काठमाडौं । देशभक्त जनगणातान्त्रिक मोर्चा, नेपाल काठमाडौं महानगरको भेला भव्य रुपमा सम्पन्न भएको छ । भेलाले ईश्वर सायमीको नेतृत्वमा २३ सदस्यीय काठमाडौं महानगर स्तरीय समिति निर्माण गरेको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सम्पन्न गरिएको उक्त भेलाले उक्त समितिको अध्यक्षमा ईश्वर सायमी उपाध्यक्षमा बोधराज श्रेष्ठ, सचिवमा नमस्ते सायमी र कोषाध्यक्षमा प्रेमसिंह ऐरलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा अजय बज्राचार्य, विजय बुढामगर, अन्जना शाही, अजय पौडेल, ननदलाल बाणे, श्री भागवत पण्डित, नवीन न्यौपाने, गोपालदास श्रेष्ठ, निमबहादुर गुरुङ, धनबहादुर श्रेष्ठ, संजय शाही, प्रेममसिंह ऐर, द्रोण पुन, भरत खड्का र खड्ग श्रेष्ठलगायतलाई चयन गरेको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले काठमाडौं महानगरपालिकाको भूमिका अरुको भन्दा विशिष्ट महत्वको हुने भन्दै राष्ट्रपति, प्रधानमन्त्री, सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुका कार्यालय पनि काठमाडौंमा भएका र प्रचार तथा सबैको आशाको थलो पनि काठमाडौं नै भएकाले यसको महत्व झन् महत्वपूर्ण रहेको र क्रान्तिका तीन जादुगरी हतियारहरुमध्ये रहेको यस मोर्चाले यो महानगरमा नयाँ जनवादी सत्ता स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न भेलालाई शुभकामना दिए ।
अध्यक्ष गजुरेलले विगतको १० वर्षे महान् जनयुद्धको स्मरण गर्दै भने ‘हामीले गरेको त्यो महान् जनयुद्धले संसारलाई नेपालतिर फर्केर हेर्ने बनाएको थियो । त्यो संसारभरका उत्पीडित तथा श्रमजीवी जनताका लागि एक प्रेरणा, आशा, विश्वास र भरोसा बनेको थियो । त्यसैले आज महानगरमा बनेको यो समितिलाई यसको ३२ वटै वडामा विस्तार गरिने छ । मोर्चाले क्रान्तिको सांगठानिक आधार तयार पार्न कुनै कसर बाँकी राख्ने छैन ।’
‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाएर जनताको भोट पाएको वाम भनिने सरकारले आज आएर देश बेचेर खाएको उल्लेख गर्दै गजुरेलले थपे, ‘हालको वाम भनिने सरकार जनताका माझमा नांगेझार भएको छ, देश चर्को कर, महंगी, भ्रष्टाचार, हत्या, राज्यआतंक, बलात्कार र गुण्डागर्दीले आक्रान्त छ । क्रान्ति अब अपरिहार्य बनेको छ ।’
हालको ओली सरकार भारतीय मोदी सरकारको लाचार छाँया मात्र भएको उल्लेख गर्दै गजुरेलले भने, “नेपाल भारतीय सैन्य क्याम्पमा गए देशले ठूलो दुुर्घटना बेहोर्नुपर्ने छ ।”
त्यसैगरी भेलाका विशेष अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चा ३ नम्बर प्रदेशका संयोजक पवनमान श्रेष्ठले काठमाडौं विद्रोह तथा आन्दोलनको निर्णायक भूमि रहेको भन्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न अब मोर्चाले विद्रोहको केन्द्र बनाउन मुख्य भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे ।
नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाका हिसाबले काठमाडौंको जिम्मेवारी निकै ठूलो रहेको चर्चा गर्दै पार्टी र क्रान्तिले सुम्पेको यो जिम्मेवारी पूरा गर्न पार्टी,संयुक्त मोर्चा, जबस÷मोर्चा सबै एक ढिक्का भएर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।
ललितपुरको कुपण्डोलमा भएको उक्त भेलालाई भेलाका अतिथिहरु शारदा महत, इश्वर तिमिल्सिना, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, गोर्की श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए । भेलाको अध्यक्षता ईश्वर सायमीले गरेका थिए भने सञ्चालन नमस्ते सायमीले गरेका थिए । भेलामा स्वागत मन्तव्य बोधराज श्रेष्ठले राखेका थिए ।