काठमाडौं । नेपालमा समाजवाद निर्माण गर्ने भन्दै डुक्राइरहेको वर्तमान ओली सरकार छोटो समयभित्रै नाङ्गेझार हुन थालेपछि अर्का नेता पुष्पकमल दाहाललाई दिल्लीले सिङ्गार्न थालेको छ । बिम्स्टेक शिखर सम्मेलनपछि भारतको पुणेमा भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजना गरिएको सैन्य अभ्यासमा नेपाली सेना केवल पर्यवेक्षकका रुपमा सहभागी भएपछि ओलीले धोखा दिएको भनी मोदीले आँखा तरेका थिए ।
यसैलाई शुभअवसर पारेर अर्का नेता पुष्पकमल दाहाल ओलीको विकल्पमा आफूलाई उभ्याउँदै निकै स्फूर्तिका साथ भारत भ्रमणमा निस्किएका थिए । उनलाई भारतका गन्यमान्यहरुले भेटेर उनको गिरेको साख बढाइदिने प्रयास पनि गरेका थिए । खान पाएपछि आशिष दिइहाल्ने दाहाल चलनलाई पुष्पकमल दाहालले निरन्तरता दिए । उनले मुख मिठ्याउँदै एस्डी मुनीलाई भन्न भ्याएका थिए– ‘उहाँको सहयोग नभएको भए म यो ठाउँमा उभिने हैसियतमा हुने थिएन ।’ यस अतिरिक्त भेटका क्रममा उनले पुणे सैन्य अभ्याससँग जोडेर प्रम मोदीलाई ‘कम्तिमा म भएको भए, त्यसो हुन दिने थिएन’ भनेर ओलीमाथि पनि कटाक्ष गर्न भ्याएका थिए । अन्तर्विरोधको ताज लगाउन रमाउने दाहाल छक्कापञ्जामा निकै प्रफुल्लित हुन्छन् ।
स्मरण रहोस् जनयुद्ध कालको उत्तरार्धमा दाहाल भारतमा गई आत्मसर्पण गरेको कुरा निकै उठेको थियो । तर दाहालले हजार होइन, लाख पटक कार्यकर्ता तथा जनतालाई ढाँट्दै दिल्लीलाई तथानाम गाली गरेको स्वाङ पारिरहेका थिए । दाहालको चाकरीमा उत्तराधिकारी बन्ने ध्याउन्नमा लागेका जनयुद्धका ‘दोस्रो पुस्ता’ भनिनेहरु पनि उनको नौटङ्कीलाई सही हो भन्दै मख्खट्वाँट पर्ने गरेका थिए ।
अहिले दाहाल भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीका केही गोप्य एजेण्डाहरु लिएर चीन पुगेका छन् । दिल्लीको त्यति काम गरिदिएपछि कसो प्रधानमन्त्री नबनाउला त भारतले भन्ने उनको भित्री इरादाले निकै उकुसमुकुस पारेर सताएको देखिन्छ । त्यसैले उनी गाउँघरमा भन्ने गरे झैं ‘आगो लिन आएको’ जस्तो गरी काठमाडौंमा नबिसाएर चीनतर्फ हन्निए ।
हुँडारले शिकार गर्नु अघि गर्ने हल्लाखल्ला मच्चाउँदै चीन भ्रमणमा निस्किए । तर उनले भनेको जस्तो न त चीनका राष्ट्रप्रमुखहरुसँग उनको भेटको तारतम्य मिलाइएको थियो, न त चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखहरुसँग नै । हल्ला गर्नु थियो पुग्यो । उनी चीनको स्वशासित प्रदेश तिब्बतबाट फर्कदै छन् ।
गाउँघरमा भन्ने गरिन्छ पनि ‘राम्रो मान्छे त्यसै राम्रो, नराम्रोलाई ठाँट’ । हाल विचार, आचरण, कामकार्य, विश्वास, सम्मान आदि सबै गुमाएका दाहाल कुरुप अनुहार लिएर भारतको ‘सुमेरु पर्वत परिक्रमा’मा लागिपरेका छन् । काठमाडौंको बानेश्वर स्थित सडकको भित्तामा लेखिएको देखिन्छ– ‘मेरो शरीर तिम्रो प्रयोगशाला होइन ।’ त्यहाँ एउटी नेपाली महिलाको प्रकृतिप्रदत्त सौन्दर्यसहितको फोटोको छेवैमा भारतीय लगायत पश्चिमा श्रृङ्गारका सामानहरुको चाङ लगाएर राखिएको छ ।
तर दाहाल आज तिनै भारतीय र पश्चिमा फेसवास, लाली, क्रिम, पाउडर, लिपिस्टिक, मोइश्चराइज आदि बनावटी र विदेशी श्रृङ्गार धमाधम दलिरहेका छन् । नेपाली शासकहरु विना मूल्य आफै बिक्रि गरिइँदै हिंड्ने कौडीका निकृष्ट बस्तुका रुपमा दरिएका छन् । ओलीको नाङ्गे बाबा र दाहालको प्रयोगशालाको रुप आज नेपालीका प्रतिनिधिमूलक अभिशप्त रुपहरु हुन पुगेका छन् ।
नेपाली जनस्तरबाटै लामो संघर्ष र असीम बलिदानपछि पनि नेपालीले भोग्नु परिरहेको यो कस्तो बिडम्वना !