काठमाडौं, भदौ २४ । स्वयम्भू र पशुपतिको बाँदरहरुमा झाडापखाला फैलाउने क्याम्पिलो नामक ब्याक्टेरिया देखिएको छ । सो क्षेत्रका बाँदरहरु ठूलो संख्यामा बिरामी भएको पाइएपछि सिएमडिएन नामक एक गैरसरकारी संस्थाले गरेको अध्ययनका क्रममा यस्तो जीवाणु फेला परेको हो । तीन महिना लगाएर गरिएको अनुसन्धानमा ती बाँदरहरुमा झाडापखालाको व्यापक समस्या देखिएको छ ।
पशुपति र स्वयम्भूका बाँदरमा देखिएको क्याम्पिलो ब्याक्टेरीया सहजै मानिसमा सर्न सक्ने भएकाले सो क्षेत्र बढी जोखिममा देखिएको सिएमडिएन जनाएको छ । मानिसमा यो जीवाणुले सामान्य झाडापखाला गराउनेदेखि अल्सर, ग्याष्ट्रिक र क्यान्सर सम्म पनि गराउँछ । तर, उनीहरुको उपचारमा क्याम्पिलो ब्याक्टेरिया हेरिदैन ।
१ सय ११ नमुना परिक्षण गरीएकोमा ६३ वटा नमुना क्याम्पिलो ब्याक्टेरीया पोजेटिभ देखिएको थियो । उक्त ब्याक्टेरीयाका कारण सो क्षेत्रमा बसोवास गर्ने, घुम्न जाने र बाँदर तथा त्यसको दिसा संग सम्पर्क हुने नागरिक जोखिममा हुनसक्ने अधिकारीहरुको भनाई छ ।
विशेषतः बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई क्याम्पिलो व्याक्टेरीया नामक जीवाणुले आक्रमण गर्दछ । अनुसन्धानमा संलग्न सिएमडीएनकी मनिषा विष्टले भनिन्, ‘हामीले गरेको अनुसन्धानले मान्छेमा झाडापखाला गलाउन सक्ने क्याम्पिलो ब्याक्टेरीया हामी वरपर भएका बाँदरहरुमा पनि भएको पुष्टि गरेको छ ।’
विष्टका अनुसार पशुपति र स्वयम्भुमा पाईने बाँदरका प्रजाती र मानिसमा लाग्ने कतिपय रोगको प्रकृति मिल्दा जुल्दा हुन्छन् । त्यसैले सो क्षेत्रका बाँदरमा क्याम्पिलो ब्याक्टेरीया देखिनु जनस्वास्थ्यको हिसावले सचेत बन्ने अवसर हो । अनुसन्धानकर्ताले बाँदरमा कहाँबाट क्याम्पिलो ब्याक्टेरीया सर्यो भन्ने खोजिको बिषय भएको बताएका छन् ।