुरक्षित छन ।
केवल कथित जनप्रतिनिधिहरुको सेवसुविधाका निम्ति, उनीहरुको ऐसआरामको भौतिक व्यवस्थापनको निम्ति जनताका टाउकामाथि अप्रत्यासित र अस्वभाविक कर थोपरिएको छ । बिहान उठेदेखि बेलुकी सुत्ने समयसम्म जनताले गर्ने दैनिक र प्रत्यक क्रियाकलापमा जनताका ढाड सेकिने गरी राज्यले कर निर्धारण गरेको छ । दशैँतिहारको समयमा जनताका दैनिक उपभोग्य वस्तुहरु सहज ढंगले पाउन छोडेका छन । वस्तु लुकाएर काला व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेका छन । राज्यद्वारा कुनै सोधखोज छैन । अनुसन्धान, अनुगमन छैन । न त कारवाही ने छ । महंगीले आकाश छोएको छ राज्यद्वारा यसको नियन्त्रणको कुनै पहल छैन ।
सरकार स्वयंले इन्धनको मूल्य आठ महिनामा नौ पटक बृद्धी गरेको छ । कथित सडक विस्तारको नाममा राज्यले आफ्नै जनतालाई धमाधम सुकुम्बासी बनाइरहेको छ । अन्यायपूर्ण र अव्यवस्थित ढंगले गरिएको कथित सडक विस्तार अभियानलाई रोकेर न्यायपूर्ण र व्यवस्थित ढंगले सडक विस्तार गरियोस भन्ने जनतालाई जबर्जस्त बन्दुक सोझ्याएर बुटले कुल्चने काम गरियको छ । नेपालमा नेपालीलाई नै अल्पमतमा पार्ने विदेशी प्रभुको ग्रान्ड डिजाइन अन्तर्गत राष्ट्रघाती नागरिकता विधेयक ल्याइएको छ । यही स्थिति रहेमा नेपाललाई दोस्रो फिजी बनाउने भारतीय सपना साकार हुन धेरै समय लाग्ने छैन ।
राज्यले बडो गर्वका साथ मुलुकको निशानछापमा सजाएको र आफ्ना सबै निकायमा सानदार ढंगले झुंड्याएको नेपालको नक्शामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३ सय ७२ वर्ग कि.मि. भूभाग नरहेको पुस्टि भएको छ । भारतीय सैनिक क्याम्प रहेको कालापानी, चीन र भारत द्वीपक्षीय व्यापार सम्झौता भएको लिपुलेक र संवेदनशील लिम्पियाधुरा नक्सामा नहुनु सामान्य त्रुटी नभई गम्भीर षड्यन्त्र हो भन्ने हाम्रो बुझाइ रहेको छ । भनिन्छ चीन रभारत लिपुलेक सम्झौता त्यही नक्साको आधारमा भएको हो अर्थात लिपुलेक भारत कै हो भन्ने आधार त्यही नक्सालाई बनाईयो । तर लिपुलेक हाम्रो हो भनेर नेपाल सरकार कहीँ कतै बोलेको पाइँदैन ।
आजसम्म मान्दै आएको नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग कि.मि. हो । तर हालसालै निकालिएको सरकारी तथ्यांकनुसार नेपालको कुल भूभागको क्षेत्रफल १ लख ३७ हजार १ सय ३२ दशमलव ०३५ वर्ग कि.मि.देखाइएको छ । अब प्रश्न उठछ १० हजार १८ दशमलव ९६५ वर्ग कि.मि. नेपाली भूभाग खोई ? विश्लेषकहरु भन्छन यो अनुपातको भूभाग भनेको १४ वटा सिंगापुर देश जत्रो भूभाग हो । हामी फेरि प्रश्न गर्छौं । हाम्रो १४ वटा सिंगापुर खोई ?
भारतसँग हाम्रो २६ जिल्लाको सीमा जोडिएको छ । २६ मध्ये २१ जिल्लामा भारतसँग हाम्रो सीमा विवाद छ । २१ जिल्लाका ७२ स्थानमा ६० हजार हेक्टर हाम्रो भूभाग भारतले जबर्जस्त मिचेको छ । सीमा जोडिएकामध्ये १८ जिलामा ४ सय ७४ वटा सीमा स्तम्भ भारतले गायब पारेको छ । सीमा जोडिएका १८ जिल्लामा नेपालले ४५ सय सेना राख्दा भारतले ४५ हजार सेना राखेको छ । यसबारे हाम्रो सरकार खोई कुन ठाउँमा कहिले के बोल्यो ?
यसरी धाकधम्की निकै ठूलो, हिँडने बेला खुट्टा लुलो भने झैं जनतालाई दुई तिहाईको दम्भ देखाउने प्रतिक्रियावादी के.पी र पी.के सरकार काला ब्यापारी, तस्कर, भ्रस्टाचारी, हत्यारा, बलात्कारी तथा विस्तारवादी, साम्राज्यवादीहरुसंग लाचार, निकम्मा र निरीह बनेको छ । तसर्थ वर्तमान प्रतिक्रियावादी के.पी र पी.के सरकारको लाचारीपना, निरहिता, नपुंसकतालाई आमजनता माझ पर्दाफास गर्न, उसको राष्ट्रघात, जनघातको विरोध गर्न र उसको कथित कम्युनिस्ट आवरणलाई च्यातेर भण्डाफोर गर्नका निम्ति असोज २३ गते देजमो, काठमाडौँ र क्रान्तिकारी युवा लिग काठमाडौँले कालो मार्चपास आयोजना गर्दैछ ।
त्यस्तै एकातिर के.पी. र पी.के हरु प्रतिक्रियावादी सत्ताको मालिक भएको र दम्भ प्रदर्शन गरिरहेको अवस्था, अर्कोतिर गद्दारीको कारण क्रान्तिले गम्भीर धक्का खाएर क्रान्तिकारीहरु कम्जोर देखिएको अवस्था हो । यो अवस्थामा सबभन्दा ठूलो हतियार विचार हो । शक्तिको स्रोत जनता हो भन्ने मर्म जनतालाई बुझाउँदै निराशा चिर्ने र आत्माबलको विकास गराउने उद्देश्यले पनि कालो मार्चपास को आयोजना गरिएको हो ।































