अविभावकत्व प्राप्त गर्दा वर्गसंघर्ष प्रकाशमय देखिन्छ

अविभावकत्व प्राप्त गर्दा वर्गसंघर्ष प्रकाशमय देखिन्छ

जनयुद्ध गरेर घुमीफिरी उही संसदवाद आयो । विचारदर्शनमा सर्वहाराले वैचारिक अस्त्र र सर्वहारामा विचारदर्शनले भौतिक अस्त्र भेट्छ भनेको त भेटेन नि ?

इतिहासमा के देखिदो रहेछ भने जुन वस्तु बाहिर देखिन्छ, भित्र त्यो त्यस्तै हुँदो रहेनछ । त्यो पहिचान हुन नसक्दा पहिचान गर्न र ठम्याउन नसक्दा ती पात्रहरु वा नेतृत्वकर्ताहरु अथवा आन्दोलन आफैमा गलत ठाउँमा पुगेर समापन वा विसर्जन हुन पुग्दो रहेछ । हामीले संसारभरको इतिहासलाई नियालेर हेर्यौं भने सही विचारसँग वस्तुको प्रत्यक्षीकरण भयो भने मात्र यसले एउटा सही परिणाम देखाउँदो रहेछ ।

यदि त्यहाँनेर कहीं कतै गडबडी भयो भने इतिहासलाई यसले गलत मोड दिने गर्दो रहेछ । हेर्दा सोलोडोलो देखिने, राम्रो देखिने, लिपापोती देखिने कुराले गलत ठाउँमा लैजाँदो रहेछ । यसले सर्वहारा वर्गीय अन्दोलन गलत ठाउँमा पुर्याउँदो रहेछ । एसतहासको यो तीतो यथार्थ हो । नेपालमा पनि यो कुरा दोहोरियो ।

यो गडबडी हुन नदिन कसी के हो ? छ केही ?

यो त सामाजिक अध्ययन, इतिहासको पाठ, इतिहासको अनुभव अनि वस्तुवादी खोजबाट मात्र पत्ता लाग्छ । यदि हामीले कुनै वस्तुलाई हेरेर त्यसका अवयवहरुलाई मात्र केलाउन थाल्छौं भने त्यसले सत्यतातिर पुर्याउँदैन । हिजो पनि र आज पनि त्यसका परिव्यक्तिहरुका अध्ययन गर्न सकियो भने पछि मात्र त्यसलाई ठम्याउन पनि सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने मार्क्सवादी–लेनिनवादी–माओवादी विचारको आलोकबाट त्यसलाई हेर्ने, ठम्याउने र दिशा निर्धारण गर्ने पनि हो । मालेमावादी विश्व दृष्किोणलाई हामीले यसको मुख्य कसीका रुपमा लिनु पर्दछ । यो दृष्टिकोणकै आधारमा यो आन्दोलन, नेतृत्व, व्यक्ति, संघर्ष र सबै थोक ठीक छ वा छैन भनेर हेरिनु र जाँचिनु पर्छ । यसको विधि आफैमा द्वन्द्ववादी छ र यसले संसारलाई द्वन्द्वमय बनाएको पनि छ । समाज, व्यक्ति, संगठन, नेता, संघर्ष, आन्दोलन आदिको पहिचान त्यसैको आधारमा गरिनु पर्छ ।

नेपालको सन्दर्भमा यी बारेमा हामीले अधिभूतवादी दृष्टिकोण वा आंशिक वा अवयवमा ध्यान दिएका थियौं होला । यसैमा हामीमा गडबडी भयो होला । हामी कतै न कतै बढी प्रभावित भयौं होला पनि । यदि इतिहासका पात्रहरुको पहिचान हुन सकेन, नेतृत्वको पहिचान हुन सकेन भने मत संघर्षहरु, वर्गसंघर्षहरु, आन्दोलनहरु, जनसंघर्षहरुले परिणम प्राप्त गर्न सक्दैनन् र सकेनन् पनि ।

अथवा यो पनि हुन सक्छ कि नेतृत्व विचलित भयो, स्खलित भयो र क्षरित भयो । नेतृत्वको यो क्षरण हुने कुरा भने एकैचोटी हुने कुरा होइन । यो विस्तारै मन्दमन्द गतिमा हुन्छ । यो वैचारिक सुक्ष्मताको अभावमा हुने गर्दछ ।

आम जनताका कुरा के छन् भने शान्ति प्रक्रियामा आएर माओवादी सिद्धिए । कसो गरी बुझाउन सकिएला ?

यसलाई सामान्य जनताले पनि प्रयोगमा लिइरहेका छन् । वर्गसंघर्षबाट ऊ पनि टाढा त छैन । ऊ पनि वर्गसंघर्षमा हिंडिरहेको छ । जनताको एकखाले प्रवृत्ति त हुन्छ । उसले व्यवहारबाट मात्र थाह पाउने हो । वैचारिक रुपमा थाह पाउनेले पहिले नै थाह पाउँछ ।

इतिहासले पनि यही नै देखाउँछ । नेतृत्व विस्तारै वुर्जुवाकरण हुँदै जाने, वर्गोत्थान हुँदै जाने, स्खलित हुँदै जाने गर्दछ । जनताले यो विस्तारै बुझ्दै जान्छन् । वर्गसचेतले यो कुरा पहिले नै देखिसकेको र बुझिसकेको हुन्छ । यो एकै चोटी बुझ्ने हुँदैन ।

यसका पनि चरणहरु क्रमहरु हुने गर्दछन् । सुरुमा मानिसले निकै क्रान्तिकारी देख्छ, तर पछि आएर उही नै भागेर हराउन सक्छ । शान्ति प्रक्रियाले पो नेतृत्व सिद्धियो भन्ने कुरा दक्षिणपन्थी सोचको उपज हो । विचारमा नेतृत्व पहिलेदेखि नै सिद्धिइरहेको थियो । दक्षिणपन्थी सोचले खाल्डोमा नपुग्दासम्म देख्दै देख्दैन । यो भनेको उसको निम्नस्तरको चेतनाले गर्दा हो ।

सचेत मानिसले कारणबाट नै उसको कार्यलाई पहिल्यै ठम्याउँछन् । तर न्युन चेतना भएकाहरुले यो देख्दैनन् । कार्य भइसकेपछि मात्र थाह पाउँछन् । उनीहरुले नेतृत्व, संघर्ष र वर्गलाई चिन्न गाह्रो पर्छ ।

कसरी चिन्ने ?

वर्ग संघर्षको स्वरुप कहिले देखिने गरी आउँछ, कहिले नदेखिने गरी । विस्तारित भएको कोशी नदी सबैले देख्छन् । तर सेती नदी कमैले देख्छन् । तर गहिरिएर हेर्न थाल्यो भने देखिन्छ पनि ।

यसरी नै कसैका स्खलन र क्षयीकरण उसका गतिविधिमा देखिन्छ । व्यवहारमा देखिन्छ । आचरणहरुमा देखिन्छ । स्थुल छ भने देखिन्छ, तर सुक्ष्म छ भने देखिदैन । तीब्रता र मन्दतामा चलायमान हुन्छ वर्ग संघर्ष ।

संघर्ष कम हुँदै जाँदा संसार नै हरायो जस्तो लाग्न सक्छ । गति नै अवरुद्ध भयो जस्तो लाग्न सक्छ । तर त्यसो होइन । यस्तो अवस्था सधै रहिरहँदैन ।

वर्गसंघर्ष निरन्तर हुन्छ ?

वर्ग संघर्ष निरन्तर चलिरहन्छ । यसलाई पनि हेर्ने आँखा हुनु पर्छ । मार्क्सभन्दा अगाडि कसैले वर्गसंघर्ष देखेन । तर मार्क्सले देख्नु भयो । त्यसपछि लेनिन र माओले देख्नु भयो । किन त ? उहाँहरुमा विचार थियो । उहाँहरुले द्वन्द्वशील बस्तुहरु देख्नु भयो । र, वस्तुभित्रको गतिशीलता र प्रतिपक्षता देख्नु भयो ।

यसलाई उहाँहरुले संघर्षमार्फत् देखिने गरी ल्याउनु भयो । वर्गसंघर्ष समाजमा कहिले टुहुरो झैं भएर देखा पर्दछ, तर कहिले भने अविभावक बनेर देखा पर्दछ । अविभावकत्व प्राप्त गर्दा वर्गसंघर्ष चम्किलो भएर देखा पर्दछ । प्रकाशमय देखिन्छ ।