टुंगियो जर्मनको विश्वकप यात्रा, आज जापानले बराबरी खेले पनि अन्तिम १६ मा

टुंगियो जर्मनको विश्वकप यात्रा, आज जापानले बराबरी खेले पनि अन्तिम १६ मा

काठमाडौं, असार १४ । ९० औं मिनेटको खेल सकिदाँसम्म बराबरीको स्थितिमा रहेको जर्मनी र कोरियाबीचको खेलमा एक्कासी कोरियाको योङ–ग्वान किम र ह्युङ–मिन सनको गोल गरेपछि जर्मनीले २–०को नमिठो हार ब्यहो¥यो र यो सँगै डिफेन्डिङ च्याम्पियन जर्मनीको बुधबारदेखि रुस यात्रा समाप्त भयो ।

अन्तिम १६ मा स्थान बनाउनका लागि जर्मनीलाई कजानमा भएको समूह ‘एफ’ को अन्तिम खेलमा दुई गोलको निश्चित जित चाहिएको थियो । तर जोचिम लोको टिमले शृंखलाबद्ध रूपमा अवसर गुमाएको थियो । त्यसैले जर्मनी विश्वकप विजेता भएर पनि उपाधि रक्षाको अभियानमा समूह चरणबाटै बाहिरिने यो शताब्दीको चौथो टिम बन्यो ।

सुपरस्टारहरूको जर्मन टिम अन्तिम समयमा स्तब्ध भयो, जतिबेला अमेरिकी रेफ्री मार्क गेइगरले ‘अनमार्क’ किमको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा मान्यता दिएका थिए । कर्नरमा पाएको उक्त अवसरमा उनले जर्मन गोलकिपर म्यानुयल नोयरलाई कुनै अवसर दिएनन् । टोनी क्रुसले बल छोएकाले किम अफसाइड भएनन् र त्यस गोलले मान्यता पनि पायो ।

त्यसको केही मिनेटमै नोयर गोल गर्ने प्रयासमा आक्रामक रूपमा मैदानमा अघि बढ्दा जर्मनी ०–२ ले पछाडि परेको थियो । टोटेनहमका फरवार्ड सनले मैदानमा लामो दूरी पार गर्दै बल क्लियर गर्ने चुनौती पन्छाएर खाली पोस्टमा गोल गरेका थिए । त्यसले चारपल्टको विश्वकप विजेता जर्मनीको चुनौती सन् १९३८ यता पहिलोपल्ट पहिलो चरणमै टुंग्याइदियो । विश्वकपको अघिल्ला १६ संस्करणमा यसअघि जर्मनी पहिलो चरणबाटै बाहिरिएको थिएन ।

त्यस्तै, आज(बिहीबार) हुने समूह ‘एच’को खेलमा जापानले पोल्यान्डसँग सामना गर्दैछ । जापानका लागि नकआउट चरण प्रवेश गर्न बराबरी नै पर्याप्त हुनेछ । उसले यसअघिको खेलहरुमा कोलम्बियालाई हराएको थियो भने सेनेगलसँग बराबरी खेलेको थियो । पोल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

विश्वकप अगाडि जापानबाट धेरैले अपेक्षा नराखेको भए पनि भाग्यमानी साबित यो टिम समूहको शीर्षस्थानमा छ र उसको पकड पनि मजबुत देखिएको छ । यसक्रममा जापानले सुदृढ खेलमात्र प्रदर्शन गरेको छैन, आक्रमणलाई कसरी सटिक ढंगले गोलमा परिणत गर्नु पर्छ, त्यो पनि देखाएको छ । त्यसो त बराबरी जापानका लागि पर्याप्त छ । टिम यसमै सन्तुष्ट हुने छैन ।

यस्तो किनभन्दा नयाँ प्रशिक्षक अकिरा निसिनोको नेतृत्वमा जापानी फुटबलले नयाँ सोच तयार पारेको छ, यो हो आक्रामक हुने । पोल्यान्डविरुद्ध पनि यही नीति हुनेछ, जितका लागि खेल्ने । ‘जापान अब त्यस्तो टिम रहेन, जसले एक अंकका लागि खेलोस् र त्यसैअनुसार रणनीति बनाओस्,’ कप्तान माकातो हासेबले दाबी गरेका छन् ।

उता, पोल्यान्डका लागि भने यो पल्टको विश्वकप निराशाजनक रह्यो र यो तथ्यले पनि जापानलाई फाइदा पुग्नसक्छ । फिफा वरीयताको आठौं स्थानमा रहेर पनि पोल्यान्डले आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेन । युरोपेली छनोटमा निकै सुदृढ प्रदर्शन गरेको पोल्यान्डले रुसमा त्यस्तै खेल दोर्होयाउन सकेन । पोल्यान्डको त्यो खेल धेरै हदसम्म रोबर्ट लेवान्डोस्कीको खेलले सम्भव भएको थियो । यसपल्ट उनी आफैं असफल रहे ।