यही असार १२ गतेबाट पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलन पछिको यो दोस्रो केन्द्रीय समितिको वैठक पार्टीप्रतिको कार्यकर्ता तथा जनताको आशावादमा देखिएको बृद्धिलाई क्रान्ति र परिवर्तनमा आवश्यक भौतिक शक्तिमा कसरी रुपान्तरण गर्ने र पार्टी बाहिरबाट आएका र आउन सक्ने अनगिन्ति चुनौतीहरुसित कसरी सामना गर्ने रणनीति विकासमा केन्द्रित रहने निश्चित छ । किनभने, त्यस समयदेखि अहिलेसम्म आइपुग्दा पार्टीभित्रका आम नेतादेखि कार्यकर्तास्तरसम्म तुलनात्मक रुपले पार्टीको सैद्धान्तिक, वैचारिक तथा राजनीतिक स्पष्टता र बुझाइमा एक रुपता देखिएको छ र पार्टीको सङगठनात्मक अवस्थामा पनि जनस्तरसम्म केही विकास र सुधार आएको छ ।

यद्धपि यो क्रान्ति र परिवर्तनका लागि आफैमा काफी छैन । तै पनि देशको राजनीतिक स्थितिको र त्यसमा देखिएका राजनीतिक दलहरु बारेको खासगरी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको एमालेमा भएको विलयबारे, पार्टीको विश्लेषण जनता अन्य राजनीतिक दल तथा बुद्धिजीवीहरुले सही ठह¥याएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) सैद्धान्तिक, वैचारिक तथा राजनीतिक हिसाबले र त्यसको उच्च नेतृत्वप्रतिको आशावाद जनतामा कायम देखिएको छ तर जनताको चेतनास्तरलाई र अधिकांश बुद्धिजीवीहरुको सत्ता र सरकारप्रतिको मोहलाई ओली–दाहालले संसदवादी दक्षिणपन्थी संशोधनवादमा उपयोग गर्न सफल देखिएका छन् ।

यसरी नेपाली कम्युनिस्ट आन्दोलनको आजको सबैभन्दा मुख्य समस्या हो : संदवादमा फसेको दक्षिणपन्थी संशोधनवादको चौतर्फी बिगबिगी । संसदवादमा फसेको दक्षिणपन्थी संशोधनवाद नेपालमा अहिले रुप र संख्यामा अत्यन्त शक्तिशाली देखिएको छ । यसका पछाडिको प्रमुख कारणहरुमा : (१) २०२८ सालको झापा सशस्त्र विद्रोहको उच्च नेतृत्व र २०५२ सालको माओवादी जनयुद्धप्रतिको एउटा ठूलो विचलन र विश्वासघातको नेतृत्व दाहाल र भट्टराइले गरेका छन् । (२) संदवादमा फसेका दक्षिणपन्थी संशोधनवादीहरुले जनतामा बाँडेको ‘समृद्धि’ र ‘समाजवाद’को सपना । (३) क्रान्तिकारी कम्युनिस्टहरु खासगरी माओवादीहरु आपसमा विभाजित भइरहनु । (४)क्रान्तिका मित्र राजनीतिक शक्तिहरु– मोहनविक्रम सिंहको नेतृत्वको मसाल र विप्लव नेतृत्वको नेकपामा विद्यमान अस्वाभाविक र असान्दर्भिक अन्तरविरोध बढ्दै जानु ।

यहाँ अस्वाभाविक र असान्दर्भिक किन भनिएको हो भने यी पार्टीहरुले उनीहरु र अन्य दुई पार्टी–नेकपा (क्रान्तिकारी माओवादी) र कट्टेलको नेतृत्वको नेकपाबीचको कार्यगत एकतालाई आ–आफ्नो गुटगत स्वार्थमा उपयोग गर्न खोजे । यसका पछाडि सारमा रहेको अन्तरविरोध विप्लव नेतृत्वको नेकपामा मौलाउँदै गएको व्यक्तिवादी अहङ्कारवाद, आर्थिक अराजकतालाई क्रान्ति र परिवर्तनको जामा लगाउने विगतदेखिको गलत ट्रेन्ड र त्यसैमा रमाउन चाहने युवाहरुको निम्न पुँजीवादी प्रवृत्ति । मोहनविक्रम सिंहमा रहदै आएको मनोगतवादी र सङ्कीर्णताको दलदलमा फसेर संयुक्तमोर्चा र कार्यगत एकतालाई हेर्ने रुपमा क्रान्तिकारी तर सारमा दक्षिणपन्थी सामन्ती प्रवृत्ति कायम छ ।

क्रान्तिकारी धारको निर्माणमा लागेका दलहरुलाई गद्दार, दलाल, अराजकतावादी आदि देख्ने उनको विगतदेखिको प्रवृत्ति । यो प्रवृत्ति अहिले २०५२ सालदेखि नेकपा(एमाले)को पुच्छर समातेर संसदमा सहभागिताको संसदवादी प्रवृतिमा रुपान्तरित भएको छ । अहिले आएर त्यसले एमालेका केपी ओलीलाई राष्ट्रवादी प्रमाणित गर्न कसरत गरिरहेको छ । नेपाली कांग्रेसभित्रका सङ्घीयता विरोधीहरुलाई राष्ट्रवादी देखिरहेको छ । एमाले र माकेको एकतालाई कम्युनिस्ट एकता भनिरहेको छ । लोकतान्त्रिक गणतन्त्रलाई महान् उपलब्धि बताइरहेको छ र नेपालको संविधान २०७२ लाई एउटा जनवादी संविधानका रुपमा जस्तैगरी स्वागत गरिरहेको छ । केबल सङ्घीयता उसका लागि अपाच्य बनेको छ । उसले अहिले प्राप्त उपलब्धीहरुको रक्षालाई जोडतोडका साथ महत्व दिइरहेको छ ।

प्रचण्ड–बाबुराम–ओलीले, हिजो झापा र जनयुद्धको नेतृत्वगर्दा उनका विरुद्धमा जो महत्वाकाङ्क्षी, सत्तालिप्सामा लागेका, निम्नपुँजीवादी, उग्रवादी थिए, तर अहिले संदवादमा फसेको दक्षिणपन्थी संशोधनवादी तिनीहरुका लागि मित्र बनेका छन् । अहिले फेरि उनका लागि नेकपा (क्रान्तिकारी), नेकपाहरु अराजक र उग्रवादी बनेका छन् । यसरी एमाले, माकेबाट बनेको नेकपा र मसालको लगनगाँठो बलियो बन्दै छ, तर मोहनविक्रमको मनोगतवादी र सङकीर्ण चरित्र र प्रवृत्तिका कारण उनको यो लगनगाँठो पनि उनको सरकारमा सरहभातिको चाहना कति सम्म तिनीहरुले हल गरिदिने छन्, त्यसमा निर्भर रहने छ । मोदीको भ्रमणको समयमा उनले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाहरुसितको कार्यगत एकतालाई तोडन जति हतार गरे, त्यसले उनी ओली–प्रचण्डलाई खुशी बनाउन कति चाहन्छन् भन्ने सन्देश दिन्छ ।

अहिले जे होस् नेकपा (क्रान्तिकारी माओवादीं)ले यी दुई प्रवृत्तिका विरुद्ध निर्ममतापूर्वक सङ्घर्ष गर्दै उनीहरुमा संसदवादको विरोध र क्रान्तिका लागि विद्यमान सकारात्मक पक्षहरुलाई उपयोग गर्ने प्रयास गर्नै पर्दछ । पछिल्लो समयमा आएर मोहनविक्रम सिंहको नेतृत्वको मसाल र विप्लव नेतृत्वको नेकपाबीचमा एक आपसमा भौतिक कारबाही गर्ने सम्मका धम्कीहरु एक आपसमा देखिन थालेका छन् । यो कार्यगत एकतालाई ध्वस्त बनाउने गम्भीर कार्य हो । यसले भावी क्रान्तिलाई नकारात्मक असर र ओली–दाहाललाई फाइदा पुग्न जाने छ । दक्षिणपन्थी संशोधनवादको उत्पत्ति र विकास नेपालमा सर्बप्रथम मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य आदिले पुष्पलाल श्रेष्ठको नयाँ जनवादी क्रान्तिका विरुद्ध राजावादी तथा ख्रुश्चेभी नवसंशोधनवादी लाइनसित आत्मसमर्पण गरेर भएको हो ।

यद्धपि २०२८ सालको झापाविद्रोह, जो १९६६को चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा चलेको नक्सालवाडी सशस्त्र किसान विद्रोहको प्रभावमा भएको थियो–दक्षिणपन्थी संशोधनवादका विरुद्धको बलियो झापड थियो । त्यसै गरी २०५२सालको माओवादी जनयुद्ध मोहनविक्रम सिंहको वैधानिक जनआन्दोलनको गोल चक्करलाई तोडेर नेपालमा सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्तितर्फ महान् उद्घोष थियो । यो सही हो २०२८ सालको झापा विद्रोह नेतृत्वगर्ने ओली–खनाल–नेपालहरु र २०५२ सालको माओवादी जनयुद्धको कमाण्डर भनिएकाहरु–दाहाल–भट्टराई–बादलहरु सबै लोकतान्त्रिक संविधानको कार्यान्वयनका अहिले सारथी बनेका छन् । र, दाहाल–बादलहरु त ओली–खनाल–नेपालहरुमा बिलय भएका छन् ।

यद्धपि त्यहाँ अहिले झापाविद्रोहका सहीदहरुको सपनाका कुरा र माओवादी जनयुद्धका सहीदहरुका सपनाका कुरा सम्झने समय छैन् । छ त केबल सरकारमा गएर ‘समृद्धि’ र ‘समाजवाद’को सपना बाँडेर देशको ढुकुटी रित्याउने मात्रै सपना बोकिएको छ । र सिंहदरवारको अधिकार गाउँगाउँमा भन्दै सिंहदरवारको भ्रष्टाचार गाउँगाउँमा पु¥याउँदै छन् । डोजर उनीहरुका लागि एउटा बलियो भ्रष्टाचारको साधन बनेको छ ।

देशको यस्तो अवस्थामा अब पार्र्टीको काम जनताका बीचमा कसरी पार्टी, क्रान्तिलाई स्थापितगर्दै विकास गर्ने हो, त्यसमा रहने छ । जसका लागि माओका तीन जादुगरी हतियार –पार्टी, मोर्चा र सेनाको निर्माण र विकास हो । नयाँ तरिकाले नयाँ सर्वहारावर्गीय क्रान्तिको रक्षा र विकास हो । यसैमा अहिलेको केन्द्रीय समितिको बहस आवश्यक र जरुरी दुवै भएको छ । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले यसवारे लिएका सैद्धान्तिक, वैचारिक र नीतिगत कुराको ठोस कार्यान्वयनको खाका कोर्न यसले नेतृत्वलाई दिशा निर्देश गर्नु पर्ने छ ।

यसो भएमा पार्टीप्रतिको कार्यकर्ता तथा जनताको आशावादमा देखिएको बृद्धिलाई क्रान्ति र परिवर्तनमा आवश्यक भौतिक शक्तिमा रुपान्तरण गर्न र पार्टी बाहिरबाट आएका र आउन सक्ने अनगिन्ति चुनौतीहरुसित प्रभावकारी रुपले सामनागर्न सकिने छ । संदवादमा फसेका दक्षिणपन्थी संशोधनवादहरुले जनतामा बाँडेको ‘समृद्धि’ र ‘समाजवाद’को सपना केबल सपना मात्रै हो र यसको प्राप्ती सर्वहारावर्गको नेतृत्वमा सर्वहारावर्गको अधिनायकत्वमा मात्रै सम्भव छ भन्ने ठोस सन्देश दिन आवश्यक छ ।

यसका लागि पार्टी केन्दीय समिति एक ढिक्का भएर भावी क्रान्तिलाई प्रभावकारी रुपले नेतृत्वगर्न सफल रहने छ । यसैमा पार्टी केन्द्रीय समिति बैठकको ऐतिहासिकता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर