केन्द्रीय समितिको बैठक र त्यसको महत्व

केन्द्रीय समितिको बैठक र त्यसको महत्व

१. विषय प्रवेश
नेपालमा कम्युनिस्ट आन्दोलन संगठित तबरबाट सुरुआत भएको ६९ वर्ष भयो । यस अवधिमा वर्ग संघर्ष विभिन्न उतार चढाबमा गुज्रदै आएको छ । ०२८ सालको झापाको वर्ग संघर्ष एउटा तरङ्ग थियो भने ०५२–०६३ सम्मको महान् जनयुद्ध वास्तवमा वर्ग संघर्षको एउटा उत्कर्ष थियो । तर उक्त वर्ग संघर्षका मुख्य नेतृत्वकर्ता सर्वहारा वर्गलाई धोखाधडी गर्दै यतिवेला साम्राज्यवादका अगाडि घुँडा टेक्न पुगेको छ । खड्गप्रसाद ओली जस्ता गद्दारहरुले सर्वहारा वर्गको घाँटी रेटेर दुश्मनसँग हातेमालो गर्दै दश वर्षको जनयुद्धका क्रममा सर्वहारा वर्गको महान् क्रान्तिप्रति कुनै न कुनै तरबरबाट हमला गर्दै आएको तीतो यथार्थ हाम्रासामु छँदैछ, तर आज दश वर्षको जनयुद्धको मुख्य नेतृत्व गर्दै आएको प्रचण्ड स्वयम्ले महान् शहीदहरु, वेपत्ता योद्धाहरु र घाइते योद्धाहरुको रगतमा होली खेल्दै यति बेला आफूलाई वर्ग दुश्मनको कित्तामा उभ्याएका छन् । या, भनौ वर्ग दुश्मनको कित्तामा पुगेका छन् ।

त्यतिमात्र होइन, विगतको क्रान्तिप्रति पश्चत्ताप गर्दै अगामी दिनमा साम्राज्यवाद, पुँजीवाद र अझ मुख्यतः विस्तारवादको निर्देशन मुताविक सर्वहारा वर्गको वर्ग संघर्ष दबाउन फासीवादमा जाने संकल्प गरेका छन् । दुःखको कुरा यो छ कि सर्वहारा वर्गीय आन्दोलनमा लागेर ठूलै त्याग गरेका कतिपय व्यक्तिहरु समेत लाचार बनेर प्रचण्डसँगै घुँडा टेक्न पुग्नु भनेको नेपालको कम्युनिस्ट आन्दोलनभित्र चेतनास्तरको न्यूनता कति खतरनाक रहेछ भन्ने पनि हो । विचार शुन्य, नेतामुखी र दब्बु मानसिकता कति खतरनाक हुँदो रहेछ भन्ने यतिबेला सहजै बुझ्न सकिन्छ ।

एकातिर नेपाली क्रान्तिको घाँटी रेटेर महान् शहीदहरु, बेपत्ता योद्धा र घाइते योद्धाहरुको रगतको होलीखेल्दै अन्तिम पटक दुश्मनका अगाडि घुँडा टेक्न पुगेका प्रचण्ड मण्डली आगामी दिनमा हुने सर्वहारा वर्गको वर्ग संघर्ष दबाउन दुश्मनसँग मिलेर फासीवादी तबरबाट आउने कसम खाएका छन् । त्यसको संकेत सतहमा देखिदै पनि छ । एकातिर दुश्मनको यो अवस्था छ भने अर्कोतिर सच्चा क्रान्तिकारी आन्दोलन कमजोर बनाउन कथित क्रान्तिकारिताको नाममा स्पष्ट कार्यदिशाविना क्रान्तिका कुरा गरेर इमान्दार जनता कार्यकर्तालाई भ्रमित बनाउने काम समेत बजारमा हुँदै आइरहेका छन् । यस विषयमा पनि क्रान्तिकारीहरुलाई क्रान्तिको बाटोमा डो¥याउन आवश्यक छ । जनताले यतिबेला क्रान्तिकारी शक्तिमाथि नै आशा, भरोसा र विश्वास गरेका छन् ।

वर्ग दुश्मनहरुको साम, दाम, दण्ड, भेदको नीतिअनुसार सत्ताको दुरुपयोग गरेर जतिसुकै प्रचार गरे तापनि यथार्थमा उत्पीडनमा परेका मजदुर, किसान लगायतका समुदायहरुको जीवनमा सकारात्मक तबरबाट कुनै पनि परिवर्तन आएको छैन र आउने वाला पनि छैन । त्यसैले क्रान्तिका निम्ति बलियो आधारभूमि तयार हुँदैछ । यति बेलाको आवश्यकता भनेको बुझाइको एक रुपताको आवश्यकता हो । नीति, योजना, कार्यक्रमलाई व्यवहारमा उतार्ने कार्यदक्षताको आवश्यकता हो । वर्गप्रति त्याग र समपर्ण भावको आवश्यकता हो । निष्ठा, इमान्दारिता र इच्छा शक्तिको आवश्यकता हो ।

पार्टी केन्द्रीय समितिको बैठकको महत्व

नेपालको राष्ट्रिय राजनीतिमा देखिएको प्रतिक्रियावादसँग संशोधनवादीहरुको गठजोड र अझ वर्ग आत्मसमपर्णवादी गतिविधि र त्यसले पैदा गरेका सकारात्मक तथा नकारात्मक अवस्थालाई मध्यनजर गर्दै आएको सर्वहारा वर्गको एक मात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को यहि ०७५ आषाढ १२–१६ सम्म पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बैठक बस्यो । पार्टीको महासचिव क. किरणले पेश गर्नुभएको दस्तावेजमाथि उपस्थित सबै कमरेडहरुले अत्यन्तै गहनतापूर्वक छलफलमा भाग लिनु भएको थियो । सर्वहारा वर्गको मुक्ति र समानताका साथै राष्ट्रिय स्वाधिनताको प्राप्ति र रक्षाका खातिर केन्द्रित भएर छलफल अगाडि बढ्यो ।

पार्टीको पोखरा राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेजको मूल मर्म तथा चितवनको बैठकले तय गरेको नीति, योजना, कार्यक्रम मूलत ५ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियानदेखि राष्ट्रिय स्वाधिनताको पक्षमा पार्टीले गरेका संघर्षमा रहन गएका कमीकमजोरी तथा उपलब्धिका सम्बन्धमा अत्यन्तै उचाइबाट छलफलहरु भए । सबै संसदीय पार्टी तथा अन्य कतिपय पार्टीहरु समेत सर्वहारा वर्गको कार्यभार पूरा गर्ने ठाउँबाट पतन हुँदै र पछि हट्दै गैराखेको वर्तमान अवस्थामा यो पार्टीलाई कसरी धारिलो बनाउने र सर्वहारा वर्गीय कार्यभार पूरा गर्ने भन्ने चिन्ता र चासोका साथ छलफलका मूल विषयहरु केिन्द्रत बन्न पुगे । वर्ग संघर्ष उठाउन र क्रान्तिका कार्यभार पूरा गर्न आफूले जस्तो त्याग र बलिदान गर्न पछि नपर्ने उच्च मनोबलका साथ एकता, संघर्ष रुपान्तरण मुख्यतः यतिबेलाको आवश्यकता भनेको उदासिनता, अकर्मण्यता जस्ता विषयहरुप्रति कडा प्रहारगर्दै आफै समृद्ध बनाउन सुझाव ग्रहण गर्नुका साथै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्न र पार्टीलाई साँच्चिकै क्रान्तिकारी र क्रियाशील पार्टी बनाउने प्रतिवद्धता सबैले जाहेर गर्दै पारित गरियो ।

बैठकले लिएका यिनै महत्वपूर्ण विषयलाई आगामी दिनमा कार्यान्वयन गरेको खण्डमा वास्तवमा वर्ग दुश्मनले खडा गरेका सबै खाले पर्खालहरुलाई ढाल्दै सर्वहारा वर्गको क्रान्तिको ढोका खोल्न सम्भव छ भन्ने कुरा देखाएको छ । त्यसैले विगतका दिनहरुका सम्पन्न भएका बैठक, सम्मेलन, भेलाभन्दा भर्खरै सम्पन्न बैठकको अत्यन्तै महत्व रहन पुगेको छ ।

निर्णयहरुको कार्यान्वयन

हाम्रो पार्टीले लिएको निर्णय वस्तुवादी मात्र होइन, क्रान्तिकारी पनि हो र छ भन्ने कुरा त आज सम्मका घटना क्रमले प्रष्ट पारिसकेको छ । तर त्यसलाई कार्यान्वयन गर्नमा एउटा प्रतिक्रियावादी वर्गमा पतनहुँदै गएको विगतको माओवादी केन्द्रले बाह्य रुपमा अवरोध पैदा गरेको छ भने आन्तरिक रुपमा आपैm भित्रको उदासिनता, आक्रमण्यता, ढिलासुस्ती, बुझाइमा अनेकता जस्ता विषयहरु बाधकका रुपमा रहँदै आएका थिए र छन् ।

आज क्रान्तिकारीहरुको निरन्तर भण्डाफोर तथा उसको आफ्नै वैचारिक टाटपल्टाइ तथा वर्ग आत्मसमपर्णवादको अनिवार्य परिणामस्वरुप प्रतिकृयावादमा पतनको कारण एउटा कालखण्डको अन्त्य हुन गएको छ । अब कसैले पनि र कसैलाई पनि बीचमा रहेर ढाट्ने छलछाम गर्ने स्थान बाँकी छैन । किनकि सिद्धान्तमा मात्र होइन, व्यवहारतः नै उसको अवसान भएको छ ।

दोस्रो, सबै जिम्मेवार नेताहरुले आफैप्रति निर्मम बनेर आफ्ना विचारहरु राखेर बैठकलाई शानदार बनाउनु भएको छ । यसकारण आगामी दिनमा पार्टीले तय गरेका योजनाहरु शानदार ढंगबाट कार्यान्वयन हुने कुरामा दुई मत रहँदैन । जनताले हामीबाट गरेको आशा, भरोसा र विश्वासप्रति प्रतिवद्ध भएर एक रुपताका साथ जनतामा जानु उनीहरुलाई संगठित गर्नु र संघर्षमा ल्याउनु हो । कथित वामका नाममा देखा परिरहेको फासिवादका विरुद्धको संघर्षलाई उठाउनु आजको टडकारो आवश्यकता बनिसकेको छ । किनकि कालाबजारी, तस्करी, भ्रष्टचार, महंगी, घुसखोरी जस्ता विषयहरुले जनता आक्रान्त बनिरहेका छन् र राष्ट्रिय स्वाधिनता एकपछि अर्को गर्दै समाप्त हुँदैछ । राज्यले गर्दै आएको आपराधिक क्रियाकलापविरुद्ध एक प्रकारको चोटिलो संघर्षको आवश्यकता छ । जन प्रतिरोधको आवश्यकता छ । राज्यसत्ता नै सर्वहारा वर्गको हातमा लिन जनविद्रोहको आवश्यकता छ । यो काम सर्वहारा वर्गको पार्टीले मात्र पूरा गर्न सक्दछ ।

त्यसैले, यति बेलाको आवश्यकता अथवा पार्टीले लिएको कदम भनेको व्यापक जनताको बीचमा जानु जनतासँग एकाकार हुनु हो । उनीहरुलाई जनसंगठनमा गोलबन्द गर्नु र माथि उल्लेखित जनसरोकारका विषयहरुलाई लिएर जनप्रतिरोधात्मक कार्यवाहीहरु संचालन गर्नु हो । यसका निमित्त व्यापक मात्रामा जानु नै यस बैठकको सार हो । यसले संगठन विस्तार मात्र होइन, संगठनलाई सुदृढ गर्न त्यत्तिकै मद्दत गर्छ भने केन्द्रबाट शुद्धीकृत गर्ने प्रक्रियाको थालनी पनि गर्छ । पार्टीको यही मर्मलाई पकडौं । बैठकको सार कुरा यसैमा छ ।