हिजोआज प्रधानमन्त्री केपी ओलीलाई राणा शासनकालका सूत्रधार वीरनरसिंह कुँवर उर्फ जङगबहादुर राणा र शाहवंवशका ११औं राजा महेन्द्रको दाँजोमा उभ्याएर राजनीतिक फाइदा उठाइरहेको पाइन्छ । के यी दुबैका उत्तराधिकारीका रुपमा केपी ओलीलाई लिन सकिन्छ वा कि यीभन्दा पनि माथिका नेताको रुपमा लिनुपर्ने हुन्छ ? यस विषयमा चार्चा गर्न बसिरहेको छु ।
वि. सं. १८७४ मा गोर्खाको बोर्र्लाङ भन्ने ठाउँमा जन्मिएका वीर नरसिंह कुँवरलाई उनैका मामा माथवरसिंहले जङ्गबहादुर नाम राखिदिएका थिए । यिनले स्कूले शिक्षा नपाए पनि पिता बालनरसिंहका साथ लागेर धनकुटा, डडेलधुरा र जुम्ला जस्ता त्यतिवेलाका ठाउँहरूमा गएर कुस्ती, बन्दुकबाजी र घोडसवार जस्ता युद्धकलामा पारङ्गत भएका थिए । उनका बाबु वालनरसिंह सेनामा जागिरे थिए । वि.सं. १८९७ मा राजा राजेन्द्र शिकार खेल्न जाँदा एक्लै जङ्गली हात्ती पक्रिएर आफ्नो अधीनमा पारेको देखेर उनले जङ्गबहादुरलाई आफ्नो अङ्गरक्षक र काजी बनाए । यिनी अत्यन्तै महत्वाकाङ्क्षी थिए । यही मौकामा भण्डारखाल पर्व, कोत पर्व र अलौ पर्व जस्ता घटना घटाएर आफू श्री ३ महाराज बने ।
उनका भाइभारदारहरूले १०४ वर्ष नेपालमा शासन गरे । राजा र जनता सबै उनको अधीनमा बस्नुपर्ने अवस्था आयो । त्यसैले राजनीतिक रुपमा यिनी निरङ्कुश शासक कहलिए तर एकवर्षको वेलायत भ्रमणपछि यिनले नेपालमा पहिलो पटक मुलुकी ऐन लागु गराए । हुन त उनको इच्छा वेलायती संसदको (अहिलेको संसदीय व्यवस्था) जस्तै संसदीय व्यवस्था लागू गर्ने योजना थियो । तर त्यतिबेलाका राजा र नेताहरूमा संसदीय चेतना नभएका कारण लागु हुन दिएनन् । खुलेर भन्नुपर्दा जङ्गबहादुर राणा दूरदर्शी रहेछन् भन्नै पर्ने हुन्छ ।
उनले लागू गरेको मुलुकी ऐन गत श्रावण मसान्तमा मात्रै खारेजीमा प¥यो र बीचबीचमा परिवर्तन गर्न खोजिए पनि राजा महेन्द्रले २०२० सालमा मात्रै केही परिवर्तन गर्न सफल भएका थिए । यसरी भन्नुपर्दा जङ्गबहादुर नेपालका आधुनिक निर्माता पो थिए कि भन्नुपर्ने हुन्छ । राजनीतिक अर्थमा निरङ्कुश भएता पनि व्यवहारतः उनी जनप्रिय नै थिए भन्ने कुरा इतिहासले बताउँछ । काण्ड, पर्व र काटमार त राजनीतिको एक प्रकारको रुप नै हो, जसको शक्ति उसैको भक्ति । त्यो पनि त्यति पुरानो जमानामा । कुनै काममा पनि पाखुरी बलियो भएर मात्रै पुग्दैन, छाती दह्रो हुनु जरुरी छ । जङ्गबहादुरको पनि छाती दह्रो भएकाले विद्रोह मच्चाएर सत्ताप्राप्ति गरेको इतिहासले बताउँछ ।
शाहवंशका राजा महेन्द्र । उनको शासनमा रमाउने, डामिने र थामिने मानिसहरू अहिले पनि प्रसस्तै छन् । राजनीति गर्नेहरू निकै डामिए, चाकडी गर्नेहरू निकै थामिए र राणाहरूको अगुल्टोमा डामिनेहरू निकै रमाएका छन् । तर, महेन्द्रको पालामा आर्थिक घोटाला गर्नेहरू अहिले पनि महेन्द्रको फोटो खोपामा राखेर पुजिरहेका छन् । किनभन्दा महेन्द्रले आर्थिक अनुशासन कायम गर्न सकेका थिएनन् । त्यसैको प्रतिफल हो अहिलेको समाज । धनी हुने धन कमाइरहने र गरिब हुने पेटभरि खान पनि नपाउने अवस्थामा पुगेको । एउटा व्यक्तिले कति असर पार्छ भन्ने उदाहरण पनि हो यो ।
तर, महेन्द्रले आर्जन गरेका सबै उद्योगधन्दा २०४६ सालपछि नेपाली कांग्रेसको सरकारले बेचेर खायो । यसको कुनै लेखाजोखा छैन । बेचिएको सरकारी सम्पत्ति कहाँबाट कति आयो र कहाँखर्च भयो, त्यसको तथ्याङ्क राख्नु पथ्र्यो । अर्को कुरा, स्वदेशी उद्योगहरू बेचेर नेपाली जनतालाई बेरोजगार बनाएर विदेश पलायन गराउनुलाई राजनीति भनिदैन । महेन्द्रभन्दा अगाडिका न त नेताले कही गरे, न राजाले नै केही गरे । महेन्द्रपछिका राजाले पनि सम्पत्ति आर्जन गरे, नेता त झन् डुडुल्नाबाट पनि हसुर्न तत्पर रहे । यसैको प्रतिफल केपी ओलीले व्यहोरिरहेका छन् । भनाइ खाइरहेका छन्, ‘केपी ओलीली जङ्गबहादुर र महेन्द्र भन्दा पनि चण्डाल छन्’ । हुन पनि यतिबेला चण्डाल भएन भने शासन व्यवस्था चलाउन पनि सकिदैन, त्यसैले होला केपी ओली निर्धक्क शासन गरिहेका छन् र भनिरहेका छन्, ‘शान्त नेपाल, समृद्ध नेपाल’ ।
भनेर मात्रै हुँदैन । नेपाल त्यसै पनि समृद्ध र शान्त पनि छ । यदि समृद्ध थिएन भने राजनीतिक काटमार निकै पहिले भैसक्ने थियो, शान्त थिएन भने आफ्नो देशमा गणतन्त्र स्थापना गरेपछि विदेशी बजारमा पाखुरी बेच्न युवाहरूको जमात हानिदैनथ्यो । दिनको ४÷५ वटा मूर्दा बाकसमा आउँदा पनि जोखिम मोलेर देशलाई माया गर्ने युवाहरू विदेश हानिएकै छन् ।
केपी ओलीले जङ्गबहादुरको जस्तो कोत पर्व, भण्डारखाल पर्व र यस्तै खाले पर्वहरू मच्चाएर सत्ताको दाबी गरिरहनु पर्दैन । भारतमा महात्मा गान्धीले सत्याग्रह गरे, राजनीति जवाहरलाल नेहेरुले गरे । तर, विकास निर्माणको काम नरेन्द्र दामोदर मोदीले गरिरहेका छन् । त्यस्तै निरङ्कुश शासनको अपजस जङ्गबहादुर र महेन्द्रले लिए, कोपी ओली १४ वर्ष बसेर प्रधानमन्त्री भएका छन् । जनताले लडाइँ गरेर गणतन्त्र स्थापना गरे । विकास र निर्माणको जिम्मा दिएर केपीलाई जनताले आफ्नो बहुमल्य मत दिएर ‘ल तिमी यो देशमा शान्ति र समृद्धिको स्थायित्व गर’ भनिसकेका छन् । यो हिसाबले केपी ओली जङ्गबहादुर र महेन्द्र भन्दा पनि भाग्यमानी छन् ।
तर, जनताले केपी ओलीको मात्रै मुख हेरेर हुँदैन र पुग्दैन पनि । उनको टिममा को कस्ता र कति छन् ? भ्रष्टाचार गर्ने र नगर्ने कति छन् ? उनका सहयोगी निष्कलङ्कित हातहरू कति छन् ? मुलुकमा भएका सम्पदाहरूको संरक्षण गरेर दृश्य व्यापार गर्ने र आर्थिक आर्जन गर्ने कति छन् । पार्टी भित्र गुट उपगुटमा को को लागेका छन् ? समाचारमा आउँछ, ‘फलानाले सिफारिश गरेको नेतालाई फलानाले स्वीकार गरेन’ यो गुट र उपगुटको प्रमुख को हो ? किन र केका लागि यस्तो गुट र उपगुट बनिरहन्छ ? यसलाई जनताले तलैबाट नियाल्नु आवश्यक छ । जीवनभर पार्टीमा लागेर कुर्सीमै बाँधिएर आर्यघाट जानुपर्छ भन्ने पनि केही छैन । राजनीतिमा पनि अवकाश लिने र आराम गर्ने बानी बसाल्नु पर्छ । मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेतालाई सुलीमा चढाएर बनेको पार्टीले भरतमोहन अधिकारी, झलनाथ खनाल र माधव नेपाल जस्ता उमेर नपुगे पनि एक्स्पायर भएका नेताले आराम लिनु पर्छ ।
हुन त केपीले राजनीतिक सिद्धान्तलाई जामानामै लङ्गौटी नलगाएका होइनन्, तर सिद्धान्तको पगरी गुथेर प्रतिक्रियावादीलाई मात्रै पृष्ठपोषण गरिरहनु पर्छ भन्ने केही छैन । केही न केही, कोही, कहीं न कहीं बली नचढी समाज सुध्रदैन । त्यो बदिवेदीमा यत्तिवेला केपी ओली चढेका छन्, हेर्रौं सकुशल अवतरण गर्छ कि गर्दैनन् ।