देजमो र अनेमसंघ (क्रान्तिकारी) कास्कीद्वारा मानवताविरोधी अपराध गर्नेलाई कडा कारबाही गर्न माग 

देजमो र अनेमसंघ (क्रान्तिकारी) कास्कीद्वारा मानवताविरोधी अपराध गर्नेलाई कडा कारबाही गर्न माग 

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कास्की र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा बलत्कार र हत्यालाई मानवताविरोधी अपराधको संज्ञा दिंदै त्यस्तो अपराधमा संलग्न अपराधीहरुमाथि कडा कारबाही गर्न सरकारसित जोडदार माग गरेको छ ।  ११ आश्विनमा दुवै संगठनको संयुक्त रुपमा बसेको बैठकले गरेको निर्णय अनुसार देजमोका जिल्ला अध्यक्ष भोजराज त्रिपाठी र अनेमसंघ(क्रान्तिकारी)की अध्यक्ष उर्मिला श्रीस मगरले जारी गरेको वक्तव्यमा कालाबजारी, भ्रष्टाचारी र भू–माफियालाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँदै महंगी नियन्त्रण गर्न समेत माग गरिएको छ । 

वक्तव्यमा दुवै संगठनको संयुक्त बैठकले असोज ८ गते साँझ पोखरा २२ पुम्दी भुम्दी निवासी बालिका श्रेया सुनारको बलत्कार गरी विभत्स तवरले हत्या गरेर झाडिमा फ्याँकिएको, केही दिन पहिले पोखरा लामाचौर निवासी विध्यार्थी पुष्पा केसीलाई पनि बलत्कार गरी हत्या गरेर फ्याँकिएको घटनाले जनतामा सन्त्रास फैलिएको, हालै वृद्धि भएको बजार भाउका कारण एकातिर जनताले आफ्ना दैनिक उपभोग्य वस्तु खरिद गर्न नसक्ने र अर्कोतिर माफिया र कालाबजारीहरुले लुट मच्चाएको अवस्था, समाजका हरेक क्षेत्रमा बढ्दै गएको भ्रष्टाचारका कारण जनताले राज्यबाट पाउनुपर्ने सेवा र सुविधा एकादेशको कहानी बन्न गएको, चाडपर्वको मुखमा सरकारले यातायातमा सेवामा १० प्रतिशत भाडा वृद्धि गरेर जनतालाई थप महंगीको भार बोकाएको र कास्की जिल्लामा सार्वजनिक सम्पत्ति राजनीतिक पार्टीका पहुँचवाला व्यक्तिहरुले कर्मचारीहरु समेतको मिलेमतोमा आफ्नो नाममा दर्ता गर्ने गरेको लगायतका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उल्लेखित घटनामा संलग्न दोषीहरुलाई कारबाही गरी जनतामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।