श्रद्धेय कवि सेनजी
हार्दिक अभिवादन !

अहिले त गाथमा ठीकै छ भन्ने लागेको छ
त्यता त
हाम्रो यताको जस्तो
बेइमानी र धोखाधडी छैन होला

कवि सेनजी
तपाईं–हामीले हिजो
मुक्ति अभियानमा लाग्दा
बगाएको पसिना र रगत त
त्यसै खेर गए जस्तो छ
बालुवामा पानी
सिँचाइ गरेजस्तै भएको छ ।

निरङ्कुशताका सयौं बुटले
निर्मममता साथ कुल्चिँदा पनि
हजारौँ वाटका विद्युत झट्काले
छाती डढाउँदा पनि
नलत्रेको शिरलाई
तल्लाघरे ठालुका पैताला सामु
लम्पसार पारिएछ

अत्याचारी कंशसँग लड्न हिँडेको कृष्ण त
मथुरा दरबार पुगेर
कंशकै पाउमा पो लम्पसार परेछन्
के को मुक्त गर्थे
जेलमा कोचिएका बाबुआमालाई ?

जनमुक्तिका निम्ति
अघि लम्कदा
त्यो ठालुले बाधा तेस्र्यायो भने
सुरुङ युद्ध लड्छौं भन्थे, तर
लाज–शरम नभएका
ढाँट रहेछन् ती त
सारै बेइमान रहेछन् ती त
केको लड्थे सरुङ युद्ध ?

चुनवाङको चौतारामा
सुटुक्क साउती मिलाएर
त्यही सुरुङमार्गबाट
दिल्ली दरबार पुगेर
गरेछन् बाह्रबुँदे सम्झौता
सगरमाथा जत्तिकै उच्च
सम्प्रभुताको शिर
प्रभुक पाउमा चढाएर
आएपछि त सेनजी
के भन्नु छ र !

तपाईं हाम्रो पसिना र रगतले
सिँचित गैरीखेतमा
मसिनो धान
लहलह फल्नु पर्ने खेतमा
हिजो आज त
वातानुकूलित आलिशान
बडेबडे गगनचुम्बी महल झुलेका छन्
जरो आउँदा
सिटामोल पनि नपाएर
हामी रन्थनिएका बेला
हिलाम्मे र धुलाम्मे सडकमा
प्राडो र पजेरो गुडेका छन्
हुँदाहुँदा त सेनजी

हिजो आज त
हाम्रो रगतले किनेका बन्दुक पनि
खोसिएका छन्
अब त
सर्वहाराका स्वघोषित मुक्तिदाताहरू
आफूले प्राप्त गरेको स्वर्गमा
चौरासी व्यञ्जन ज्युनार गरेर
आराम गर्दैछन्

अझै पनि
पाँचतारे होटल र रिसोर्टहरूमा
चल्ने तिनका गफमा
जनमुक्तिकै कुरा सुनिन्छ
के भन्न सकिन्छ र !
लाज सरम नभएका नैतिक हरामहरूलाई ?

के गर्नु सेनजी
हिजो आजदेखिने दुर्दृश्यले
बबन्डर चल्छ मस्तिष्कमा
बेइमानीका विरुद्ध
धोखाधडीका विरुद्ध
नाना छलकपट र षडयन्त्रका विरुद्ध
अरु केही गर्न नसकेपछि
अणुबम बनेर
भङ्कर बिस्फोट हुन मन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर