एजेन्सी । विश्वका प्राय फुटबल फ्यानको ध्यान अहिले विश्वकपमा रहिरहेको बेला अर्को समाचारले पनि फुटबल जगतलाई तताई राखेको छ । त्यो हो विश्वप्रसिद्ध फुटबल खेलाडि क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेर इटालीयन क्वल यूभेन्ट्स जाने हल्ला ।
रियल मड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजका निकटस्थी जोसे एन्जिल सान्चोज र क्रिष्टियानो रोनाल्डोका एजेन्ट जोर्गी मेन्डिजबीच बुधबार राति रोनाल्डो क्लबबाट बाहिरिने शर्तहरुबारेमा अन्तिम छलफल भएको छ ।
छलफलका क्रममा सान्चोजले मेन्डिजसँग रोनाल्डो क्लबबाट जाने भए १०० मिलियन यूरो तिर्नुपर्ने शर्त राखेको र मेन्डिजले रोनाल्डो जान लागेको क्लब यूभेन्ट्स उक्त रकम तिर्न तयार रहेको बताएका छन् ।
मार्काका अनुसार उनीहरुबीच रोनाल्डोले रियल मड्रिडलाई निरन्तरता दिनसक्ने विषयमा पनि छलफल भएको थियो । तर, रोनाल्डोले माग गरेअनुसारको तलब दिन रियल तयार नदेखिएपछि रोनाल्डोको विदाई निश्चित भएको हो ।
उनीहरुबीच रोनाल्डोको विदाई कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । जसमा दुबैले सकरात्मक र सौहार्दपूर्ण वातावरणमा उनको विदाई हुनुपर्नेमा जोड दिएका थिए । अब रोनाल्डोको ध्यान यूभेन्ट्समा केन्द्रीत भईसकेको र बाँकी चार सिजन उनी यूभेन्ट्सबाट खेल्ने समाचारमा उल्लेख छ ।