‘वामपन्थी’ भनेको ओली–दाहालले झुण्ड्याउने ट्याग मात्र हो

‘वामपन्थी’ भनेको ओली–दाहालले झुण्ड्याउने ट्याग मात्र हो

प्रतिष्ठानको सातौं प्राज्ञसभा भर्खरै सम्पन्न गर्नुभएको छ । प्रगतिका हिसाबले कस्तो अनुभूति भएको छ ?

प्रतिष्ठानको प्रगतिका हिसाबले सातौं प्राज्ञसभाले एक निश्चित कार्ययोजनालाई अनुमोदन गरेको छ । यसले वार्षिक कार्ययोजनाहरुलाई कार्यान्वयनका लागि अधिकार पनि प्रदान गरेको छ ।

यो बेलामा केही गुनासाहरु पनि आएका छन्, प्राज्ञिक कामहरु अघि बढाउन सकिएन भनेर । समस्या केले ल्यायो ?

हामीलाई भौतिक संरचना निर्माणका कामले अलि बढी व्यस्त बनायो । यसले गर्दा हामीले प्राज्ञिक कामहरु अघि बढाउन समय पाएनौं पनि । खास गरी वैचारिक उन्नयनका कामहरुलाई त्यति धेरै अघि बढाउन सकेनौ । यसमा थप विभिन्न कारणहरुले पनि भूमिका खलेका छन् ।

एउटा कुरा के हो भने हामीले विभिन्न कार्यक्रमहरु तर्जुमा गर्यौं, तर ती सफल हुन सकेनन् । कतिपय कामहरु त हामीले सम्पन्न पनि गरेका छौं । प्रतिरोध कविता कार्यक्रम यसमा पर्न आउँछ । यसले राम्रो प्रभाव पनि पारेको छ । तर पनि हामीले गर्ने भनेका र अरुले अपेक्षा गरेका अनुसार हुन सकेनन् । हामीले भौतिक गतिविधिमै बढि ध्यान दियौ र समय खर्च गर्यौं ।

पछिल्लो चरणमा आएर प्रगतिवादी धारका मानिसहरु नवसंशोधनवादी धारमा समाहित हुन पुगे । अब यो धारको रक्षा कसरी होला ?

क्रान्तिकारी धारको एउटा ठूलो पंक्ति क्रान्तिप्रति गद्दारी गर्दै जनताप्रति विश्वासघात गर्दै संसदवादी कित्तामा र प्रतिक्रियावादी वर्गको सेवामा समर्पित हुन पुगेको छ । यो क्रान्तिकारी धारामा भएको एक ठूलो क्षति हो । उनीहरुले विचार, वर्ग र सपनालाई त्यागेर गएका छन् । आफूले आफैलाई ढाँटे, जनताका बीचमा गरिएका प्रतिज्ञाहरु, प्रतिवद्धताहरु र सपना तथा संकल्पहरु सबैलाई लात हाने ।

उनीहरुले जे कुरा परिवर्तन गर्ने भनेका थिए, उनीहरु त्यसैमा समाहित हुन पुगे । उनीहरु पश्चगामी समाजमा विलय हुन पुगेका छन् । उनीहरु भारतीय विस्तारवादकै नोकर र दास हुन पुगेका छन् । समाज परिवर्तन होइन, आफै परिवर्तित भए । उनको प्रतिवद्धता उल्टियो ।

मलाई योसँगै के पनि लागिरहेको छ भने जहाँ यिनीहरु विलय हुन पुगे र यही नै सबैथोक हो भन्ने ठानेका छन्, तर त्यसले नेपालको राष्ट्रियता र मुक्तिको पक्षमा कुनै समाधान दिन सक्तैन । वर्गीय हिसावले पनि यिनीहरु परिवर्तनका पक्षधरहरु होइनन् । वापन्थी भनेको यिनीहरुको झुण्ड्याउने ट्याग मात्र हो । सारमा यिनीहरु प्रतिक्रियावादमा नै रुपान्तरण भएका छन् । यिनले न त गरीब किसानको पक्षका काम गर्न सक्छन् न त देश र जनतालाई मुक्तिको बाटोमा हिंडाउन सक्छन् । यिनका विरुद्धमा जनता सुस्त सुस्त सडकमा ओर्लिन थालेका छन् । जनतामा यिनका विरुद्ध उत्रने भाव क्रमशः अंकुराउन थालेको छ ।

यिनलाई जसले भोट दिए, उनैले भन्ने गरेका थिए– यिनीहरु कम्युनिष्ट होइनन्, तर भोट दिन्छौं । यी कम्युनिष्ट नामधारी प्रतिक्रियावादी हुन् प्रस्ट नै भनेका थिए । जनताले यसो भनिरहनु र भोट दिइरहनुमा केही बाध्यात्मक परिस्थितिहरु पनि सिर्जना भएका थिए । यिनीहरु विचारका हिसाबले सिद्धिएका छन् ।

जताका बीचमा विचार लैजाँदा कलात्मक रुपमा लैजानु पर्छ । सांस्कृतिक कर्मीहरु जान र लान सकिने अवस्था छ ?

सांस्कृतिक कलाकर्मीहरुको पंक्ति निर्माण गरिने काम असाध्यै महत्वपूर्ण काम हो । मान्छेका मन र भावनाहरुलाई छुन वा सम्बोधन गर्नका लागि कला निकै प्रभावकारी अस्त्र हो । सामान्य भाषण र लेखहरुमा त्यो कमै पाइन्छ । यो दार्शनिक रचनामा पनि कम नै पाइन्छ, यो आम जनताले बुझ्ने भाषा वा अभिव्यक्ति पनि हो । यसले विचारलाई जनताको हृदयसम्म पुर्याउन निकै सहयोग गर्दछ ।

समस्या हामीलाई के परेको छ भने कलाकार निर्माण र परिचालनमा व्यवस्थापकीय समस्या प्रमुख बनेर आएको छ । यसमा कलाकारको आफ्नो कला क्षमताको विकास, प्रदर्शनको अभ्यास, बाद्यबादन सामग्रीहरुको अभाव, गीत रचना र संगीतको समस्या आदि समस्याका रुपमा देखा परेका छन् । हामी घेरमा परेको जस्तो पनि भएका छौं । प्रतिगामी र साम्राज्यवादी शक्तिहरुको घेरामा परेको जस्ता पनि भएका छौं ।

यस अवस्थामा हामीहरुले उक्त कार्यभारलाई पूरा गर्न सकिरहेका छैनौ । यो कामका लागि हामी फेरि जागत हुन जरुरी छ । हामीले फेरि अभियान नै बनाएर अघि बढ्नु पर्छ ।

तपाईहरुले सोचेका विचार प्रवाहका गतिविधिहरुमा वर्तमान सरकारले जारी गरेका निरंकुश आचार संहिताहरुले कत्तिको असर पार्ने देख्नु भएको छ ?

जनविरोधी सरकारले जति पनि करहरु लगाउँदै जान्छ, उतिउति जनताहरु त्यसका विरोधमा उत्रने गर्दछन् । राज्यले थोपर्ने उत्पीडन, दमन र अन्याय बढ्दै जाँदा जनतामा आक्रोश बढ्दै जान्छ । वर्तमान वाम भनिएको सत्ताले जे गरिरहेको छ, यसले जनतालाई अत्याइरहेको छ र विरोधी कित्तामा धकेलिरहेको छ । जनतामा आक्रोश जन्मिइरहेको छ ।

लडेर ल्याइएको गणतन्त्र आज जनताका लागि बिरानो भएको छ । विचार अभिव्यक्तिका क्रममा पनि जनतालाई लगेर थुन्ने र जेल हाल्ने गरिरहेको छ । जेल हाल्नु र थुन्नु भनेको विचार माथिको प्रतिबन्ध हो । जुन प्रक्रिया सरकारले अपनाइरहेको छ, यसले जनतामा वितृष्णा ल्याइरहेको छ । यसले राष्ट्रियताका कुरा गर्छ, जनताले पत्याउँदैनन् । यसले समाजवाद निर्माणका कुरा गर्छ, जनताले रत्तिभर विश्वास गर्दैनन् । यिनले राष्ट्रिय समाजवादका कुरा गरिरहेका छन्, त्यो हिटलरी समाजवादको कुरा हो । त्यसैलाई अनुसरण गर्दै समाजवादका कुरा गरिरहेका छन् । यो सबै नाटक हो । यसका पछाडी रहेको बहुमतको उन्माद उनीहरुमा जेजति छ, यसले उनीहरुलाई अझ बढी निरंकुश, तानाशाही र अत्याचारी तथा जनविरोधी बनाउँदै लगिरहेको छ । यसले फासिष्टीकरण गर्दै लगेको छ । यो फासीवादीकरण भनेको हिटलरको फासीवादको छायाँ हो ।

थप कार्यक्रमहरु अरु केही भए … ?

हामीले केही कार्यक्रमहरु त बनाएका पनि छौं । यसलाई कार्यान्वयनमा लैजाने छौं पनि । अहिले हामीले शक्ति प्रदर्शनका कुरा भन्दा पनि प्रचारात्मक नै बढी बनाउने छौं । यिनीहरु सत्तासुदृढीकरणका नाममा निरंकुशतातिर लागेका छन् । जनताले उनीहरुको चरित्र भोग्दै गइराखेका छन् ।

अब जनता हाम्रो साथमा आउने छन् । हामीले जनतालाई घरदैलोमा गएर जागृत पार्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ ?

देशमा गणतन्त्र आएको भने पनि र लोकतन्त्रको फलाको जति हाले पनि जनतामा राज्यले उही सामन्ती संस्कृति थोपरेको छ । हिजो जड र प्रतिक्रियावादी संस्कृति कायमै छ । वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रहरुमा गहिरिएर हेर्यौं भने हिजोको पञ्चायत र आजको गणतन्त्र उस्तै छ ।

राजतन्त्रकाल र गणतन्त्र कालमा सारमा कुनै भिन्नता छैन । हामी जनताका मौलिक संस्कार र संस्कृतिहरु निर्माण गर्न अघि बढ्नु पर्छ ।