दसैँको लागि ४० अर्ब नयाँ नोट, एक व्यक्तिले २७ हजारसम्म साट्न पाउँने 

दसैँको लागि ४० अर्ब नयाँ नोट, एक व्यक्तिले २७ हजारसम्म साट्न पाउँने 

काठमाडौं, असोज २ । दसैँ तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले ४० अर्ब बराबरको नयाँ नोट वितरण गर्ने भएको छ । यसपालि पनि गत वर्षजस्तै राष्ट्र बैंकले तीन सरकारी बैङ्क, निजी क्षेत्रका बैङ्क र वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंक नोट व्यवस्थापन विभाग स्रोतका अनुसार केही दिनमै निर्णय गरी घटस्थापनालाई नजिक पारेर नोट वितरण गर्र्ने बताइएको छ ।

राष्ट्र बैंकले प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने जानकारी दिएको छ । यसैगरी ५, १० २० , ५० र १०० का नोटहरु सटही हुनेछन् । यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्दे आएको थियो । निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो सर्वसाधारणबाट आउन थालेपछि यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

नयाँ नोट सटहीका लागी नेपाल बैङ्कको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सुविधा लिन सकिन्छ । त्यस्तै राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ। साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ ।
२७ हजार नै नयाँ नोट साट्ने हो भने राष्ट्र बैङ्कमा नै जानु पर्नेछ । निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट वितरण गर्न राष्ट्र बैङ्कले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जानकारी दिएको छ । राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने जनाइएको छ । यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ ।