काठमाडौं । आज भाद्र १२, यो वर्षको गाईजात्रा । वर्षभरि आफ्ना मृत आफन्तका प्रेतात्माको चीरशान्तिका लागि गाईजात्रा मनाइन्छ । पारिवारिक तथा आफन्तजनप्रतिको शोक र समवेदना सार्वजनिक रुपमा अभिव्यक्त गर्ने माध्यम पनि हो यो पर्व । यो मूलतः धार्मिक र परम्परागत पर्वका रुपमा मनाइने गरिएको छ ।
पौराणिक शास्त्रअनुसार स्वर्गजाँदा कालोमैलो वैतरणी नदी तरेर मात्र जान सकिन्छ । मानिसको प्रेतात्मा आफै सहजै तरेर जान नसक्ने भएपछि गाईको पुच्छर समातेर यो नदी तर्न र पार गर्न सकिने विश्वास गरिन्छ ।
काठमाडौंका नेवार जातिमा यो पर्वले विशेष स्थान पाएको देखिन्छ । आध्यात्मिक तथा धार्मिक सोचअनुसार उनीहरु वर्षदिन भित्रका आला प्रेतात्माका लागि यो पर्व प्रतिकका रुपमा मनाउने गर्दछन् । स्वाभाविक रुपमा बोलिरहेको, खाइरहेको, चलमलाइरहेको, भावना आदानप्रदान गरिरहेको, हाँसिरहेको, वा रोइरहेको जीव वा आत्मा मरेपछि कहाँ गयो होला भन्ने धार्मिक तथा भावनात्मक छटपटीको भावनात्मक सन्तुष्टि हो यो ।
मरेक आफन्तहरुको सम्झना र सहयोगका लागि गाईको प्रतिविम्ब बनाएर पुच्छर समाएर महादेवका नन्दी र भ्रिङगीका विभिन्न स्वरुपहरुमा नृत्य पनि प्रदर्शन गरिन्छ । लिच्छवीकालमा यसलाई ‘सापारु’ भनिन्थ्यो । सापारु भनेको गाईजात्रा हो । यसलाई केही प्रतिकात्मक र व्यङ्ग्यात्मक रुपमा पनि लिइन्छ ।
पछिल्लो चरणमा आएर यो पर्वको अपभ्रंश हुँदै जाँदा यसलाई नितान्त हास्य व्यंग्य पर्वका रुपमा चित्रित गरिन थालेको छ । सांस्कृतिकविदहरु भन्छन्– पछिल्लो पुस्तामा देखिएको यो प्रवृत्तिमा बढी विकृतीकरण देखिएको छ । यो खाले विकृति जुन आशयका साथ गाई जात्रा मनाउन सुरु गरियो, त्यसको मर्मलाई खिल्ली उडाउने खालको छ । तर नयाँ पुस्तालाई यसको वास्तविक मर्मलाई बोध गराउन र सम्झाउन जरुरी छ ।