फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ

फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातिबाट लागू हुने गरि निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको हो ।

निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।

मूल्य बढाएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफा हुने प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको पेट्रोलियम पदार्थमा आएको उल्लेख्य मूल्य बृद्धि र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण भारतको इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर पठाएको थियो । त्यसै अनुसार नेपालमा पनि मूल्य बढाएको गोइतले बताए ।

अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर २८ रुपैयाँ ४४ पैसा सस्तो रहेको निगमको भनाइ छ ।