काठमाडौं । यातायात व्यवसायीहरुले दशैंको मुखमा आएर भाडा वृद्धि गरेका छन् । सरकार र यातायात व्यवसायीबीचको वार्तामा यातायात व्यवसायीले आफ्नो हात माथि पारेका हुन् । यसको मार यात्रुहरुमा प्रत्यक्ष रुपमा पर्न पुगेको छ ।
विभिन्न विकल्पहरु राखेर यातायात व्यवसायीहरुले सरकासँग आफ्ना मागहरु राखेका थिए । ती विकल्पहरुमा यात्रुसँग सम्बन्धित मागमा पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने प्रमुख माग थियो । सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार भएन, बरु उल्टै १० प्रतिशत भाडा बढाउन सहमत भयो ।
सरकारले अहिलेसम्म पटकपटक गरी दजैनौं निर्णयहरु गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । जनताका लागि कुरा गर्दा सरकार निकै जनपक्षीय भएको कुरा गरिहने तर व्यवहारमा भने जनविरोधी कामकारबाहीहरु गरिरहने भएकाले जनतामा सरकार प्रतिको विश्वास र आस्थामा निकै ह्रास आउँदै गएको छ ।
यातायात व्यवसायीहरुले भन्ने गरिरहेका छन् यदि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने हो भने उनीहरु तदनुरुप भाडा समायोजन गरी घटाउन तयार छन् ।