मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं प्रदेशले आज दिउसो ‘बेरोजगार युवाहरुलाई रोजगारी दे, नभए बेरोजगार भत्ता दे’ भन्ने मूल नारामा सहमत १५ हजार युवाहरुको हस्ताक्षरसहितको ज्ञापन पत्र मुख्यमन्त्रीलाई बुझाउँदैछ । लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकोटीको नेतृत्वमा सयांै युवाहरुको सहभागितामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको लिगका ३ नं. प्रदेशका फ्र्याक्सन इन्चार्ज तथा क्रान्तिकारी माओवादीका केस बसन्त बोगटीले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी युवाहरुले ज्ञापन पत्रसँगै विरोध प्रदर्शनको पनि तयारी गरेका छन् । ज्ञापन पत्र र विरोध प्रदर्शनका लागि लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन, फ्र्याक्सन इन्चार्ज बोगटी, पार्टी केस हरिकृष्ण गजुरेललगायतका युवा नेताहरु हेटौडा पुगिसकेका छन् । उनीहरुले विरोध प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ज्ञापन पत्रमा क्रान्तिकारी युवाहरुले प्रदेशभरि बेरोजगार अवस्थामा रहेका युवाहरुको तथ्यांक संकलन गरी रोजगारी दिनुपर्ने, नभए बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने, बैदेशिक रोजगारीमा जाने युवाहरुलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने, बैदेशिक रोजगारीमा गएका युवाहरुको विमा शुल्क ३५ लाख पु¥याउनुपर्ने, भ्रष्ट, सामन्त, तस्करहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने, बढ्दो महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, समाजिक रुपमा बढ्दो असुरक्षा, हत्या, हिंसा र बलात्कारका घटना घट्ने स्थितिको अन्त्य गरिनुपर्ने लगायतका मागहरु अगाडि सारेको बुझिएको छ ।
यसअघि क्रान्तिकारी युवा लिगले १, २ र ५ नं. प्रदेशमा युवामार्चपास सहित ज्ञापन पत्र बुझाइसकेको छ भने बाँकी प्रदेशमा पनि ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ ।