काठमाडौंको फोहोर उठ्न एक साता अझैं लाग्ने

काठमाडौंको फोहोर उठ्न एक साता अझैं लाग्ने

काठमाडौं, असार ३१ । लगभग एक महिनादेखि नियमित रुपमा उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर उठ्न अझैं एक साता लाग्ने भएको छ ।

नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो ।
महानगरपालिकाले जानकारी दिए अनुसार, फोहोर व्यवस्थापन गर्ने स्थानको मात्र नभइकन लैजाने बाटो पनि बिग्रिएकोले बाटो मर्मत गर्न र सिसडोलमा पनि थप व्यवस्थापन गर्न करिब एक हप्ता लाग्ने छ ।

महानगरका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताउँछन् । व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि निर्देशक ढकालले नागरिकलाई अनुरोध गरेका छन् ।

कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरुको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् ।

आज १२ वर्ष बितिसक्दा पनि अन्य समयमा नै विकल्प नखोज्दा अहिले कामपालाई व्यवस्थापन गर्न समस्या भएको छ । केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बन्चरेडाँडामा दीर्घकालीन रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनिएको थियो ।

बच्चरेडाँडामा व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि प्रयासरत मात्र रहेको र हालसम्म काम शुरु हुन नसकेको कामपा वातावरण विभागका कर्मचारी युवराज खनाल बताउँछन् ।