विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि सीपी गजुरेलले चेतावनी दिए– ‘गणतन्त्रका प्रहरीहरुले विवेक प्रयोग गर्नु जरुरी छ, गृहमन्त्रीको आदेशको अन्धरुपमा पालना गरेमा देश गृहयुद्धमा धकेलिने छ’

विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि सीपी गजुरेलले चेतावनी दिए– ‘गणतन्त्रका प्रहरीहरुले विवेक प्रयोग गर्नु जरुरी छ, गृहमन्त्रीको आदेशको अन्धरुपमा पालना गरेमा देश गृहयुद्धमा धकेलिने छ’

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेल ‘गौरव’ले प्रहरीहरुलाई वर्तमान गणतन्त्रको समय भएकाले प्रहरीहरुलाई विवेक प्रयोग गर्न सुझाव दिएका छन् । सरकाले बढाएको महंगी, चर्को कर तथा महिलामाथि भइरहेको हिंसाको विरोधमा मंगलवार दिउँसो रत्नपार्कस्थित शान्तिबाटिकामा राखिएको विरोध प्रदर्शन र्यालीमा प्रहरी हस्क्षेप भएपछि ईन्द्रचोकमा भएको कोणसभालाई संवोधन गर्ने क्रममा अध्यक्ष गजुरेलले उक्त कुरा बताएका हुन् ।

गजुरेलले देशमा गणतन्त्र ल्याउन आफूहरु दश वर्षे जनयुद्ध र १९दिने जनआन्दोलनको नेतृत्व गरेको र लडेको हुनाले वर्तमान गणतन्त्रमा आफूहरुको पनि हिस्सा र योगदान रहेको स्मरण गराउँदै प्रहरीहरुले राणाकाल र पञ्चायत कालमा जस्तो परिवर्तनका पक्षधर आन्दोलनकारी माओवादीहरुलाई सत्तामा बसेकाहरुले दिएको ठाडो आदेशमा दमन नगर्न भन्दै चेतावनी दिएका हुन् । हालका गृहमन्त्री रामबहादुर थापाले आफ्ना नैतिक तथा वैचारिक मूल्यमान्यताहरु गुमाइसकेकाले देशका गणतान्त्रिक प्रहरीहरुले उनका गलत आदेशहरुको अन्धरुपले पालना गर्नु राम्रो नहुने पनि बताएका छन् । उनले थप चेतावनी दिंदै भनेका छन् यदि उनका आदेशहरुको अन्धरुपमा पालना हुन थाल्यो भने देशमा गृहयुद्ध भएर ठूलो खतरामा धकेलिने छ ।

वर्तमान सरकारमा बहुमतको नमीठो दम्भ छ भन्दै गजुरेल भन्छन् तर यो बहुमतको सरकारलाई सडकको आन्दोलनले बाँकी राख्दैन । सडक आन्दोलनले बहुमतको वैधानिक सीमा र दायरा सबैलाई निलेर अघि बढ्छ भन्दै गजुरेलले राष्ट्रघात र जनघात गर्ने सरकार जनतन्त्रको धज्जी उडाउँदै फासिवादीकरण भइरहेकाले ती सबैको रक्षाका लागि जनता सडकमा उत्रने एक अनिवार्य तथा जनअनुमोदित अवस्थाको सिर्जना हुन लागेको कुरा खुलस्त गरे ।

गजुरेलले देशमा संघीयता लागु भइरहँदा काठमाडौंमा बसेर अरुण तेस्रो बेच्ने, भारतीय प्रमको सुरक्षाको नाममा भारतीय सशस्त्र कमाण्डो फोर्स नेपालमा भित्र्याउने, कोशी उच्च बाँध बनाउन सहमति गर्ने, नेपालको तराई क्षेत्र डुवानमा पारेर पानी जहाज चलाउने सपना बाँड्ने, भ्रष्टाचार, सिण्डिकेट, सुन तस्करी, ठेकेदार तथा माफियाहरुसँग मितेरी लगाउने, जनतामा चर्को कर असुलीका संहिताहरु निर्माण गर्ने तर यी जनविरोधी कदमहरुको विरोध गर्नेहरुविरुद्ध दमन गर्न राज्यसंयन्त्र प्रयोग गरेर फासीवादीकरणको बाटो अख्तियार गर्ने यो सरकारले देश अब क्रमशः गृह युद्धमा धकेलिरहेको बताए ।

विरोध प्रदर्शनका क्रममा आकाशिंदो महंगी नियन्त्रण गर, करवृद्धि खारेज गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई सख्त कारबाही गर, जनविरोधी ऐनकानुन खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिन्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।

कोणसभा कार्यक्रमको उद्घोषण सञ्चालन गर्दै प्रदेश नम्बर ३ का देशभक्त जनगणतान्त्रिक मोर्चा संयोजक पवनमान श्रेष्ठले देशलाई अब फासिवादीकरण हुनबाट जोगाउन वर्तमान सरकार यसका मन्त्रीहरुले देश, जनता र जनपक्षीय कामहरुका विरुद्धमा दिने र गर्ने गरेका  निर्देशन र तथा कामहरुको डटेर सामना गर्दै अघि बढ्नु पर्ने बेला आइसकेको बताएका थिए ।