जुम्ला, साउन ३ । २० दिनदेखि जारी डा. गोविन्द केसीको अनशनलाई साथ दिन जम्मा भएका विद्यार्थीको भिडलाई नियन्त्रण गर्ने उद्देश्यले हानिएको गोली सोही भीडलाई नियन्त्रण गर्दै गरेका अर्का प्रहरी जवान कमल उपाध्यायलाई लाग्यो ।
गोली लाग्ने वित्तिकै प्रतिष्ठानमै चिकित्सकहरुले तुरुन्त एक्सरे गर्दा उनको दाहिने छातीमा गोली लागेको भेटियो र अहिले कमलको ज्यान बचाउने कोशिसमा चिकित्सकहरु जुटिरहेका छन् । डा. केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि १० जना घाइते भएका थिए । उनीहरुको पनि त्यहीँ उपचार भइरहेको छ ।
किन भने त डिएसपी तपनकुमार दाहालले जवानको मृत्यु भइसक्यो भनेर ?
प्रदर्शन चर्किरहँदा प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालले भिडलाई तितरवितर गर्ने ध्येयले भनेका रहेछन्, ‘मेरो साथी गइसक्यो । तपाईहरु पछि हट्नुहोस् जे पनि हुनसक्छ ।’
घाइते प्रहरी जवान उपाध्याय र अन्य घाइते विद्यार्थीहरुलाई अप्रेशनका लागि आवश्यक रगत स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले दिएका थिए । घाइते उपाध्यायको अप्रेशनका लागि १० देखि १५ पोइन्ट रगत आवश्यक परेपछि पत्रकारले पनि रगत दिएका छन् । त्यसैगरी प्रतिष्ठानमा बाक्लो भिड जम्मा भएकाले पनि रगत संकलन गरेर अप्रेशन गर्न सहज भएको थियो ।
प्रहरी सहायक निरीक्षक वीर बहादुर भण्डारीले जानकारी दिए अनुसार घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अवस्था खतरामुक्त छ । अहिले उनको जुम्ला अस्पतालमा शल्यक्रिया भइरहेको छ । उनको छातीमा गोली लागेको छ ।