नयाँ दिल्ली । नेपाली एकता समाज भारत अन्तर्गत पञ्जाव राज्य समितिको भेला सम्पन्न भएको छ । वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले अध्यक्ष सुमन्त केसी, उपाध्यक्षहरु नर बहादुर गौतम, चीरञ्जीवि शर्मा र राजु श्रेष्ठ, सचिव निर्मल विक, सहसचिव भरत विक, कोषध्यक्ष उदय बहादुर घर्ती रहेको ४१ सदस्यीय राज्य समिति गठन गरेको थियो ।
गत जुलाईमा नै राज्यको पठानकोट, तलवाडा, होसियारपूर, लुधियाना र जलन्धर नगर समितीहरुले नगर भेलाहरु सम्पन्न गरेर नगर समितिहरुको निर्माण गरिसकेको समाजले राज्यको भेला गरेको हो । सुमन्त केसीको अध्यक्षता र राम बहादुर कौशलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमलाई निर्मल विकले स्वागत गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै अतिथि सिग्देलले सुगौली सन्धिदेखि सुरुभएको राष्ट्रघातको प्रक्रिया राणा, नेपाली कांग्रेस, एमाले र माके हुंदै आज नेकपाको कार्यकालसम्म आईपुग्दा उत्कर्ष तिर गैरहेको बताए । आजसम्म सत्तामा धेरै अनुहार फेरिए पनि ती सबैले सामन्तवाद र साम्राज्यवादको पक्षमा नै काम गरेका कारण देशमा जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या विकराल बन्दै गएको उल्लेख गरे । वाह्य शक्ति त्यसमा पनि मूख्यतः भारतीय शासकवर्गको निर्देशनमा चल्ने र घरेलु प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दःुखको कारण रहेको उनको जोड थियो । जनताको सरकार हो भनी दावी गर्ने कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको भन्दै जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहने कुरातर्फ उनले सबैको ध्यानाकर्षण गरेका थिए ।
नेपाली एकता समाज, भारतका केन्द्रीय उपाध्यक्ष रामचन्द्र घिमिरेले समाजले भारतभरी छरिएर रहेका नेपालीको हितमा काम गर्दै आएको कुरा दावी गरे । उनले नेपालमा हुने आमुल परिवर्तनका लागि समेत प्रवाशमा रहेका नेपालीको पनि महत्वपूर्ण भूमिका रहने कुरा उल्लेख गरेका थिए ।
यसका साथै, मञ्चमा आसिन नेपाली एकता समाज, भारतका केन्द्रीय सचिव मिलन केसी सदस्य लगायत अन्य नेताहरुहरुले पनि सम्मेलनलाई सम्बोधन गर्दै त्यसको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका बीचमा स्थानीय कलाकारहरुले प्रगतिशील गीत तथा नाचहरु प्रस्तुत गरेका थिए ।