श्रीमान्को अदालत

सँधै रैती मनुखेको मुद्दा फैसला गरेर जीवनको आखिरी समयसम्म गुजारेका सम्मान्ने श्रीमान्का विरुद्ध मुद्दा प¥यो । उनका विरुद्धको मुद्दा पन्ध्र जना मान्ने सदस्य श्रीमान्हर्को फूल बेञ्चको इजलासले हेर्ने भयो । त्यो पनि चुनाउ जितेर गएका मान्ने श्रमान्हर्को संसदीय इजलासमा । उनका विरुद्ध मुद्दा परेपछि झण्डै एक महिनासम्म इजलासमा गरमा गरम बहस चल्यो । यस्तो मुद्दा त पैला पैला पनि परिरहन्थ्यो । सदासर्वदाझैँ यतिखेर पनि प¥यो । मुद्दा परेपछि सर्वोच्चका समान्ने श्रीमान् बयान दिन फूल बेञ्चको कठघरामा खडा भए । मान्ने श्रीमान्हर्को घण्टौँ घण्टासम्मको प्रश्नै प्रश्नको बौछार सुनेपछि समान्ने श्रीमान्ले दश मिन्टमा आफ्नो जवाफ सुनाए । अर्थात् सँधै वकिलहर्को बादी प्रतिबादी बहस सुनेर पाँचदश मिन्टमा फैसला हान्ने बानी परेका समान्ने श्रीमान्ले यहाँ पनि दश मिन्टमा फैसला सुनाए । यहाँ उनले आफू प्रतिबादी हुँ भन्ने विर्से क्यारे । बयान दिनुपर्नेले फैसला पो हाने । उनको फैसलाले मान्ने श्रीमान्हर्को मानमर्दन भयो । मान्ने सदस्य श्रीमान्हरू परे फसादमा । कठघरामा उभिएको प्रतिबादीले कठघराबाटै फैसला हान्ला भन्ने उनीहर्काे कल्पनाकै कुरो थेन । भयो त्यस्तै । अब हराउने कि जिताउने ? प¥यो फसाद । त्यस पछि महिना दिनसम्म पन्ध्रेभाइ मान्ने श्रीमान्हर्का बिचमा दगलफसल दगलफसल चलिरह्यो । सत्तापक्षका श्रीमान्हर्ले आफ्नो सत्ताअनुकूल नचल्ने समान्नेलाई खुस्काइदिने मौका यही हो भनेर कस्सिए । सत्ताको प्रतिपक्षका श्रीमान्हर्ले सत्तापक्षका विरुद्ध उभिने मौका यही हो भनेर न्वारानदेखिको बल लगाएर सम्मान्ने श्रीमान्का पक्षमा उभिए ।

मुद्दा पनि बडा विचित्रको प¥यो । जस्ले जीवनभर जेजसरी भएपनि न्याय अन्याय छुट्याएर फैसला हानेको श्रीमान्लाई तँ मुखिया श्रीमान् बन्न योग्य छस् कि छैनस् भनेर तुलोपानी लाउनु पर्ने मुद्दा । जीवनभरी मान्ने श्रीमान् न्यायमूर्ति बनेर दुनियाँलाई हराउने जिताउने काम गरे । त्यतिवेलासम्म उनी अब्बल दर्जाकै मान्ने श्रीमान् बनिरहे । उनका विरुद्ध कसैले दागा धरेन । हराउनेलाई जिताए पनि जिताउनेलाई हराए पनि कसैले त्यसको सोधीखोजी गरेन । यसरी न्याय अन्याय छुट्याएर फैसला हान्ने बानी परेर जीवनको पिण्डाध्र्र उमेरमा पुगेका बेला सम्मान्ने श्रीमान् बन्नै लाग्दा जागिरै धरापमा पर्ने गरी मुद्दा पर्नु कम्ता कुरो हो र ? का.बा. अर्थात् हाफ सम्मान्ने बन्न पनि उनलाई कसैले रोकेन । तर फूल सम्मान्ने बन्न उनलाई फलामको गजबार तेर्सियो ।

पन्ध्रजना मान्ने श्रीमान्हर्काे फूल बेन्चमा परेको मुद्दा उक्त बेन्चले फैसला हान्न सकेन । मान्ने श्रीमानहरू पक्ष विपक्षमा उभिए । मान्नेहर्को बेन्चले फैसला हान्न नसक्ने अवस्था आयो । मुद्दाको उजुरी र सम्मान्ने श्रीमान्को बयान एक कान दुई मैदान हुँदै पत्रपत्रिकासम्म पुग्यो । फेसबुके भित्तादेखि विजुली पत्रिकासम्मले धुमधडाकाका समाचार छापे, लेखे । त्यसपछि यो मुद्दा हेर्ने जिम्मा सत्तापक्षीय दलिकस क्युरीमा पुग्यो । अदालतमा न्यायमूर्तीहरूको बेन्चमा विवाद भएपछि एमिकस क्युरी गठन गरेर त्यसलाई हेने जिम्मा दिएजस्तै राजनीतिमा पनि दलिकस क्युरी गठन गर्ने प्रावधान हुन्छ । त्यसैले सत्ताका मुखिया सम्मिलित दलिकस क्युरीले सम्मान्नेको बयानलाई अमान्ने घोषणा गरी निजलाई सम्मान्ने श्रीमान् बनाउन अयोग्य ठहर गर्नु भनि सुझाउ (उर्फ आदेस्) पठायो । त्यसपछि कानुनी रूपमा मान्ने सदस्य श्रीमान्हर्को बेन्च कार्यकारी भएपनि यथार्थमा दुइतिहाई बहुमत प्राप्त इतिहासकै सर्वाधिक बलियो सरकारका मुखिया सम्मिलित दलिकस क्युरी (डिफ्याक्टो इजलास) कार्यकारी रहेको क्युरीको आदेश मान्नु पर्ने अवस्था मान्ने श्रीमान्हर्को बेन्चलाई आयो । दलिकसक्युरीको छत्रछायाँमा रहेको इजलासले आफ्नो स्वविवेक प्रयोग गर्ने कुरा आएन । आउने कुरो पनि त हैन । अन्तमा फूल सम्मान्ने हुनमा रोकावट आयो । यसरी हाफ सम्मान्ने श्रीमान्ज्यूलाई जीवनको पिण्डाद्र्ध उमेरमा आएर उनको पढाईलेखाईदेखि उनले गर्ने निया निसाफमासमेत खग्रास ग्रहण लाग्यो । उनी अयोग्य घोषित भए ।

यसरी सम्मान्ने श्रीमान् हुन अयोग्य ठहर गरिनुका निम्न कारणहरू रहे –
१. सम्मान्ने न्यायमूर्ति बनेर न्यायालयको नेतृत्व गर्ने हुती, जोस जाँगर क्यै नभएको, जोस हुनुपर्नेमा जोशी भएको,
२. उनका विरुद्धमा परेका उजुरबाजुरहर्को चित्तबुझ्दो जवाफ दिन नसकेको,
३. पढाई लेखाईमा पनि गडबड गरी ढाँट्टढुँट्टे प्रमाणपत्रका खोस्टा बोकेर गजक्क परेको,
४. बाहिरफेरा हिँड्दा–डुल्दा, खाँदा–प्युँदा, हाच्छ्युँ गर्दा, खोक्दा, बोल्दा, उठबस गर्दा, अरुले नमस्कार गरेको बेला नमस्कार फर्काउँदा, मर्निङवाक गर्दा, ब्याटमिन्टन खेल्दा वर्दा, आचरण राम्रो नदेखाएको, अरुको खान मात्रै पल्केको, आफूले ख्वाउन नजानेको,
५. आजसम्म सर्वोच्चमा बसेर निया निसाफ गर्दा एकपक्षलाई जिताएको र अर्को पक्षलाई हराई उचित निया निसाफ दिन नसकेको,
६. निजको कामबाट निया निसाफ स्वच्छ, निष्पक्ष र धाँदली रहित हुन नसक्ने ठहर दलिकस क्युरीले गरेको हुनाले,

उपर्युल्लिखित कारणहरूले गर्दा यस मान्ने सदस्यहर्को इजालस विस्वस्त हुन नसको हुनाले निज हाफ सम्मान्ने श्रीमान्लाई फूल सम्मान्ने श्रीमान्मा बढुवा गर्न नसकिने ठहर गर्दछ । साथै श्रीमान्ले यो इजलासको फैसलालाई अटेरी गरी पदमा बसिराखेर अरुको बाटो छेकथुन गर्न खोजेमा महाअभियोग लगाएर महाकुम्भ इजलासमा पेस गरिने चेतावनी पनि दिने ठहर गर्दछ ।