काठमाडौ । नेपाल राष्ट्रले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा सरकारी ऋण झण्डै ९ खर्ब पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले नेपाल सरकारको ऋण ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको छ ।
यसमा बाह्य (विदेशी) ऋण ५ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ३ खर्ब ९० अर्ब ९० करोड रुपैयाँ रहेको छ । यस वर्ष कुल ग्राहस्थ उत्पादन र कुल सरकारी ऋणको अनुपात २९.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । यस बर्ष नेपाल सरकारले १८ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक ऋण तिरेको छ । अघिल्लो वर्ष (२०७३÷०७४) २२ अर्ब ७० करोड बराबरको वैदेशिक ऋण तिरेको थियो ।
आर्थिक वर्ष २०७४÷०७५ मा सरकारले २ खर्ब १४ अर्ब ३ करोडको वैदेशिक ऋण परिचालन गर्ने अनुमान रहेकोमा महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार यस्तो ऋण ९३ अर्ब ४० करोड रुपैयाँ परिचालन भएको छ । उक्त ऋणको कुल ग्राहस्र्थसँगको अनुपात ३.१ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष (२०७३÷०७४ मा ) ५८ अर्ब १ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण परिचालन भएको थियो ।
यता आन्तरिक ऋण पनि नेपाल सरकारले न्युन वित्त पुर्ति गर्न १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ परिचालन गरेको छ । गत वर्ष ३६ अर्ब ५६ करोड रुपैयाँ आन्तरिक अण भुक्तानी भएकाले १ खर्ब ७ अर्ब १९ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो वर्ष ४९ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।
सरकार २ खर्ब ६८ अर्ब ८५ करोड रुपैयाँ बजेट घाटामा छ । यो नगद प्रवाहमा आधारित बजेट घाटा हो । कुल ग्राहस्थ उत्पादनसँग बजेटघाटाको अनुपात ८.९ प्रतिशत रहेको छ ।