काठमाडौं, असार १४ । नेपाल वायुसेवा निगमले पहिलोपल्ट वाइडबडी विमान नेपाल भित्र्याएको छ । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको ‘ए ३३०–२००’ सिरिजको उक्त विमानको नाम भने ‘अन्नपूर्ण’ रहेको छ ।
नयाँ विमानलाई मन्त्रालय र निगमका कर्मचारीले पुजाआजा गरेर स्वागत गरेका थिए । अब यस विमानले आमागी अगस्ट १ बाट नै व्यवसायिक उडान सुरु गर्ने भएको छ ।
नेपाली २१ अर्ब ९० करोड रुपैयाँ लागतमा युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको यो जहाज अमेरिकी एएआर कम्पनीसँग किनेको हो ।१८ विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट भएको विमानको प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।
यो विमान लिन नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइर्पुयाइदिएका हुन् ।
अबको नयाँ गन्तव्य कहाँ कहाँ ?
निगमले यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।
निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।
निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् । ती न्यारोबडी हुन् । वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्द्रित गरेपछि ए ३२० लाई भारतको बैंगलोर, दिल्ली, थाइल्यान्डको बैंकक लगायतका शहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ । ‘अहिले हाम्रो ए–३२० ले उडान गरिरहेका मुख्य गन्तब्यमा फ्रिक्वेन्सी थप्छौं,’ कंशाकारले भने,‘पछि अन्य गन्तब्यहरुमा पनि उडान थप्छौं ।’
नेपाल एयरलाइन्स गत वर्ष सन् २०१७ मा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।