काठमाडौं । बाराको निजगढमा एक अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने गुरु योजना पर्यटन मन्त्रालयले अघि सारेको छ । विमानस्थल निर्माण हुनु राम्रो कुरा हो । तर विमानस्थल निर्माणको बाहनामा त्यहाँको पुर्ख्यौली रुखहरु लाखौंको सङ्ख्यामा काटिइँदै छन् । त्यो पनि राष्ट्रिय निकुञ्ज मासेर । यसमा दक्षिण एशियाकै वन माफियाको ठूलो चलखेल रहेको आशङ्का गरिएको छ ।

देशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विकल्पहरु खोजिदै जाँदा बाराको निजगढलाई प्राथमितामा पारिएको हो । आज भन्दा करिब २५ वर्ष पहिले नै यसलाई सर्वे अध्ययनका लागि एक कोरियन कम्पनीलाई दिइएको थियो । यो कम्पनीले अध्ययन पनि सकेको थियो । तर काम गरेन त्यसको कारण खुलाइएन ।

हाल एकमना वाम सरकार बनेपछि राष्ट्रिय गौरवका नाममा यसको चर्चा फेरि आएको छ । मध्यतराइमा पर्ने बाक्लो र घना जंगल भएको चारकोसे झाडी कटान गरेर विमानस्थल बनाउने कुरा अघि बढाइएको छ । वातावरण प्रभाव मूल्याङ्कन पनि राम्रो गरी गरिएको छैन ।

अर्को कुरा २५ वर्ष पहिलेदेखि विवादित र टुङ्गो नलागेको विषय हाल रातारात किन कार्यान्वयनको प्रक्रियामा ल्याइन थालिएको छ ? यो विषयमा जनता तथा स्थानीय सरोकारवालाहरु बढी चिन्तित छन् । यो चारकोसे झाडीमा रहेको झण्डै तीन लाख जति पुर्ख्यौली सालका रुखहरु, ७ लाख भन्दा बढी अन्य पुर्ख्यौली रुखहरु तथा अन्य साना ठूला गरी कूल २४ लाख रुखहरु काटिने भएका छन् । रुख काट्ने निर्णय पनि सरकारी स्तरबाट भइसकेको छ ।

तर आश्चर्यको कुरो त के छ भने विमानस्थल निर्माणका लागि डीपीआर तथा लगानी निर्णय नै भएको देखिदैन । त्यहाँ कम्तिमा पनि ६५६ मिलियन डलर खर्चहुने प्रारम्भिक अनुमान छ । तर यसको जोहो कसरी गर्ने र खर्च कसरी विन्यास गर्ने भन्ने हालसम्म अत्तोपत्तो नै छैन ।

निजगढ विमानस्थल नेपाल भारतको सीमाना नजिक पर्ने भएकाले नेपाल र भारत बीचमा अकाश वा हवाइ सम्झौता गरिनु जरुरी छ । त्यसको हालसम्म अत्तोपत्तो नै छैन । यो विमानस्थलबारे निर्णय र निर्माणमा भारतीय स्वार्थ सबैभन्दा ठूलो भएर आउने छ । ओली सरकारको विफलतामा यसले ठूलो काम गर्ने छ ।

अर्को कुरा, राष्ट्रिय निकुञ्जभित्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णय सही हो कि सन्काहा निर्णय ? यो सही दिमाग भएको मानिसले गरेको निर्णय हो कि कसैको स्वार्थसिद्धिका लागि प्रायोजित ? यसको अन्तर्राष्ट्रिय क्षेत्रबाट विरोध होला कि समर्थन ? फेरि विमानस्थल बनाउने भनिएको ठाउँ हात्ती, बाघ जस्ता लोपोन्मुख जनावरको तलमाथि गर्ने करिडोर पनि रहेको छ ।

यसका साथै विमानको चारैतिर निकासका लागि बाटोहरु खोल्दा कति जंगल मासिएला ? विमानस्थलको वरपर पक्कै पनि रेष्ट हाउसहरु, चमेना गृहहरु र केही ठूला लजहरु त बन्ने बनाइने होलान् नै । यसका लागि थप जंगल कति विनास गरिनु पर्ला ? यसको कुनै पूर्व लेखाजोखा र अनुमान पनि गरिएको छैन ।

यो विमानस्थल निर्माण कार्यमा नेपाली सेनालाई प्रयाग गरिने भनिएको छ । दक्षिण एशियाका नामुद वन माफियाहरुको चलखेलमा हुन लागेको यो वन फँडानीमा नेपाली सेनाजस्तो सुरक्षा पंक्तिलाई किन यसमा जोड्ने ? यसको पनि कुनै सफाइ वा जवाफ छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर