मुखमा पट्टी बाँधेर गरियो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताविरुद्ध विरोध प्रदर्शन

मुखमा पट्टी बाँधेर गरियो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताविरुद्ध विरोध प्रदर्शन

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा आज प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताका प्रावधानहरुको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । मुखमा कालो पट्टी बाँधेर र प्रेस तथा स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्डसहित गरिएको विरोध प्रदर्शनमा अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंहलगायत जनपक्षीय पत्रकार, लेखक, कवि, साहित्यकार, बुद्धिजीवी, प्राध्यापक, कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

१ बजेदेखि २ बजेसम्म एक घण्टासम्म गरिएको विरोध प्रदर्शनमा विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको समेत राम्रो उपस्थिति रहेको थियो । विरोध प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको रक्षा गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिताभित्रका प्रावधानहरु खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर, विद्युतीय कारोबार ऐन लगाएर पत्रकारलाई हत्कडी लगाउने कार्य बन्द गर, पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर’ लगायतका मागहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

विरोध प्रदर्शनको अन्त्यमा आयोजक संगठनहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दै अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने गरी ल्याइएका मुलुकी संहिताभित्रका प्रावधानहरुलाई खारेज नगरेसम्म पत्रकार, लेखक, साहित्यकार, कवि, कलाकार, बुद्धिजीवी, प्राध्यापकहरुको विरोध जारी रहने बताए ।