काठमाडौं । शहीद कृष्ण सेनको नाममा स्थापना भएको इच्छुक सांस्कृतिक प्रतिष्ठानको सातौं प्राज्ञसभा इच्छुक प्रतिष्ठानकै सभाहल रहेको अनामनगरस्थित घट्टेकुलोमा शनिवार भव्य रुमा सम्पन्न भएको छ । आफ्नै प्रतिष्ठान भवन निर्माण भइसकेपछि आयोजना गरिएको यो प्राज्ञसभामा सभाका सबै सदस्यहरु तथा कार्य समितिका पदाधिकारीहरु समुपस्थिति रहेको बताइएको छ ।
प्राज्ञ सभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन वैद्य ‘चैतन्य’ले भने ‘अबको प्रगतिवादी आन्दोलन कसरी अघि बढ्ने हो भन्ने चिन्ता र चासो आजको हाम्रो अनिवार्य आश्यकता बन्न पुगेको छ । अबको प्रगतिशील साहित्य के हुने ?’
हिजो एउटै पार्टीमा रहेर काम गरेकाहरु आज आदर्शबाट च्यूत र विचारबाट स्खलित भएर सिद्धिएको आजको यथार्थतालाई औल्याउँदै चैतन्यले भने– ‘नवसंशोधनवादी धाराका पक्षधर साथीहरु प्रगतिवादी होलान् कि नहोलान् ? लेनिनले सर्वहाराको विजय हुँदा बखत पुँजीवादको ठूलो हिस्सा सर्वहारा वर्गमा सामेल हुन आउँछ भनेका छन् ।’
उनले थपे, ‘तर नेपालको सन्दर्भमा संसदीय पुँजीवाद हाबी हुन जाँदा प्रगतिवादी खेमाको ठूलो हिस्सा नवसंशोधनवादी र दलाल पुँजीवादीकरण हुन गएको छ । हामीले एक अन्तरक्रिया कार्यक्रममा कुरा पनि गरेका थियौं कि प्रगतिवादी खेमामा हाल एउटा वास्तविक प्रगतिवादी र अर्को भित्रभित्रै अर्को तर मनले नमानी नमानी पनि प्रगतिवादी भएजस्तो गर्ने खालको रहेको पंक्ति पनि रहने गरेको भनेर ।’
हामीलाई थाह छ बाहिरी घेरा साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादको निकै जब्बर नै छ भन्दै चैतन्यले प्रश्न गरे ‘हामीले भित्रै पनि तात्कालीन एमालेलाई प्रगतिवादी होइन भनेका थियौं नै । तर आज हामीसँग लडेर आएकाहरु नै संशोधनवादी धारामा जाँदा र ‘छलाङ’ लगाएको, ‘क्रमभंग’ गरेको र ‘गुणात्मक’ विकास गरेको भन्दै गएकाले यो प्रगतिशीलता हो वा प्रतिवादी हो ?’
प्राज्ञ सभामा प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले भने ‘वर्तमान सरकारको यो कार्यशैलीलाई हेर्यौं भने अबका ५ वर्षे शासनकालमा केके गर्दै छन् भन्ने प्रस्ट बुझिन्छ ।’ उनले थपे– कला साहित्यका माध्यमबाट दक्षिणपन्थी र जनविरोधीहरुका विरुद्ध लड्नु पर्छ । अहिले जनयुद्धका उदात्त भावना, विचार, सौर्य, वीरता र बलिदानीलाई अपराधीकरण गर्न खोजिएको छ ।
प्राज्ञसभामा स्वागत भाषण गर्दै प्रा.डा.जगदीशचन्द्र भण्डारीले आदर्शबाट च्युत र विचारबाट स्खलित नभई आफ्ना सिर्जना र कलाका माध्यमबाट देश र जनताका उद्दात्त सपना पूरा गर्न हामी कृष्णसेन इच्छुक झैं प्रयत्नशील रहनु पर्दछ । भण्डारीले आज प्रगतिवादी धाराका कलाकार तथा साहित्यकारहरु प्रतिकूल अवस्थामा अघि बढ्न जमर्को गरिरहेकाले इच्छुकको आदर्श उद्दिप्त बनाउन जरुरी छ भन्दै यस्ता व्यक्तिहरु क्रान्ति, परिवर्तन र कला चेतनाको संगममा गोलबन्द हुनु जरुरी रहेको बताए ।
सभाको सञ्चालन गर्दै सदस्य सचिव हिरामणि दुःखीले भवन निर्माण जस्तो महत्वपूर्ण काम र प्राज्ञिक कामहरु एकै साथ लैजान गाह्रो भएको भन्दै अब प्राज्ञिक कामहरुलाई अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
सदस्य सचिव हिरामणि दुःखीले आफू इच्छुक प्रतिष्ठानको सदस्य सचिवमा अब नरहने भनी प्रक्रियागत हिसाबले विदा लिएपछि उक्त स्थानमा मित्रलाल पंज्ञानीलाई चयन गरिएको थियो । दुःखीले दाङ जिल्लाको लमहीमा नर्माण हुँदै गरेको इच्छुक प्रतिष्ठान शाखाको जिम्मा लिएर जान लागेको भनी अध्यक्ष ज्ञवालीले प्राज्ञ सभालाई जानकारी गराएका थिए ।