अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आम नेपाली विद्यार्थीहरुको शैक्षिक हक, हित र अधिकारका लागि स्थापना गरिएको हो । यो संगठन विशेष गरी मजदुर, किसान र उत्पीडि वर्ग तथा समुदायका छोराछोरीको शैक्षिक अधिकारको पक्षधर संगठन हो । यो संगठन सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा क्रान्तिकारी विद्यार्थीहरुको साझा संगठनको रुपमा परिचित हुँदै आएको छ ।
२००६ सालमा गठन भएको अखिल नेपाल विद्यार्थी फेडेरेशनबाट सुरु भएको वामपन्थी विद्यार्थी संगठन २०२२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनहुँदै २०५२ सालमा अनेरास्ववियु (क्रान्तिकारी) बन्न पुगेको हो । २००६ सालदेखि २०७५ सालसम्म आइपुग्दा यो संगठनले विभिन्न आरोह अवरोहहरु पार गरेको छ । संगठनको नामको हिसाबले, त्याग, बलिदान र समर्पणको हिसाबले तथा राजनीतिक वैचारिक हिसाबले खारिदै, सुदृढ र परिस्कृतहुँदै आजको स्थितिसम्म आइपुगेको छ ।
त्याग, बलिदान र समर्पणको गौरवशाली एतिहास निर्माण गरिसकेको अनेरास्ववियु (क्रान्तिकारी) हजारौं वीर शहिद र बेपत्ताहरुको रगतले सिञ्चित संगठन हो । यो संगठन चिनियाँकाजी श्रेष्ठ, दिलबहादुर रम्तेल, बेनोज अधिकारी, विपिन भण्डारी लगायत शहीद तथा बेपत्ता योद्धाहरुको बलिदानबाट निर्माण भएर यहाँसम्म आएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन, दश वर्षे महान् जनयुद्ध, ०६२÷६३ को दोस्रो जनआन्दोलन लगायत सबै राजनीतिक परिवर्तनका आन्दोलनहरुदेखि लिएर शैक्षिक रुपान्तरण, राष्ट्रियताको आन्दोलन र सहज जनजीवीकाको लागि गरिएका सबै आन्दोलनहरुमा यो संगठनले अनवरत रुपमा नेतृत्व गर्दै आइरहेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेता संगठन हो । यो राजनीतिक विद्यार्थी संगठन हो । स्थापना कालदेखि नै यो संगठन वामपन्थी कम्युनिष्ट विचारधारा र पार्टीसँग सामिप्यता राख्दै आएको छ । कालक्रमसँगै यसले आफ्नो राजनीतिक तथा वैचारिक पक्षलाई पनि समय सापेक्ष परिमार्जित गर्दै लगेको छ । २०५२ सालमा आइपुग्दा यो संगठनले मार्क्सवाद, लेनिनवाद र माओवादको पथप्रदर्शक सिद्धान्तलाई पूर्ण रुपले स्वीकार गर्दै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई मातृपार्टी मान्यो ।
मालेमावाद वा माओवादले अनिवार्य मान्ने आधारभूत मान्यताहरु जनवादी केन्द्रीयता, वर्गसंघर्ष, बलप्रयोगको सिद्धान्त र सर्वहारावर्गको अधिनायकत्वलाई आत्मसाथ गर्दै यो संगठन अघिबढिरहेको छ । नयाँ जनवादी क्रान्ति मार्फत् सर्वहारा वर्गको राज्यसत्ता स्थापना भएपछि मात्र नेपालको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक लगायतका सबै क्षेत्रको आमूल परिवर्तन सम्भव हुन्छ भन्ने मूल मान्यताअनुसार यो एउटा विद्यार्थी संगठन हुँदाहुँदै पनि राज्यसत्ता परिवर्तनको संघर्षलाई मुख्य आन्दोलन मान्दै आएको छ । अहिले यो संगठन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को भातृ संगठन हो र यसले जनविद्रोह मार्फत् नयाँ जनवादी क्रान्ति पूरा गरी जनवादी सत्ता स्थापना गर्ने पार्टीको मूल उद्देश्यलाई आत्मसात गर्दै आफ्ना योजनाहरु अघि बढाइरहेको छ ।
शैक्षिक रुपान्तरण र शैक्षिक मुद्दाहरु उठाउने सवालमा पनि अनेरास्ववियु (क्रान्तिकारी) नै अब्बल संगठन हो । यसको मुख्य शैक्षिक मुद्दा नै नेपालमा जनवादी शिक्षा प्रणाली स्थापना गर्नु हो । नेपालको शिक्षा प्रणाली विभेदपूर्ण, अवैज्ञानिक, अव्यवहारिक र श्रमसँग नजोडिएको बुर्जुवा प्रणालीमा आधारित छ । यो शिक्षा प्रणाली नेपालको विशिष्टता अनुरुप, राष्ट्रवादी र समाजवादी छैन । यहाँ गरीब र धनीको लागि फरक फरक शिक्षा छ ।
हिजो नेपालको शिक्षा प्रणाली हिन्दू धर्ममा आधारित संस्कृत भाषाको वेद र पुराण पढ्ने शिक्षा थियो भने आज अंग्रेजी भाषामा दलाल पुँजीवाद र विस्तारवाद तथा साम्राज्यवाद पढ्ने शिक्षा छ । यहाँ नेपाली कला, संस्कृति, मौलिकता, राष्ट्रियता र श्रम तथा उत्पादनलाई प्राथमिकता दिने शिक्षा छैन । कुनै पनि देशको शिक्षा प्रणाली राज्यको मूल चरित्रसँग अभिन्न रुपले गाँसिने भएको हुँदा नेपालको सत्ताको चरित्र अनुसारको नै शिक्षा प्रणाली चल्दै आएको छ ।
१० वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन लगायतका क्रान्तिपछि नेपालमा जनताको राज्यसत्ता स्थापना हुने अपेक्षा गरिएको थियो । २०६४ सालमा गठन भएको पहिलो संविधानसभा षड्यन्त्रपूर्वक बिघटन गरिएपछि त्यो अपेक्षाको अन्त्य भयो । त्यसपछि दोस्रो संविधानसभा चुनावको मञ्चन गरियो । जसले प्रतिक्रियावादी दलाल संसदीय प्रणाली अंगीकार गर्ने संविधान बनायो । अहिले नेपालमा सोही अनुसारको राज्यव्यवस्था चलिरहेको छ । जसको नेतृत्व पूर्व एमाले र पूर्व माके मिलेर बनेको कथित वामपन्थी पार्टी नेकपाले गरेको छ ।
जनतालाई वामपन्थ, समाजवाद र राष्ट्रवादको भ्रममा पारेर दलाल पुँजीवाद, फासीवाद, राष्ट्रघात र माफियाकरणको राज चलाउन अग्रसर यो सरकार प्रतिक्रियावादी नयाँ संविधान कार्यन्वयनको चरणमा छ । केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारसम्म जनतालाई सुशासन, सेवा र समृद्धि दिने भन्दा पनि महङ्गी, भ्रष्टाचार, दलालीकरण र माफियाकरणलाई प्रश्रय दिने कार्यहरु भैरहेका छन् । सत्तामोह र अकुत सम्पत्ति आर्जन गर्न कुनै पनि कसुर बाँकी नराख्ने कथित जनप्रतिनिधिहरुले राष्ट्रियता, जनतन्त्र, जनजीवीका र विकासको काम गर्छन् भन्ने जनविश्वास गुमिसकेको छ ।
राज्यले अनिवार्य, निःशुल्क, समान र गुणस्तरीय विद्यालय शिक्षा तथा सर्वसुलभ र वैज्ञानिक उच्च शिक्षा प्रदान गर्नु पर्ने हो । तर राज्य शिक्षा नीतिविहीन छ । शिक्षा क्षेत्रमा व्यापक अराजकता, विकृति र विसंगतिहरु देखा परेका छन् । निजीकरण र व्यापारीकरणको नयाँ नयाँ संकरणहरु देखा परेका छन् । मन्टेश्वरीदेखि विश्वविद्यालय तहसम्म मनपरी चर्को शुल्क असुलिरहेका छन् । विदेशी लगानी र पाठ्क्रम मार्फत् नेपाली संस्कृति र राष्ट्रियता माथिको ठाडो हस्तक्षेप भएको छ । सरकार, शिक्षा मन्त्रालय एवम् सम्बन्धित निकायमा रहेका प्रधानमन्त्री, मन्त्री र उच्च पदस्तहरु यी तमाम विकृति र विसंगतीहरुलाई नियमन र नियन्त्रण गर्ने भन्दा पनि आफै शिक्षाको व्यापारी र माफिया बन्ने होडमा छन् । नेपालको शिक्षा क्षेत्र सम्पूर्ण रुपले दलाल, माफिया र साम्राज्यवादको नियन्त्रणमा छ ।
नेपालको विद्यार्थी आन्दोलन विभाजित, विकृत र दिशाहीन छ । कथित ठूला संगठनहरु दलाल पुँजीवादी व्यवस्था मान्ने दलहरु समर्थित छन् । उनीहरु आफ्नो मातृ पार्टी र सत्ताको तावेदारी गर्न मै व्यस्त छन् । शैक्षिक माफियाहरुसँग साझेदारी गर्ने, अविभावक र विद्यार्थीहरुलाई ठग्ने र भ्रमपूर्ण राजनीति मार्फत स्ववियु जित्ने र शैक्षिक संस्थाहरुलाई भ्रष्टाचारको अखडा बनाउने उनीहरुको भित्री उद्देश्य रहँदै आएको छ । क्रान्तिकारी विद्यार्थी आन्दोलन पनि टुटफुट र विभाजनले ग्रसित छ ।
जनयुद्धकालमा यसले सत्ता परिवर्तन र शैक्षिक रुपान्तरणको लागि ठूलो त्याग र बलिदान गर्यो । शैक्षिक क्षेत्रमा हुने विकृति र अराजकतालाई सुधार्ने काम पनि गर्यो । आम विद्यार्थीहरुको मन जित्न सफल भयो । र, बृहत आकार ग्रहण गर्यो । शान्ति प्रक्रियामा आएपछि २०६९ सम्ममा यो संगठनको सांगठनिक आकार विशाल बनेको थियो । माओवादी आन्दोलनका मूल नेतृत्व नवसंशोधनवाद र प्रतिक्रियावादको दिशामा गएपछि क्रान्तिकारी विद्यार्थी आन्दोलनका स्वार्थी समूह पनि त्यही दिशामा लागे । माओवादी केन्द्रले दलाल पुँजीवाद र त्यसको मालिक साम्राज्यवाद एवं विस्तारवादसँग घुँडा टेकेपछि उ संसदीय चुनाव मार्फत् सरकारमा पुग्यो । अन्ततः एमालेमा विलय भएपछि माओवादी केन्द्रको अवसान भयो । सोही क्रममा अनेरास्ववियु (क्रान्तिकारी) को त्यो स्वार्थी समुहको पनि एमाले अखिलसँग विलयहुँदै अवसान भएको छ ।
हामीले अनेरास्ववियु (क्रान्तिकारी), यसको क्रान्तिकारी विचारधारा तथा जनवादी शिक्षा प्राप्तिको मूल उद्देश्यलाई बचाएका छौं । हामीले आफ्नो ल्याकतअनुसार संघर्षलाई अघि बढाइरहेका छौं । राष्ट्रियताको सवालमा खुलेर संघर्ष गर्ने विद्यार्थी संगठन हाम्रो अनेरास्ववियु (क्रान्तिकारी) मात्र हो । लिपुलेकमाथि हस्तक्षेप हुँदा हामीले देशव्यापी लिपुलेक बचाउ अभियान चलायौं र लिपुलेकको पिलर नं. १ सम्म पुगेर राष्ट्रिय झण्डा फहरायौं । संयुक्त राष्ट्र संघको ध्यानाकर्षणसम्म गर्यौं । छपकैयामा सीमा मिचिदा हामी त्यही पुगेर मार्चपास गर्यौं । कञ्चरपुर र दार्चुलामा सीमा बचाउ अभियान चलाइरहेका छौं ।
भारतीय प्रधानपन्त्री नरेन्द्र मोदी विवादित अरुण तेस्रो सिलन्यास गर्न नेपाल आउँदा हामीले अनसन र कालो झण्डाले विरोध गर्यौं । भारतले गरेको नाकाबन्दी तथा जलस्रोतमाथिको अतिक्रमणको विरुद्धमा विरोध प्रदर्शनहरु गर्यौं र नेपाल सरकारलाई समस्या समाधानको लागि दबाब दियौं । नेपाली नेताहरु र प्रधानमन्त्रीहरुले भारत एवम् अन्य राष्ट्रहरुसँग गर्न सक्ने र गरिएका राष्ट्रघाती सम्झौताका बारेमा सजग गराउने र विरोध गर्ने कार्य सचेततापूर्वक गर्दै आएका छौं ।
शुल्क वृद्धि र मुल्य वृद्धिको विरुद्धमा हामीले एकल र संयुक्त रुपमा सडक संघर्ष गर्यौं, गरिरहेका छौं । सरकारले लिने जनविरोधी कदमहरुविरुद्ध हामी सधै आन्दोलित छौं । महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, विद्यार्थीमाथि हुने सबैखाले ज्याजतिविरुद्ध आवाज बुलन्द गर्ने अनेरास्ववियु (क्रान्तिकारी) नै पहिलो पंक्तिमा हुने गरेको छ । डा. गोविन्द के.सी. ले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधारको निम्ति गरेको सत्याग्रहदेखि जनसमुदायले उठाएका न्यायपूर्ण संघर्षहरुमा हामीले सधै साथ दिएका छौं । सरकारी, सामुदायिक मावि, त्रिवि, सीटीइभीटी, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुको स्तरोन्नति र सुधारका निम्ति हाम्रो संगठनले मागपत्रहरु बुझाउन र सृजनात्मक संघर्षहरु सञ्चालन गर्दै आइरहेको छ । नेपाल सरकारको शिक्षा मन्त्रालयलाई मागपत्र बुझाइएको छ र सबै स्थानीय निकायहरुलाई मागपत्रहरु बुझाउने क्रम जारी छ ।
अनेरास्ववियुु (क्रान्तिकारी)ले पाँच महिने संगठन विस्तार तथा विद्यार्थी परिचालन अभियान पूरा गरेको छ । अभियानले देशव्यापी संगठन विस्तारलाई जोड दिएको छ । कैयौं जिल्ला भेला, सम्मेलनहरु सम्पन्न भइसकेका छन् भने बाँकीमा तयारी भैरहेको छ । मावि तह, क्याम्पसहरु र विश्वविद्यालयहरुमा इकाई गठन र पुनर्गठनका कार्यहरु चलिरहेका छन् । हामी यही २०७५ असोज ९ र १० गते संगठन केन्द्रको विशेष राष्ट्रिय भेलाको तयारीमा छौं ।
भेला मार्फत हामी संगठनको नयाँ नेतृत्व टिम निर्माण गर्ने छौं, राजनीतिक वैचारिक तहमा थप स्पष्टता गर्ने छौं, उठान गर्नुपर्ने मुद्दाहरु संकेन्द्रित गर्ने छौं र संघषको प्रारुप तयार गर्ने छौं । क्रान्तिकारी विद्यार्थी आन्दोलनको अबको संघर्षको बाटो निकै जटिल र चुनौतीपूर्ण छ । त्यो संघर्षको रुप सत्ता परिवर्तनको लागि गरिने नयाँ जनवादी क्रान्ति र जनवादी शिक्षा प्राप्तिको लागि गरिने वर्ग संघर्षको रुप हुनेछ । त्यो भनेको अहिलेको सन्दर्भमा जनविद्रोहको प्रारम्भको रुप हुने छ । त्यसैले अब हामी क्रियात्मक तथा प्रतिरोध संघर्ष सुरु गर्न सम्पूर्ण हिसाबले तयार हुनुपर्ने बेला आएको छ ।
वर्तमान सत्ता र सरकार दलाल, पुँजीपति र माफियाहरुले पालितपोषित छ । सत्तासीनहरु तिनैको स्वार्थअनुसार चलेका छन् । साम्राज्यवाद र विस्तारवादको स्वार्थविपरीत यो सरकार र संसदमा प्रतिनिधित्व गर्ने दलहरु जाँदैनन् । यो सरकार बनेको ६ महिनाको समयमै उसको शैली र चरित्र प्रष्ट भैसकेको छ । उसले फासीवादी र हुकुमी शासन लाद्न सुरु गरिसकेको छ । त्यसैले हाम्रो संघर्षको रुप पनि यी सबै जनविरोधी, राष्ट्रघाती र फासीवादी तत्वहरुलाई पत्तासाफ पार्ने संघर्ष हुनु पर्दछ । त्यसको नेतृत्व क्रान्तिकारी युवा विद्यार्थीले लिने हो र त्यो जिम्मेवारी हाम्रो काँधमा आएको छ । त्यसैले, क्रान्तिकारी युवा विद्यार्थीहरुको अबको तत्कालिन संघर्ष सबै हिसाबले प्रतिरोध संघर्ष नै हो ।
(लेखक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव हुन् ।)