ओली सरकार र राष्ट्रिय स्वाधीनताको प्रश्न

प्रकाशित मिति : २०७५ आश्विन १०

- मोहन वैद्य ‘किरण’

संघीय निर्वाचनको वरिपरिदेखि वाम नामको गठबन्धनमा देखा परेको जनताका आकर्षण ह्वात्तै घटेर गएको छ । सरकार गठनका पाँचछ महिनामा यसको साख आश्चर्यजनक रुपमा स्खलित हुँदै गएको छ । समाजवादको निर्माण गर्ने वाम भनिएको सरकारलाई जनताले नै यो कस्तो खालको सरकार हो भनेर प्रश्न गर्न थालेका छन् ।

भ्रष्टाचार निकै बढेर गएको छ । तस्करी चरम रुपमा बढेर गएको छ । सुनकाण्डमा साना माछा र ठूला माछाका कुरा निकै गरिएका थिए । तर ठूला माछा अझैसम्म समातिएका छैनन् । बलात्कार र हत्याका कुराहरुले सीमा नाघेका छन् । महङ्गी चुलिएको छ । सिण्डिकेटका सामु सरकारले घुँडा टेकेको छ । ठेकेदारहरुका अगाडि सरकार निरीह छ । यसले गर्दा यो संसदवादी सरकारले देखाउन खोजेको वामपन्थी ढोंग र समाजवाद निर्माणको ढोंग समाप्त हुँदै गएको छ ।

हामीले जनताका माझमा भन्ने गरेका थियौं कि यो न त कम्युनिस्ट सरकार हो, न त वापन्थी नै । बरु यो दलाल तथा नोकरशाही सरकार हो । यो प्रतिक्रियावादोन्मुख छ । आज आएर पाँचछ महिनाका बीचमा यो कम्युनिस्टको सरकार पनि नभएको, वामपन्थी पनि नभएको पुष्टि भएको छ । यो ढाँट, छली र कपटीहरुको सरकार भएको पुस्टि हुन गएको छ ।

देशको स्वाभिमानको कुरा गर्ने हो भने लाजमर्दो अवस्था सिर्जना भएको छ । नेपाली हामी सबैले बुझेका र हेरेका पनि छौं कि हाम्रो दार्चुला जिल्लामा पर्ने कालापानी नेपालको हो । तर यो सरकारले कालापानी नेपालको हो कि होइन थाहसम्म पाएको रहेनछ । सरकारले भारतबाट पठाएको आफ्नै देश नेपालको कालापानी भारतमा पारेको नक्सा देशभर टाँग्न लगाएको छ । त्यही नक्सा नै आफ्ना मातहतका सरकारी कार्यालयहरुमा प्रयोग गरिरहेको छ ।

भारतीयहरुले बनाएको नक्सामा लिम्पियाधुरादेखि लिपुलेकहुँदै कालापानीसम्मको सम्पूर्ण भूभाग भारतको नक्सामा राखिएको छ । तर नेपाल सरकार आफूले बनाएको नक्सा नै छैन । हामीले संविधानको निकै कुरा गर्ने गरेका छौं पनि तर एउटा कुरा के छ भने यो संविधानमा नेपालको सीमारेखाबारे कुनै पनि कुरा उल्लेख गरिएको छैन । विना सीमारेखाको देश संभव छ ? यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने गरेका छन् । तर यो उत्कृष्ट संविधानमा आफ्नै देश नेपालको नक्सा राखिनु पर्छ कि पर्दैन ? नेपालको नापी विभाग र भूमिसुधार मन्त्रालय के काम गरेर बसिरहेको छ ?

नक्सा भारतले पठाएको प्रयोग गरिहेको छ सरकारले । नेपालका सबै सरकारी कार्यालयहरुमा, विद्यालयहरुमा, पाठ्यक्रम, पाठ्यपुस्तकहरुमा र सार्वजनिक स्थानहरुमा भारतले पठाइदिएको नक्शा नै प्रयोग गरिरहेको छ वर्तमान सरकार । अहिले सरकारी कार्यालयहरुमा आधिकारिकरुपमा प्रयोग गरिरहेको निशान छापमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नै गायब पारिएको छ । यस्तो छ हाम्रो देशमा सरकारी निशान छाप !

भारतले नेपालका भूभागहरु लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता, महेशपुर, प्यारानाला, भादानाला, तिलाठीहुँदै पूर्वको पशुपतिनगरसम्म अतिक्रमण गरेको छ । तर यो सरकार चूप लागेर बसिरहेको छ । प्राकृतिक स्रोतसाधनहरु सबै भारतलाई बेच्ने काम भइराखेको छ । देशमा आज युवाहरुको अधिकांश हिस्सा विदेश पलायन भइरहेको छ । युवाहरु त विदेशिए तर देशको सरकार पनि ती युवाहरुको तलब काटेर पठाएको रेमिटेन्सले बाँचिरहेको छ ।

आज देशको अवस्था निकै जटिल छ । हामी विद्यार्थी साथीहरुले हाम्रा विगतका गौरवमय इतिहासहरु हेर्नु र पुनरावलोकन गर्नु जरुरी छ । किनकि देश जटिल समस्यामा फसेका बेला विद्यार्थी आन्दोलनहरुले यसका समस्याका गाँठाहरु संघर्षका माध्यमबाट फुकाउने गरेका छन् । २०२६ सालतिर विद्यर्थीका सशक्त आन्दोलनहरु हुने गरेका थिए । त्यसै गरी २०३६ सालमा विद्यार्थीको गौरवमय आन्दोलन उठान भएको थियो । यसले तात्कालिन निरंकुश पञ्चायती व्यवस्थालाई जनमत संग्रहमा जान बाध्य गराएको थियो ।

अहिले यो संकटको अवस्थामा केही विद्यार्थी साथीहरु मन लागेर वा नलागेर पनि वर्तमान दलाल तथा नोकरशाही सरकारका पछि लागेका छन् । केही विद्यार्थी साथीहरु नयाँ आन्दोलन उठानको तयारीमा छन् । विद्यार्थीमा पनि टुटफुट छ । यो बेलामा परेको राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरुमा सबैको ध्यान, प्रयत्न र संकल्प एकै ठाउँमा गराउन सकिएको छैन । यसका लागि नवयुवा विद्यार्थीहरु गम्भीर बन्न जरुरी भएको छ ।

देशलाई संघीय भनी नामाकरण गरिएको छ । तर उत्पीडित जातिहरुका हक अधिकारहरु कतै पनि दिइएको छैन । जनसमुदायका हकहितहरुलाई कुण्ठित गरिएको छ । यस्तो बेलामा विकास र समृद्धिका ढाँट कुरा गरेर हुन्छ ? देशका प्राकृतिक सम्पदाहरु भारतलाई बेच्ने, युवाहरु विदेश पलायन गराउने, सामान्य काममा पनि दक्ष जनशक्ति विदेशबाट भित्र्याउने, कमिसन, घुसखोरी, दलाली, माफियागिरी तथा तस्करीलाई बढावा दिने, अनि कसरी हुन्छ देशमा समृद्धि र विकास ?

अब यी सारा समस्याहरुको समाधानका लागि एउटा आँधी, हुरी र तुफानको जरुरी छ । तपाई युवाहरु आन्दोलन उठानमा लाग्नुस् । हामी पनि पार्टीको तर्फबाट आन्दोलन उठानको तयारी गर्छौं । किनकि नेपालमा एक वर्गको अन्त्य गरेर अर्को वर्गको राज्यसत्ता स्थापना गरिने आमूल परिवर्तनकारी क्रान्ति सम्पन्न भएकै छैन ।

हामीले गरेको दश वर्षको जनयुद्ध यही आमूल परिवर्तनका लागि गरेका थियौं । तर यसले जब प्रतिफल हात पार्ने बेला भयो, त्यो बेलामा गम्भीर खालका षड्यन्त्रहरु भए । हामीले निकै विश्वास गरेको नेतृत्वले धोखा दियो । कुनै बेलामा निर्माण भएको नायक अर्को बेलामा खलनायकमा रुपान्तरण हुनु हाम्रा लागि गम्भीर पाठ हो । यसलाई आत्मसात् गरेर अघि बढ्नु जरुरी छ ।

इतिहासमा एउटा गम्भीर खालको धोखा भएको छ । हामी घुमिफिरी रुम्जाटार भने झैं यही संसदीय व्यवस्थामा आउनका लागि जनयुद्ध लडेका थिएनौ । यो बेलामा दृढतापूर्वक उभिएर फेरि अघि बढ्नुको विकल्प नै छैन । हामीले सच्चा क्रान्तिकारीहरुलाई गोलबन्द गरेर अगाडि बढ्ने प्रयासहरु गरिरहेका छौं ।

(अनेरास्ववियु (क्रान्तिकारी) को यही असौज ९ गते कीर्तिपुरमा सम्पन्न दोस्रो राष्ट्रिय भेलामा अभिव्यक्त संवोधन भाषणको संपादित अंश)