जीवनबाट निराश भई
मृत्युको बाटो रोजेर
मर्न चाहनेलाई मर्न देऊ
मर्नु र जन्मनु प्रकृतिको नियम हो
एकदिन सबैले मर्नु नै छ
तर,
मृत्युको मूल्य थाह नपाउनेहरु
अनायास सुसाईड गर्छन्
र इतिहासबाट विलोप हुन्छन् ।
सुदुर यात्राबाट पथ विचलित भएर
भाग्न खोज्नेलाई भाग्न देऊ
भाग्नु कायरताको प्रतिक हो
क्रान्तिको उत्सर्गको बेला गद्दारी गर्नुभन्दा
पहिल्यै भाग्नु पर्दथ्यो कायरहरु
मगज बिग्रेर कसैले सुसाइड गर्दैमा
क्रान्ति मर्दैन ।
पथ विचलित भएर
बैरीको दासत्व स्वीकार गरी
लम्पसार पर्दै
केही भगौडाहरु भाग्दैमा
अवरुद्ध हुदैन क्रान्ति ।
क्रान्ति दर्शन हो र विज्ञान पनि
क्रान्ति विचार हो र राजनीति पनि
क्रान्ति संघर्ष हो उथलपुथल पनि
यस्को आफ्नै नियम हुन्छ ।
कहिले चढावमा माथिमाथि पुग्छ क्रान्ति
कहिले उतारमा तलतल झर्छ क्रान्ति
कहिले जीतमा अगाडि बढ्छ क्रान्ति
कहिले हारमा पछाडि हट्छ क्रान्ति ।
यही द्वन्द्वका बीचबाट बक्र रेखाको आकृतिमा
आरोह र अवरोहका श्रृङ्खलाहरु पार गर्दै
अजङ्गका पहाडहरु भत्काएर
एउटा कुशल नेतृत्वको अगुवाइमा
एकदिन ज्वारभाटा झैं उर्लिएर
आफनो गन्तव्यमा पुग्छ क्रान्ति ।
त्यसबेला,
न कोही कायरहरु भाग्न पाउने छन्
न कोही भगौडाहरु लुक्न पाउने छन्
होसियार !
कलियुगका
ख … ल … ना … य … क … ह … रु !!