मेस्सीकाे नक्कल गर्न खोज्दा १९ वर्षीय फुटबलरको गयो ज्यान

मेस्सीकाे नक्कल गर्न खोज्दा १९ वर्षीय फुटबलरको गयो ज्यान

एजेन्सी, असार २१ । संसारको जो कोही खेलप्रेमीको लागि आ–आफ्नो आइडल खेलाडी हुने गर्दछ । अझ उदयमान खेलाडीको हकमा त यो निकै नै लागू हुन्छ । उनीहरु आफूलाई मनपर्ने खेलाडीको नक्कल गर्ने र उसको इस्टाइलमा खेल्न रुचाउँछन् । विशेषगरी उनीहरुले जस्तै शट्स हान्ने र उनीहरुले झैं आफूलाई मुभ गर्ने ।

थुप्रैपटक उनीहरु सफल हुन्छन् तर कतिपय अवस्थामा असफल हुँदा यसको प्रतिफल पनि भोग्नुपर्छ । यस्तै एउटा घटना भारतीय युवा फुटबल खेलाडीले भोग्नु परेको छ । कोलकोताका कलेजका छात्र र जुनियर १९ वर्षीय फुटबलर सागर दासको लियोनेल मेस्सीको शट कपी गर्दा मृत्यु भएको छ ।

कोलकातास्थित बेलघारियाको न्यू बासुदेबपुरका सागर देशप्रियनगर मैदानमा बुधबार एक स्थानीय क्लबका लागि फुटबल म्याच खेलिरहेका बेला उनलाई चोट लागेको हो । वास्तवमा उनी मेस्सीले जस्तै शट लगाएर गोल गर्न चाहन्थे तर उनी यसो गर्नबाट चुके जसका कारण बल उनको छातीमा लाग्यो । त्यसपछि उनलाई दत्ता मेडिकल कलेज हस्पिटलमा भर्ना गरियो जहाँ उनको मृत्यु भयो ।

यसबारे उनका नजिकका साथी समय कोयलले दास फुटबल र लियोनेल मेस्सीका निकै ठूला प्रशंसक भएको बताए । मध्यरातमा भएपनि विश्वकपमा सबै खेल हेरिरहेका थिए । बुधबार स्थानीय क्लबसँगको प्रतिस्पर्धाको क्रममा आफ्नो मनपर्ने फुटबलर लियोनेल मेस्सीको मुभ नक्कल गर्ने कोसिस गरिरहेका थिए । यति नै बेला उनको निशाना चुक्यो र बल उनको छातीमा लाग्यो ।

दासका क्लबका साथी प्रणव भट्टाचार्यका अनुसार उनी टीमको स्ट्राइकरको रुपमा खेल्थे । उनी भन्छन्, ‘उनी धेरैजसो मेस्सी र नेइमारसहित विभिन्न खेलाडीको मुभको नक्कल गर्ने गर्थे । तर बुधबार उनको ब्यालेन्स बिग्रियो जसका कारण उनलाई चोट लाग्यो ।’ क्लबले शोक जताउँदै आफूहरु हैरानीमा परेको बताए । आफूहरुले उदायमान र उत्कृष्ट फुटबलरलाई गुमाएको क्लबले बताएको छ ।