काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले मंगलबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । मोर्चाको आयोजनामा दिउँसो शान्तिबाटिकाबाट सुरु भएको विरोध प्रदर्शन पूर्व रुटिनअनुसार घण्टाघर, जमल, असन हुँदै ईन्द्रचोकमा पुगेर कोणसभामा परिणत हुने भनिए पनि झडप र ब्यानर खोसाखोस लामो समयसम्म चलिरहेपछि पूर्व निर्धारित रुट बदलेर भोटाहिटीको बाटोहुँदै ईन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन मोर्चाका ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठले गरेका थिए ।
‘कर वृद्धि खारेज गर, महंगी, भ्रष्टाचार तुरुन्त अन्त्य गर, महिला हिंसा गर्ने र बलात्कारीलाई सख्त कारबाही गर’ लेखेको कालो ब्यानर र झण्डासहित गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा शान्तिबाटिका, रत्नपार्कहुँदै भोटाहिटी पुग्दासम्म झडप भइरहेको थियो । झडपमा प्रदर्शनकारीहरु सामान्य घाइते भएको भएपनि विरोधप्रदर्शनलाई निरन्तर अघि बढाइरहेका थिए । प्रदर्शनकारीबाट प्रहरीले महंगी नियन्त्रण गर्न, महिला हिंसा बन्द गर्न, करबृद्धि नियन्त्रण गर्ने नारा लेखिएका काला व्यानर र झण्डा दर्जनौपटक खोस्न खोजेका थिए । प्रदर्शनमा जनविरोधी ऐन र कर लाद्ने ओली नेतृत्वको सरकारका विरुद्ध कालो जुत्तासमेत प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शनमा सैयौ नेता कार्यकर्ताहरुको सहभागिता थियो ।