काठमाडौं, असार २९ । बढ्दो आधुनिकताको नाममा विभिन्न प्रकारका बन्द डब्बाको तथा बन्द प्याकेटको खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो रुपमा भइरहेको छ र यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ ।
यो सँगै नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ । सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।
नेपालमा गरिएको एक दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई हेर्दा औसतमा ५५ देखि ६० प्रतिशतसम्म बालबालिकाको दाँतमा किराले खाएको पाइएको छ ।
कसरी लाग्छ दाँतमा किरा ?
दन्तरोग विशेषज्ञहरूका अनुसार, दाँत सड्दा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो यसलाई नै साधरण बोलीचालीको भाषामा दाँतमा किरा लाग्नु भनिन्छ । दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् । प्वाल (क्याभिटी)लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ ।
यदी दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा किरा लागेको हुन सक्छ । यस्तो बेला दन्त चिकित्सकको सल्लाह लिनुपर्छ । अहिले १२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको ¥यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ । यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।
दाँतमा किरा लाग्न नदिन के गर्ने ?
दाँतमा किरा लाग्न नदिन बचाउका केही उपाएहरु अत्यन्त महत्वपूर्ण रहेको दन्तरोग बिशेषज्ञहरू बताउँछन् । बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ ।राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो । बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।
दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।
प्रत्येक स्कुलले बालबालिकालाई बिहान–बेलुका दाँत माझ्न प्रेरित गराउने र नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नाले निकै प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् । बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ । दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुईरचार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ । दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार र्पुयाउनुपर्छ । बालबालिकालाई छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।