वर्षेनी १ करोड ७५ लाख मानिस मर्छन् मुटु रोगबाट

काठमाडौं । पछिल्लो स्वास्थ्य सर्भेअनुसार विश्वमा १ करोड ७५ लाख मानिसहरु मुटु रोगका कारणले वर्षेनी मर्ने गरेका छन् । मुटु रोगको कारणबाट मृत्यु हुनेमा विकसित र विकासशील देशहरुमा त्यति फरक देखिदैन । विकासशील देशमा सन्तुलित आहाराको कमीले र विकसित देशहरुमा अस्वस्थ खानपिन आदिका कारणले मुटु रोगमा बढोत्तरी भएको देखिएको छ ।

सर्भेअनुसार मुटु रोगको मुख्य कारण शारीरिक निस्कृयता नै हो । यसको अर्थ शरीरले अस्वस्थ खानपिन, आहारबिहारमा अनियमितता, अनावश्यक महत्वाकांक्षा आदि शारीरिक तथा मानसिक कुराहरुले प्रभाव पार्ने गरेका छन् । पछिल्लो चरणको आँकडा अनुसार ‘स्लो हर्ट अट्याक’ ले निकै सताउने गरिएको पाइएको छ ।

नेपालमा लगभग ४० प्रतिशतले धुम्रपान गर्ने गरेको पाइएको छ । धुम्रपान मुटुरोगका कारणहरुमध्ये एक प्रमुख कारकका रुपमा लिइन्छ । अल्प विकसित अवस्थामा रहे पनि करिब २० प्रतिशतमा शारीरिक निस्कृयता रहेको भेटिएको छ । अत्यधिक बाहन वा साधनहरुको प्रयोग गर्ने र हिंड्न नरुचाउने यसको कारक बन्ने गरेको छ ।

आन्तरिक र शारीरिक रुपमा पनि नेपालीहरु कमजोर र रोगले ग्रस्त पाइएका छन् । यसको मुख्य कारण आहार बिहारमा आएको परिवर्तनलाई लिइएको छ । नेपालीको पछिल्लो चरणमा भएको जीवनशैलीमा परिवर्तनलाई स्वास्थ्य विशेषज्ञहरुले निकै गहिराइका साथ नियालेर हेरिरहेका छन् । सुगर वा चिनी रोग एक प्रकोपका रुपमा नेपालीहरुमा बढिरहेको पाइएको छ । यी त मुटुरोग बढाउने कारक मात्र भए ।

तर मुटु रोगबाट बच्नका लागि नियमित चेकजाँचका साथै सन्तुलित र नियमित आहार बिहार नै प्रमुख कुरा हो ।