एक समयमा पद र पावरमा एक नम्बरी बनेर निकै शक्तिशाली सुप्रिमो बनेका पिके अहिले पावर र पदमा दुईनम्बरी बनेका छन् । यससँगै अब उनको नाउँ पनि बदलिएर मिस्टर दुईनम्बरी बनेको छ । पद त उनको दुईनम्बरी छ नै, पावर भने टुकी बालेर भुइँमा कतै खोज्नु पर्ने अवस्था छ । जतिबेला उनी पद र पावरमा विराजमान थिए, त्यतिवेला उनले आपूmलाई यो भूवनकै शक्तिशाली भएको गर्व गर्दै जहाँ पनि आफ्नौ शक्तिशाली हैसियत प्रयोग गर्थे । त्यतिबेला आफ्ना हालका एकनम्बरी पदवाला दौतरीलाई खुला मञ्चबाट लल्कार्दै भनेका थिए ‘अब तिमी र तिम्रो पाटी पाहाडको टुप्पोबाट फेँदीमा कतै शिला खोजेझैँ खोज्नु पर्ने छ ।’ तर त्यही पद र पावरको मातले बोक्रे बाठो बनायो । बोक्रे बाठोले बुद्धिमा विर्को लगायो । अन्त्यमा पासा पल्टियो र आफैलाई दुईनम्बरी बनायो । त्यो पनि निकै लामो कसरत, सङ्घर्ष, धाकधम्की लगाएर मात्रै प्राप्त भएको पद हो । पदमा जेनतेन दुईनम्बरी हात लागे पनि पावर त शून्य भयो । पावर शून्य हुँदा अहिले उनलाई रातको निद न दिनको भोक भएको छ । फतर फतर फतर बोलेर चर्चामा आउन सौखिन मिस्टर दुईनम्बरीलाई अहिले मौन ब्रत बस्नु पर्दा निकै सकस परेको छ । दुईनम्बरी पदको भीख मागेर चुपचाप लुते बिरालुझैँ बसेका उनी अहिले पावर आर्जन गर्ने मेसो खोज्न भीक्षाटनका लागि देशाटन गर्न हिँडेका छन् ।
यही तिर्थाटनका लागि गएको हप्ता मिस्टर दुईनम्बरी गुज्जर भैय्याका मण्डलतिर पुगेर विभिन्न प्रभुहरूको दर्शनभेट गरी गुरुदक्षिणा चढाएर गुरुहरूबाट दीक्षित भएर आए । तिर्थाटनका बेला उनले विभिन्न शक्तिपिठहरूमा पुगे । प्रभुहरूसँग आफ्नो गुमेको शक्ति फिर्ता गराइदिएर आफूलाई पावरमा पु¥याइदिन अनुनय विनय गर्दै प्रभुको पूजाआरधना र भजनकृतन गाए । त्यहाँ उनले गुज्जर महाराज, मुनीस्वर महाप्रभु, सुश्मा भगवती बहन आदि इत्यादि शक्तिपिठहरूको दर्शनभेट गरे । फरक फरक शक्तिपिठहरूमा फरक फरक तरिकाले प्रभुहरूको भजन गाए र पुनः एक नम्बरी बनेर शक्ति आर्जन गर्न पाऊँ भन्दै बरदान मागे ।
मुनीस्वर महाप्रभुको दर्शन् गर्दै भने ‘हे मुनीस्वर महाप्रभु ! हजुर मेरा महान् र अन्नन्य गुरु हुनुहुन्छ । हजुरको मायाले गर्दा म आज यो हैसियतमा पुग्न सफल भएको हुँ । हिज महाभारतको लडाइँमा मैले हजुरबाटै शक्ति आर्जन गरेको हुँ प्रभु । उक्त लडाइँमा दैत्य दानवहरूले लखेटेर म त्याहाँ बस्न नसकी हजुरहरूकै शरणमा गुप्तवास बस्ने अवसर पाएको हुँ प्रभु । धन्य धन्य छ प्रभु । हजुरको जया होस् । मलाई हिजका मेरा उतापट्टीका गुरु र शिष्यहरूले साथ नदिँदा आज म पावरलेस हुन पुगको छु । खोपडिलाई बन्धकी राखेर भूतप्रेत र मैमसानबाट बच्न र यो अरबौँको देह को रक्ष ागर्न आज हिजका शत्रुकै शरणमा गएको छु । जेनतेन दुईनम्बरी पद प्राप्त गर्न सफल भएपनि पावरलेस हुन पुगेको छु प्रभु । हजुरको कृपा भयो भने पुनः गुमेको पावर आर्जन गर्न पाउने छु । पावरको भीक्षाटनका लागि हजुरको दर्शन् गर्न आएको हँु प्रभु । प्रभुको जय होस् । अनन्य गुरुको जय होस् ।’
‘मैले हिजका दिनमा आफ्नै जात गोत्रका पुराना गुरु वैद्यलाई थापना गरेर सातसमुन्द्र पारी जर्मन, रुस र कैलासतिरका शिक्षा लिएको त शक्ति आर्जन गरेर कौरवहरूको ुत्ता खास्नका लागि मात्रै थियो प्रभु । त्यतिवेला तपाइँका अर्का चेला डाक्टर र उताका मेरा गुरु वैद्यको मात्रै दशमा गुणगान र महिमा थियो । डाक्टर र वैद्य मात्रै चर्चामा थिए । म झाँक्रीको नामोनिसान नभएकाले कौरवहरूसँग लड्न मेरा रैतीहरूलाई मैदानमा उतार्नु थियो । त्यसैले मैले पश्चिमतिरको शिक्षा लिएर उत्तरतिरको टुनामुना सिकेर लडाइँ गरेको हुँ । तर मेरा असली गुरु त हजुरमुनीस्वर प्रभु नै हुनुहुन्थ्यो । आज म साक्षात दर्शन गरेर सबै गुह्यकुरो खोलेर शरणमा आएको छु । यस्ता शक्तिपीठबाट मलाई शक्तिको निगाहा होस् प्रभु ।’
मुनीस्वर महाप्रभुको दर्शनभेट गरी भीक्षा मागेपछि उनी अर्को शक्तिपीठ सुश्मा भगवतीको दर्शन गर्न गए । त्यहाँ पुगेपछि उनले भगवतीको पूजाअर्चना गर्दै बरदान मागे र भने ‘हे भगवती वहनजी हजुरको महिमा अपरम्पार छ । सत्ययुगमा नवदूर्गे, काली, महाकाली, भद्रकाली बनेर सन्ड, मुण्ड, महिषाशुरहरूको बध गरेर देवगणहरूको रक्षा गरेको घटना मेरो मनमा तरोताजै छ । आज कलियुगमा समेत हजुरको शक्ति जसको तस छ । यस्ता सर्वशक्तिमान भगवतीको साक्षात दर्शन गर्न पाउनु म जस्ता लम्पसारवादीका लागि अहोभाग्को कुरो हो । हजुरको कृपा होस् र महाराजलाई फकाएर मलाई शक्ति आर्जन गराई पद र पावर जीवित गराईदिनु प¥यो भगवती । हे देवी, हे काली, महाकाली उग्रकाली हजुरलाई यो भक्तको कोटीकोटी नमस्कार छ । या देवी सर्व भूतेषु शक्ति रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।
त्यसपछि दुईनम्बरी गुज्जर महाराजको शक्तिपीठमा पुगे । त्यहाँ पनि उनले शक्ति प्राप्त होस् भन्दै बरदान मागे । ‘हे महाराज ! मेरा गुरुका पनि महाराज हजुर हुनुहुन्छ । यस्ता महाराजको पटक पटक साक्षात दर्शन गर्न पवाउँदा धन्य छु । हजुरलाई कोटीकोटी प्रणाम छ । मेरा मुलुकमा हजुरलाई राइँदाइँ गर्ने छुट त हामीले दिएकै छौँ । हामीले हजुरले चाहेका जुनसुकै ठाउँमा गएर पनि जमीन कब्जा गर्ने अधिकार दिएकै छौँ महाराज । विरोधमा उत्रिने हाम्रा मुर्ख रैतीहरूलाई हजुरका पाले पहरेदारहरूबाट गोली ठोकेर मार्न, लछारपछार गर्न, कुटपिट गर्न, चेलीबेटीहरूलाई बलात्कार गर्न धनदौलत लुट्न हामिले दिएकै छौँ । हजुरकै महावाणी स्वीकार गर्दै पानी र जवानी जति ल्याए पनि दिएकै छौँ । हामीले रोकेका छैनौँ । हजुरका दूतहरूलाई मुलुकैभरी राइँदाइँ गर्न दिएकै छौँ । सरकारी तवरबाट हामीले कहीँकतै रोकटोक र विरोध गरेका छैनौँ । यति गर्दा पनि हजुर बेलाबखत नाराज किन हुनुहुन्छ महाराज ? यो भक्तलाई कृपा गरेर शक्ति फिर्ता गराईदिनु प¥यो महाराज । हजुरको सच्चा भक्त र सेवक म नै हुने छु महाराज ।
यसरी दक्षिणी तीर्थाटनबाट फर्किएर एकादुई दिनको विश्राम लिई मिस्टर दुईनम्बरी कैलाश पर्वततिरको तिर्थाटनमा निस्कएका छन् । त्यहाँ पनि उनले अहिले यो भूवनकै शक्तिका रूपमा उदाउँदै गरेका कलियुगका कैलाशपतिको दर्शन गरेर शक्तिको बरदान मागेर आउने छन् । त्यहाँ उनले भन्ने छन् ‘हे कैलाशपति महाराज ! हजुर यो भूवनकै शक्तिशाली प्रभुका रूपमा उदाउँदै हुनुहुन्छ । हजुरको बयान त सत्ययुगका हजार जिह्वा भएका शेषनागले पनि गर्न सक्तैनन् । यस्ता हजुरको साक्षात दर्शन गर्न पाउनु म जस्ता शक्तिहीन लम्पसारवादीका लागि कृतकृत्यको कुरो हो । दक्षिण्ी शक्तिपीठहरूको जेजस्तो दर्शन गरेरबरदान मागे पनि त्यो त रोटीबेटीको साइनो गाँसिएको तिर्थाटन भएकाले औपचारिकता पूरा गरेको मात्रै हो । खासमा मैले पूज्ने परम्शक्ति त हजुर नै हुनुहुन्छ । यतैतिरका हिजका कैलाशपतिको विचारले नै मैले कलियुगका कौरवहरूसँग लडाइँ लडेर शक्ति आर्जन गरेको हुँ । दक्षिणतिरका शक्तिपीठहरूको कुदृष्टि पर्नाले आज म शक्तिहीन भएर महादेवले सतिदेवी लास वोकेर चौध भुवन भौँतारिएझैँ कार्यकारी शक्तिको सपना बोकेर भौँतारिइरहेको छु महाराज । यो भक्त खासमा हजुरकै शरणमा पर्न आएको छ । निगाहा भएर पुनः गुमेको शक्तिको बरदान पाऊँ ।’
३१ भदौ २०७५