यो विश्वकपमा क्रोएसियाले मार्ला त बाजी ?

यो विश्वकपमा क्रोएसियाले मार्ला त बाजी ?

काठमाडौं, असार ३१ । क्रोएशिया पहिलोपल्ट सन् १९९८ मा विश्वकपमा सहभागी भएको थियो । र पहिलो पल्ट नै उ सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि उ अहिले फाइनलमा पुगेको छ के क्रोएसियाले मार्ला त यो पटकको बाजी ? सबैमा यो चासोको विषय नै बनेको छ । आइतबार (आज) राति ८ः४५मा हुने खेलमा फ्रान्सलाई हराउँन सके विश्वकप विजेतामा नयाँ राष्ट्रको नाम चढ्नेछ ।

उत्कृष्ट मिडफिल्डसँगै राम्रो फिनिसिङ देखिएको क्रोएसियन टिमले विश्व फुटबलकै आयाममा विशेष प्रभाव पारेको छ । जारी विश्वकपमा जर्मनी, अर्जेन्टिना, स्पेन, ब्राजिल जस्ता आश गरिएका टिमहरु निराश भएका बेला क्रोएसिया एकपछि अर्को गर्दै अन्डरडगको चालमा आईरहेको छ ।

क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै रसियालाई २–२ (४–३) हराएको थियो । भने सेमिफाइनलमा विश्वकपको दाबेदार जस्तै मानिएको इंग्ल्याण्डलाई २–१ ले हराएको थियो ।

क्रोएसियाले फाइनल जित्नसक्ने आधार के के त ?

चमत्कारी टिम र प्रेरणा
क्रोएसियाका प्रशिक्षक जाल्ट्को डेलिकले उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो पहिले थिएन । यही कुरा खेलाडीहरुले पनि बारम्बार भन्ने गरेका थिए । रसिया विश्वकपमा अहिले उनीहरुले परिवारको वातावरण पाएका छन् । उनीहरु ५० दिनभन्दा अघिदेखि साथैमा छन् । खेलाडी मैदानमा एकअर्काका लागि ज्यान दिएर खेल्छन् । लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा जित निकाल्न प्रयासरत थिए ।

मनोविज्ञान र आचरण
डेनमार्क, रसिया र इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम क्रोएसिया नै हो । डेनमार्क र रसियासँगको खेल क्रोएसियाले टाइब्रेकरमा जित्यो ।

इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ’ को रुपमा उदाएको छ । यसमा खेलाडीले देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ । कप्तान लुका मोडरिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौं ।’ क्रोएसियाको यही असल आचरण फ्रान्ससँगको फाइनलमा काम लाग्ने छ ।

अनुभव र आत्मविश्वास
मोडरिक क्रोएसियाको उत्कृष्ट पुस्ताको नेतृत्वमा छन् । रियल मड्रिडका मोडरिकसँगै बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु पनि क्रोएसियन टिमको साथमा छन् ।

इभान ¥याकिटिक, मारियो मान्जुकीज, इभान पेरिसिक, माटेओ कोभासिक र डिजेन लोभरेनले उत्कृष्ट खेल देखाइरहेका छन् । टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना छ । जसमा अनुभव सँगै आत्मविश्वास बलियो छ ।

बलियो मिडफिल्ड
क्रोएसियन टिमको प्रमुख जितको आधार मिडफिल्डबाट नै बनेको देख्न सकिन्छ । अहिले विश्व फुटबलमै उत्कृष्ट रहेका इभान ¥याकिटिक र लुका मोडरिकले मिडफिल्डबाट क्रोएसियन टिमको अग्रता बनाइरहेका छन् ।

मिडफिल्डसँगै अट्याकिङ लाइन पनि रचनात्मक, संगठित र संरचित लाग्छ । उनीहरुको खेलमा अरु खेलाडीले पनि तालमेल मिलाइसकेका छन् । उनीहरुसँगै मिडफिल्डमै इन्टर मिलानका मार्सेलो ब्रोजोभिकले पनि गजवको काम गरिरहेका छन् । रियल मड्रडकै माटेओ कोवासिक, फिरोन्टेनियाका मिलान बडेल्ज सबै नै क्रोएसियन फुटबल इतिहासकै उत्कृष्ट पुस्ता हुन् ।