
काठमाडौं । प्रगतिशील लेखक संघ नेपालमा एक पटक फेरि विचार बहसको आवश्यकताको जरुरी छ । यो समय र परिस्थितिको माग पनि हो । प्रलेसले अफ्नो जीवनको ६६ औं वसन्त पनि पार गरिसकेको छ । उपरिसंरचनामा यो वा त्यो नयाँ टोपी र अनुहारहरु फेरेर मात्र यसमा गति आउने पनि देखिदैन । वा, यसलाई विघटन गरौं न त हाइसुख्खै ! यसो भनेर विचारबाट सात कोश भागेर रविन्सन क्रुसोको जस्तो एक्लो हुने गरी भगौडाको जीवन जीउन पनि त संभव छैन ।
तर एउटा सत्य कुरा के हो भने वर्तमानमा तीव्रतर रुपमा आइरहेको विचार स्खलन, आत्मसमर्पण, विघटन, पलायन र चरम व्यक्तिवाद तथा अराजकताको डरलाग्दो प्रभाव प्रलेसजस्ता साझा चौतारीमा पर्नु स्वभाविक नै हो ।
आग्रह, पूर्वाग्रह, कुण्ठा र हीनताबोधका कुरा एकक्षणका लागि सरक्क पन्छाएर सोच्यौं भने प्रलेसका गतिशील संस्थागत जीवनका ६ दशकहरुको लामो यात्रा खोतल्नै पर्दछ । यति लामो यात्रा कुन विचार र प्रेरणाले हाँक्दै ल्यायो ? आज के भयो र चक्काजाम भएजस्तो भयो ? फलाना थियो वा म थिए र पो हाँकिएको थियो भनेर कसैले भन्नु त के सोच्ने सम्म गर्यो भने प्रलेसको चक्का जामको पहिलो भाइरस यही सोच र चिन्तन नै हो ।
प्रलेसमा प्रगतिशील फाँटका लेखक, सर्जक, विचारक, चिन्तक र कतिपय त प्रजातान्त्रिक व्यक्तित्वहरु पनि छन् । कतै न कतै यी सबैको मेल पनि होला र अन्तर विरोध पनि । किनकि यो साझा चौतारी हो । त्यसैले प्रलेसमा उठेको बहस व्यक्ति विशेषको स्वार्थ, चासो वा ध्येयका लागि होइन । यो बहस अब प्रलेस यथास्थितिवादी लेखक संघ (यलेस) हुने कि प्रगतिशील लेखक संघ (प्रलेस) नै हुने ?
प्रलेसको स्थापना, उद्देश्य र यसको संस्थागत जीवन ‘कला कलाका लागि होइन’ । बरु कला प्रगति र परिवर्तनका लागि हो । नयाँ जीवन, नयाँ संस्कार, नयाँ सोच चिन्तन र नयाँ संसार निर्माणका लागि हो । त्यसैले वर्तमान निरस, भद्दा र यथास्थितिको आहालबाट यसले वैचारिक पुनर्ताजगीको माग गरेको छ । व्यक्ति विशेष कसका स्वार्थ कहाँ जोडिएका छन्, त्यो भिन्दै कुरा होला तर यदि प्रगतिशील लेखक संघ भन्ने संस्थाभित्र कतै ढुकढुकी भेटिन्छ भने त्यसलाई यथास्थितिमा श्वासफेर्न पनि त गाह्रो भएको छ होला, होइन र ?
सबैभन्दा पहिले प्रगतिशीलताको यो वैचारिक अक्सिजन दिन यसका संस्थापकहरु, निर्वाचित वर्तमान वा भूपू कार्यकारीहरु, अभियन्ताहरु, सदस्यहरु, समर्थक तथा शुभचिन्तकहरु तयार छन् ? कुरा यसैमा छ । आरोप प्रत्यारोपको कुरा त विचारसँग न जोडिएको हुन्छ । के मानव सबैभन्दा चेतनशील प्राणी हो भन्ने कुरा आफैमा राजनीति होइन र ? यथास्थिति नै सबैथोक भए चेतनशीलको ट्याग किन जरुरी त ?
त्यसैले के यसमा आवद्ध प्रगतिशील मनुवा जो विचारले बढी बाँच्छन्, बौद्धिक छन्, परिकल्पनाशील छन्, बन्धनरहित स्वतन्त्र संसार देख्छन्, आवश्यकताको संसारबाट पार पाउन सपना देख्छन्, ती यथास्थितिमा मात्र पेटका लागि बाँच्ने सामान्य प्राणीहरुभन्दा उच्च र प्रगतिशील भएको साझा संघ वा मञ्चलाई वर्तमान नेपालको सन्दर्भमा विचार भरेर आफ्नो हैसियत कायम गर्न सक्षम छन् त ?
































