पत्रकारिता आफैमा विचारक तथा आन्दोलनकर्ता पनि हो

पत्रकारिता आफैमा विचारक तथा आन्दोलनकर्ता पनि हो

काठमाडौं । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रकाशन विभागका इञ्चार्ज रामसिंह श्रीसले पत्रकारिता आफैमा संगठनकर्ता र आन्दोलनकर्ताका साथै प्रचारकर्ता पनि भएको कुरामा जोड दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघको काठमाडौं अनाम नगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा बुधवार आयोजित विशेष राष्ट्रिय भेलामा श्रीसले उक्त कुरा बताएका हुन् ।

रुसमा अक्टोबर क्रान्ति सम्पन्न हुनुपूर्व लेनिनले इस्क्रादेखि नयाँ इस्क्रा चलाउँदासम्मको वैचारिक तथा सम्पादकीय संघर्षपूर्ण इतिहासको चर्चा गर्दै श्रीसले लेनिनका पालामा चलेको भूमिगत प्रेस तथा पत्रिका वितरणको रोचक प्रसंग पनि उल्लेख गरेका थिए । भूमिगत प्रेसबाट पत्रिका निकाल्ने र प्रेसमाथि रहेका तरकारी तथा फलफूल बजारबाट सागपात तथा फलफूल त्यही पत्रिकामा पोको पारी पत्रिका वितरण गर्ने गरिएको प्रसंग कोट्याउँदै श्रीसले नेपालमा अहिले प्रचारका लागि त्यो बेलाका भन्दा कैयौं खुकुलो र सहज वातावरण भएको अवस्था रहेकाले जनपक्षीय समाचार संप्रेषणमा क्रान्तिकारी पत्रकारहरु एकढिक्का भएर लाग्नु पर्ने बताए ।

कुरा जे गरे पनि वर्गका हुने भएकाले एक वर्गको स्वतन्त्रता अर्को वर्गका लागि अधिनायकत्व हुने भन्दै श्रीसले वर्तमान दलाल सरकारका प्रजातन्त्र र समृद्धिका कुरा जनताका लागि फासीवादी अधिनायकत्व भन्दा केही नहुने बताए । जनताको बहुमतको सरकार भएको भनी जति प्रचार गरे पनि यो मुटठीभर दलाल तथा नोकरशाहहरुको आफ्नो स्वार्थ सिद्धिको अधिनायकत्व मात्र हो, श्रीसले बताए ।

क्रान्तिकारी पत्रकारहरुले नेपालका सन्दर्भमा किसान तथा मजदुरका हक र हितका कुराहरु उठाउनु नै वर्गीय कुरा हुने भएकाले श्रीसले यिनैको पक्षमा जोडदार आवाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए ।