काठमाडौं । दसैंतिहार नजिकिदै जाँदा पनि श्रम विभागमा विदेशिने युवाहरुको लाइनमा कमी देखिएन । बरु लाइन अझ बाक्लो र लामो पनि देखियो । विदेश गएकाहरु घर फर्किएर आफ्ना आफन्तसँग सुखदुःख बिसाउने बेला बाध्यताले विदेशिने हजारौं युवाहरुको लामो लाइन कम अत्यासलाग्दो छैन ।
विदेशिनका लागि पनि निकै कष्ट झेल्नु पर्छ । पहिलो कुरा त जानका लागि तयार हुनुपर्यो । पासपोर्ट बनाउनु पर्यो । त्यसका लागि पनि सदरमुकामसम्म पुग्न रकम चाहियो । कागजपत्र बनाउँदा पनि पैसा नै खर्च गर्नु पर्ने भयो । पासपोर्टको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्नुपर्यो । बास बस्यो होटेलमा । सबै पैसाको खेल !
त्यसपछि ऋण काढ्नका लागि साहु खोज्नुपर्छ । घरजग्गा बन्धक राखेर ऋण लिनका लागि स्थानीय सहकारीहरु तथा वैंकहरु धाउनु पर्छ । पत्याउने कति हो थाह हुँदैन । तर विदेश जानका लागि भनेपछि चर्को व्याजमा ऋण पाइन्छ । साहुबाट काढियो भने मैनेठेकी र कोशेली दिने कबोलका साथ लिनुपर्छ ।
त्यसपछि खोजी हुन्छ दलालको । दलालले आफूसम्बद्ध कम्पनीमा सम्पर्क मिलाउँछ । दलाललाई दुख गरे वापत नजराना चढायो । त्यसपछि फेरि म्यानपावरको ड्रयागनजस्तो बायको मुखमा पस्यो । त्यहाँबाट महिनौपछि भिसा लागेको खबर आउँछ । लाखौं पैसा बुझायो । बाँकी शरीर बन्धक राखे झैं गरी विदेश उड्यो, भारी मन लिएर ।
गाउँघरमा रमाउने यो बेलामा विदेशिने युवाहरुको ताँती कम विरक्त लाग्दो छैन यो श्रमविभागको अगाडि । तर रेमिटेन्सले पालिएका राष्ट्रपतिहुँदै प्रधानमन्त्री र सांसदहरु, कर्मचारीहरु, पुलिसप्रशासन तथा ठेकेदार र विचौलियाहरु विदेशिएका र विदेशिन तयार युवाहरुको पसिनामा वियर, भोड्का र खुकुरी रमका बोत्तलहरु फोडिरहेका छन् । भारतबाट ल्याइएका बोकाखसी तथा तिब्बतबाट ल्याइएका च्याङग्राको सपेटाले दाँत माझ्ने तयारी गरिरहेका छन् ।
उफ्, यो कस्तो विडम्वना नेपाली युवाहरुको ! शरम नभएको श्रम !!